ताजा अपडेट »

कविता : हिजोआज

शनिबार, ०९ असोज २०७८, १७ : २६
76 Shares

त्यो प्रत्येक प्रभातमा उठ्ने रापिलो तेजले मैलाई गिज्जाउँछ,
मानौँ लाग्छ, औँँला उठाई मप्रति हेरी हाँस्छ र मलाई हिज्जाउँछ ।
कति छुटेका र कति टुट्न आँटेका सपनाले चक्षुकोष भिजाउँछ,
आँधि–भेरी सरह उत्तरहिन प्रश्नको मुस्लो उठ्छ र कता–कता मन चसक्कै बिजाउँछ ।।

आजभोलि मेरो त्यो दृढ आत्मविश्वास कता–कता डग्मगाय झैं लाग्छ,
मनलाई स्थिर बनाउन खोज्दा–खोज्दै पनि आत्मग्लानी जाग्छ ।
परिकल्पनाका पुष्प अर्पित मार्गमा किन हिड–हिड्दै काडाको खोला बग्छ,
यी सबैको चक्रजालले स्वतः रात्रिबाट निद्राका अधिकांश प्रहरहरु भाग्छ ।।

आशाका ति सुनौला किरणमा निराशाको प्रकोप बढ्दो देखिन्छ
उमङ्ग भरी पाइला टेक्ने प्रत्येक प्रभातमा कथा किन नौला लेखिन्छ।
लक्ष्यकेन्द्रित सपना बीचमै अल्मलिन्छन्,अनि तिनैमा अनावश्यक पसिना बेचिन्छ,
खै किन पाइला पछि सार्न बाध्य हुन्छु र आँखामा आंकुरायका सपनाको मण्टो रेटिन्छ ।।

जिन्दगीले सोध्ने प्रश्न प्रतिप्रश्नले, मन्दगतिमा जीवनबाट शान्ति लुट्दैछ,
हरेक कुरा सहज देख्ने मेरा आँखाको बिस्तारै भ्रम टुट्दैछ,
अकल्पनीय अविश्वश्नीय इच्छा आकांक्षाको मूल
किन चूनौती बनी फुट्दैछ,
लाग्छ दैब संयोग सबै मेरै खुट्टा तान्न एकाग्र भै जुट्दै छ ।।

ओइलाई सकेका कति आशाका किरणलाई पुनः मौलाउन सिञ्चाई गर्नुछ,
परिश्रमको कूटोले आफ्ठेरा ती परिकल्पनाका बाजा खेत खन्नू छ ।
ज्वालासरह पोल्ने प्रत्येक प्रश्नको उत्तरको लागि आफैसँग लड्नु छ,
कसरी विश्राम कसरी गरु म, लक्ष्य जब आदर्श नागरिक बन्नु छ ।।

खोइ कसलाई जित्नु छ, मलाई जो यति द्रुतगतिमा भाग्दैछु,
बिस्तारै वास्तकिता बुझ्दै त्यो सप्तरङ्गी सपनाको गहिरो निद्राबाट जाग्दैछु।
लक्ष्य मात्र एउटा दृढ़ राखी अर्जुनसरह उसैमा एकाग्र भै लाग्दैछु,
कृष्ण जस्तो सारथी छैन मसँग मार्ग देखाउन रत आफ्नो रथ आँफै हाँक्दै छु।।

सूर्यको चम्कीलो प्रकाश होइन, मलाई त मात्र अँध्यारोको दियो बन्नु छ,
औला उठाउने त्यो तेजिलो रापलाई प्रतिउत्तरको प्रवल स्वरमा भन्नु छ।
तिमी खुट्टा तान्दै गर मलाई त अझै अघिको त्यो समग्र शिखर चढ्नु छ,
चाहे काँडेतार नै किन नहोस् ,त्यो बाटोमा पाइला दृढ टेकी अघि बढ्नु छ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।