ताजा अपडेट »

प्रकृतिको सुन्दर उपहार: हिमालको तकसेरा गाउँ (तस्वीर र भिडियोमा)

आइतबार, १० असोज २०७८, १२ : ५०
335 Shares

१.रुकुम पूर्व को पुथाउत्तरगंगा गाउँपालिकाका सुन्दर गाउँहरु मध्ये एक हो तकसेरा ।
२. तक र सेरा – दुई वटा छुट्टा–छुट्टै गाउँको नाम मिलेर बनेको नाम हो तकसेरा । सेरा पनि एउटा गाउँमा सिमित छैन, सेराभित्रका सेराहरु पनि तल्लो र माथिल्लो गरेर दुई ओटा रहेका छन् ।

३.तक र सेराको बिचौं–बीच भागबाट कलकल गर्दै बगेको छ उत्तरगंगा नदि । भन्दा तकसेरासँगै भएपनि तक र सेरालाई उत्तर–गंगाले वारी र पारी बनाइदिएको छ ।
नाम सँगै भएपनि बस्ती फरक भएका यी तक र सेरा दुई वटा आँखा जस्तै हुन् । हेर्दा उस्तै देखिने, विशेषता पनि उहि भएका आखालाई जसरी नाकको डाडोले कहिल्यै भेट हुन दिदैन त्यसरी नै तक र सेराको बीचमा नाक जस्तै डाँडो नै छ ।

तक र सेराका बस्ति मात्र वारी र पारिका हुन्, त्यहाँ बसोबास गर्ने व्यक्तिहरुको मन भने जोडिएको छ ।

सेराको बस्ती हुँदै कोही पुल तरेर त कोही उत्तरगंगामा छलाङ मार्दै तक प्रवेश गर्छन् । तकबाट थोरै दुरीमा रहेको अर्को सुन्दर बस्ती हो, बाछीगाउँ ।

यसरी विस्तृतमा हेर्दा यी फरक गाउ र बस्तिहरु देखिएतापनि समग्र यी तिनै गाउको बस्तीलाई अक्सर एकै नामले चिनिने गरिन्छ । त्यही एकीकृत नाम हो तकसेरा ।

४. तकसेरा को बस्ति हेर्ने हो भने घरमाथी जोडिएका घर, तल्लो घरको छानो माथ्लो गरको आंगन, अनी जोडिएको घरजस्तै सबैको जोडिएका मन, अनी सबै मनहरुको भारी बिसाउने एउटै आँगन ।

बाछीगाउँमा यसरी घरहरु बिछततै गरि जोडिएका त छैनन् तर मनहरुको डोरी भने निकै नै कसिलो गरी जोडिएका छन् ।

५. मगर, गुरुङ र दलित समुदायको बसोबास रहेको यी क्षेत्रका नागरिकहरु आफ्नै भाषा, कला, संस्कृती, रहनसहन, भेषभूषामा खुब रमाउने गर्दछन् ।

भालेको डाकोसँगै सुरु हुने दैनीकी कलकल बग्ने उत्तरगंगा र चाँदी झै टल्कने हिमालले आनन्दमयी र मनोरम बनाइरहेको हुन्छ यहाँको बस्तीको बाताबरण ।

६. नेपालको एक मात्र आरक्षण क्षेत्र, ढोरपाटन बन्यजन्तु आरक्षण क्षेत्र भित्र पर्ने यो सुन्दर बस्तिमा अहिले हरियो बन पाखा र कुहिरोले लुकामारी खेलिरहेको सुन्दरता देख्न सकिन्छ भने हिउँदमा हिउँले सेताम्य आँगनको सुन्दरता ।

यो सुन्दरता, साँचिकै सब्दमा मात्रै बयान गर्न पक्कै पनि सकिँदैन । आहा ! यस्तो बस्ति भूगोल र जीवनशैलीको कल्पना गर्दा त हामी आनन्दको अनुभूती गर्छौ भने साँच्चिकै यहि जिवनशैलीमा रमाउन पाउदा कस्तो हुन्छ होला ? अर्गानिक जिल्लाको अर्गानिक जिवनशैली ।

७. यी र यस्तै कुराको आभास गर्नु छ भने, एक पटक अवस्य घुम्न आउनु होला है – तकसेरा, अनि मात्रै चर्चित नेपाली संगीत समूह नेपथ्य ले सिर्जना गरेको ‘शिर फूल शिरैमा …’बोलको गीतमा अंकित तकसेरा झरौंला भन्ने हरफहरु प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।