ताजा अपडेट »

आज पाँच समूहले सुझाव प्रस्तुत गर्ने, केन्द्रीय निर्वाचन आयोग गठन हुने

आइतबार, १७ असोज २०७८, ०७ : ३७
2 Shares

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेकपा (एमाले)को प्रमुख विधानसभाको अन्तिम दिन आज बिहान ८ बजेबाट बन्द सत्र सुरु हुँदैछ । १० मध्ये पाँच समूहले शनिबार नै सुझाव पेस गरिसकेका छन्, बाँकी प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी र सम्पर्क समन्वय कमिटी समूहको सुझाव प्रस्तुत गरिनेछ ।शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा छलफल गरी सुझाव प्रस्तुत गरिसकेका छन् ।

प्रतिवेदनमाथि प्राप्त सुझावमा दस्तावेज प्रस्तोताले सम्बोधन गरी आज पारित गर्ने कार्यसूची छ । महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ ।शनिबार तीन वटा केन्द्रीय निकायका प्रतिवेदन पनि प्रस्तुत भए । बन्दसत्रको सुरुमै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय सल्लाहकार परिषद्‍का अध्यक्ष केशव बडालले आआफ्नो निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।महाधिवेशनमा ६ हजार ३४७ जना प्रतिनिधि सहभागी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।