ताजा अपडेट »

तिलोत्तमामा बालुवामा बार्गेनिङ, अवैध काम गर्नेहरुबाटै क्षतिपूर्ति माग

बुधबार, १३ असोज २०७८, १८ : २५
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका पहुनीमा रहेको गिट्टी बालुवामाथि बार्गेनिङ सुरु भएको छ । अवैध उत्खनन् गरिएको गिट्टी बालुवामा ठेकेदार कम्पनीका केही व्यक्तिहरुले क्षतिपूर्तिको नाममा बार्गेनिङ सुरु गरेका हुन् ।

आफूहरुले नै अवैध रुपमा उत्खनन् गरेको गिट्टी बालुवाको उत्खनन् तथा ढुवानी खर्च पाउनुपर्ने माग राख्दै स्थानीय सुमन बस्याल, बासु बस्याल तथा शिव कुँवर लगाएतका युवाहरुले नगरपालिकासँग बार्गेनिङ गरेका हुन् । तिलोत्तमा–६ पहुनीमा मापदण्ड विपरित अनुमतिभन्दा ३ गुणा बढी गिट्टी बालुवा उत्खनन् गरेका उनीहरुले नियमानुसार पाउनुपर्ने गिट्टी बालुवा ढुवानी गरेर लगिसकेको भए पनि बाँकी रहेको गिट्टी बालुवाको समेत ढुवानी खर्च माग गरेका हुन्।

हिराचन-कालीगण्डकी-सिद्धार्थ जे.भी. सियारीसँग संयुक्त लगानी गरेका उनीहरुले नदीदेखि घाटगड्डीसम्म ढुवानी र उत्खनन् गर्दा लागेको खर्च पाउनुपर्ने माग गर्दै नगरपालिकामा निवेदन पेश गरेको नदिजन्य पदार्थ अनुगमन समितिका सदस्य दिवाकर ढकालले बताए। उनीहरुले अवैध देखिएको गिट्टी बालुवा ढुवानी गर्दा लागेको खर्च माग गर्दै नगरपालिकामा निवेदन दिएका हुन् ।

कम्पनीले प्राप्त गरेको अनुमति अनुसार ८ लाख ४७ हजार २ सय घनफिट मात्रै उत्खनन् गर्नुपर्ने भए पनि अनुमतिभन्दा करिब ३ गुणा बढी २३ लाख ७९ हजार ३८ घन फिट उत्खनन् गरेका थिए । तिलोत्तमा-६ को तिनाउ नदीमा पुल निर्माणका लागि उत्खनन् गरिएको उक्त गिट्टी बालुवा अनुमतिभन्दा बढी भएपछि नगरपालिकाले आवश्यक नापजाँच गरी अवैध माल भन्दै जफत गरेको थियो । अवैध देखिएको १५ लाख ३१ हजार ८३८ घन फिट मध्ये ३ लाख २५ हजार घन फिट शुद्धोधन गाउँपालिकाको भएकाले उसैलाई बुझाइएको र बाँकी रहेको १२ लाख घनफिट गिट्टी बालुवा बिक्रीका लागि बोलपत्र आह्वान गर्दा पनि कुनै कम्पनीले इच्छा व्यक्त नगरेपछि नगरका सडक मर्मतमा प्रयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ । कुनैपनि कम्पनीले इच्छा व्यक्त नगरेपछि नगरपालिकाले विभिन्न वडाका सडकहरुमा मर्मतका लागि प्रयोग गर्ने गरी साउन ७ गतेको नगरपरिषद् बैठकले निर्णय गरेको थियो ।

ठेकेदार पक्षका बासु बस्यालले आफूहरुलाई नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने बताउँछन् । ‘आवश्यक भन्दा बढी उत्खनन् गरिएको भएपनि उक्त माल उत्खनन् तथा ढुवानी र लोड अनलोडको पैसा नगरपालिकाले हामीलाई दिनुपर्छ ।’– ग्लोबल आवाजसँग कुरा गर्दै उनले भने नगरपालिकाले उत्खनन् गरिएकोभन्दा बढी परिमाण देखाएको समेत आरोप लगाए । यसैगरी क्षतिपूर्ति माग गर्ने सुमन बस्यालको पनि कुरा उही छ । ‘नगरपालिकाले एक पटक पनि हामीसँग छलफल नगरी एकल निर्णय गर्यो, हामीलाई हाम्रो खर्च दिनुपर्छ ।’–बस्यालले भने ‘उत्खनन् गर्दा हामीले गरेको लाखौं लगानी डुब्ने भयो, नगरपालिकाले माल लैजान नदिएपनि ढुवानी खर्च दिनुपर्छ’

तिलोत्तमाका सबै नदीमा मापदण्डभन्दा बढी उत्खनन्

तिलोत्तमा नगरपालिकाले गएको वर्ष विभिन्न ठाउँमा उत्खनन्का लागि दिएको अनुमतिमा अवैधरुपमा बढी उत्खनन् भएका छन् । नियम विपरित उत्खनन् भएका गिट्टी बालुवालाई नगरपालिकाले आवश्य कानूनी प्रक्रिया पूरा गरी (पहुनी बाहेकका)बिक्री गरेको छ । तिलोत्तमाको समेरी ‘ख’बाट ९ लाख ९७ हजार ५ सय घन फिट उत्खनन् हुनु पर्नेमा त्यसभन्दा बढी १७ लाख ७ हजार १३४ घनफिट उत्खनन् भएको थियो । बढी भएको ७ लाख ९ हजार ६३४ घनफिट गिट्टी बालुवा नियन्त्रणमा लिई नगरपालिकाले लिलाम प्रक्रियाबाट बिक्री गरेको थियो ।

यसैयसैगर बाग्धुराबाट ५ लाख २९ हजार ५ सय घनफिट उत्खनन् हुनु पर्नेमा ७ लाख १७ हजार ६७२ घनफिट उत्खनन् भएको थियो । उक्त ठाउँमा बढी उत्खनन् भएको १ लाख ८८ हजार १७२ घनफिट गिट्टी बालुवा पनि नगरपालिकाले लिलामी प्रक्रियाबाट बिक्री गरेको छ । यसैगरी सुखौरा खोलामा उत्खनन् भएको ४१ हजार १४५ घनफिट गिट्टी बालुवा पनि लिलाम बिक्री गरिएको थियो । उक्त खोलाबाट १ लाख २९ हजार घनफिट उत्खनन् हुनु पर्नेमा ३ लाख ७० हजार १४५ घनफिट उत्खनन् भएको थियो ।

तिलोत्तमा नगरपालिकाले बढी देखिएका गिट्टी बालुवा लिलाम बिक्रीका लागि गत असार १० गतेको नगरपरिषद् बैठकबाट निर्णय गरेको थियो । उक्त निर्णय अनुसार असार २० गतेको बैठकले सुखौरा खोलाबाट जफत गरिएको गिट्टी बालुवा गौतमबुद्ध विमान स्थल निर्माण आयोजनालाई लिलाम विक्रि गर्ने निर्णय गरेको थियो । बाँकी रहेका गिट्टी बालुवा लिलाम बिक्रीका लागि पुन लिलाम बिक्रीका लागि सूचना आह्वान गरेको थियो । उक्त सूचना अनुसार बाग्धुरा र सेमरीका गिट्टी बालुवा लिलाम बिक्री भएपनि पहुनीका लागि कहीबाट पनि इच्छा व्यक्त नभएपनि नगरका वडाहरुमा सडक मर्मतमा प्रयोग गर्ने निर्णय भएको छ । सोही निर्णय अनुसार सडकहरुमा पुर्याउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।