ताजा अपडेट »

युवा पनि हृदयघातको जोखिममा, महिलाभन्दा पुरुषमा बढी

बुधबार, १३ असोज २०७८, १० : २९
14 Shares

अहिले मानिसमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ। जसमा मुटुको समस्या पनि प्रमुख हो। मुटुभित्र पनि अनेक खालका समस्या हुन्छन्, जसका कारण हृदयघात हुने, मुटुको चालमा गडबढी हुने, मुटु भित्रको भल्भमा समस्या, मुटुको मासु कमजोर भएर मुटु फेल हुने गर्दछ। त्यस्तै, यी समस्यामा जन्मजात हुने रोगहरु पनि पर्दछन्।

हृदयघात

मुटुको रगतको नसा ब्लक भई हुने रोग हार्टअट्याक अथवा हृदयघात हो। हृदयघात हुँदा मुटुको रगतको नलि साँघुरिन गई १०० प्रतिशत ब्लक हुने गर्दछ। त्यतिबेला बिरामीलाई एकदम जोडले छाती दुख्ने, खलखली पसिना आउने गर्दछ। यदी कसैलाई एक्कासी यस्तो किसिमको समस्या भएमा तुरुन्त नजिकैको अस्पताल लैजानु उत्तम हुन्छ।

डाक्टरहरुले रोगको पहिचान गरी हृदयघात भएको हो या होइन पत्ता लगाउँछन्। यदि हृदयघात भएको पुष्टि भएमा तुरुन्तै बन्द रगतको नसा खोल्नुपर्छ। यस्तो प्रकारको उपचार विधिलाई ‘प्राइमरी एन्जियोप्लाष्टि’ भनिन्छ। यो तालिमप्राप्त डाक्टरहरुले बिनाचिरफार रगतको नसाको माध्यमबाट बेलुन छिराएर गरिने पद्धति हो।

एन्जियोप्लाष्टिको अर्को राम्रो पक्ष के हो भने हृदयघात आउनुअघि शंकास्पद बिरामीको एन्जियोग्राफी गरी हेर्ने र यदि गम्भीर अवस्थामा छ भने बेलैमा एन्जियोप्लाष्टि गरी हृदयघात हुनबाट जोगाउन सकिन्छ।

युवामा देखिने हृदयघातका कारण

यो रोग साधारणतया बढी उमेर भएकालाई देखिने गरेको छ। तर, हिजोआज कम उमेरका युवालाई पनि देखिन थालेको छ। यसको प्रमुख कारण चुरोट तथा सुर्तिजन्य पदार्थ तथा लागुऔषधको सेवन नै हो। यस्ता पदार्थ सेवन गर्ने व्यक्तिलाई जुनै उमेरमा पनि हृदयघात हुनसक्छ।

सामान्यतः १७/१८ वर्षका युवालाई कहिले पनि हृदयघात हुँदैन। त्यस्तै, जन्मदै जीन (वंशाणु) मा खराबी छ भने रगत बाक्लो हुने कारणले पनि हृदयघात हुनसक्छ।

योसँगै सुगरको बिरामी, किड्नीका बिरामी, कोलेस्ट्रोल बढेका बिरामी, थाइरोइड, प्रेसरका बिरामीहरुलाई पनि हृदयघात हुने सम्भावना उत्तिकै बढी हुन्छ।

महिलाभन्दा पुरुष बढी जोखिममा

हृदयघातको समस्या महिला र पुरुषमा भने फरक हुन्छ। एउटै उमेर समूहका पुरुषमा हृदयघातको समस्या धेरै हुन्छ भने महिलामा कम हुन्छ। महिलामा हुने महिनावारीका कारण उनीहरुमा उत्पादन हुने हर्मोनका कारण हृदयघात न्यून हुन्छ।

महिनावारी भएको समयमा महिलाको हर्मोन निस्किने गर्दछ। हृदयघात हुँदा बन्द हुने नसा उक्त हर्मोनले खुलाएर वा फुकाएर राख्ने गर्दछ। नसालाई साँघुरो हुन दिँदैन, जसका कारण हृदयघात हुनबाट जोगाउँछ। तर, पुरुषमा यस्ता खाले हर्मोन नहुने भएका कारण जोखिम बढी हुन्छ।

महिनावारी नभएको वा मनोपज भइसकेका महिलामा भने हृदयघातको सम्भावना पुरुषको जतिकै हुन्छ।

तर, विभिन्न रोग जस्तै, थाइरोइड, सुगर, कोलेस्ट्रोलजस्ता समस्या महिलामा पहिलेदेखि नै छ भने उनीहरुमा युवा अवस्थामै पनि हृदयघात हुनसक्छ।

किन हुन्छ अकस्मात हृदयघात?

हृदयघात अचानक हुनुका पछाडि पनि विभिन्न कारण छन्। जो व्यक्तिलाई हृदयघात हुन्छ, उसमा पहिलेदेखि नै अन्य दीर्घ रोग, खानपान तथा मदिरापानको स्वभाव भएको हुनुपर्छ।

त्यस्तै, रक्तचाप भएका व्यक्तिहरुमा झन् हृदयघात हुने सम्भावना हुन्छ। रक्तचाप भएको थाहा भएर पनि औषधी नखाने तथा लापरबाही गर्ने मानिसलाई मुटुभित्र समस्या हुनसक्छ।

मुटुको नसामा निक्कै प्रेसर परेको हुन्छ, जुन शरीरले धानेर बसेको हुन्छ। भित्रीरुपमा असर भइराखे पनि बाहिर देखिँदैन जसका कारण समस्या झन्झन् बढ्दै जान्छ। पछि एक्कासी हृदयघात हुन्छ।

तनाबका कारण मात्र हृदयघात हुँदैन। हृदयघात हुनलाई व्यक्तिको मुटुको नसा साँघुरिएको हुनुपर्छ। सबै मानिसको मुटुमा थोरैथोरै बोसो जमेकै हुन्छ, तर कतिपयको ५० देखि ६० प्रतिशत बोसो जमेर बसेको हुनसक्छ। सामान्य अवस्थामा केही हुँदैन, तर जब तनाब बढ्छ वा एन्जाइटी बढ्छ, एकैचोटी हृदयघात हुन्छ।

कसरी बच्ने?

हृदयघात हुनबाट बच्न स्वस्थकर खानेकुरा खानुपर्छ। हाल मानिसमा बाहिर रेष्टुराँहरुमा पाकेको खाना बढी खाने बानी छ। त्यस्तै, प्लास्टिकमा प्याक गरेका जंक फुड (कृतिम खानेकुरा) खाने बानी छ। यसले गर्दा भविष्यमा हृदयघातको सम्भावना बढाउँछ।

प्याकेटमा राखिएको खानेकुरामा पछिसम्म खान मिल्ने गरी केमिकल राखिएको हुन्छ, जुन मुटुलाई नकरात्मक असर पार्दछ।

त्यसैले हामीले कृतिम खानेकुराको सेवन (बोतल र प्याकेटका) बन्दगरि अर्गानिक खाने बानी बसाल्ने र दैनिक ब्यायाम गर्न सक्यौं भने पनि हार्टअट्याकजस्तो खतरनाक रोगबाट आफूलाई जोगाउन सक्छौं।

(डा. माधव विष्ट मुटुरोग विशेषज्ञ हुन्। हाल उनी बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत छन्।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।