ताजा अपडेट »

ग्राहकलाई १ अर्ब बढी रकम फिर्ता गर्नुपर्ने प्राधिकरणको निर्णय विरुद्ध एनसेलको पुनरावेदन

शुक्रबार, ०८ असोज २०७८, १६ : ०१
6 Shares

काठमाडौं ।  अटो रिन्युको नाममा गरेको एक अर्ब ११ करोड रुपैयाँ आम्दानी ग्राहकलाई नै फिर्ता गर्नुपर्ने नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय विरुद्ध एनसेल पुनरावेदन गएको छ । जरिवाना रकम ५० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको एनसेलले ३५ दिने म्यादलाई मध्यनजर गर्दै क्षतिपूर्तिको निर्णय विरुद्ध सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक कर्मचारीले एनसेलबाट पुनरावेदनको उजुरी प्राप्त भएको जानकारी टेकपानालाई दिएका छन् । यस अघि गत साउनको अन्तिम साता नियामकले ग्राहकको स्वीकृति बिना विभिन्न सेवा तथ प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको रकम तीन महिनाभित्र सम्बन्धित प्रयोगकर्तालाई फिर्ता गर्नुपर्ने निर्णय गरेको  थियो ।

नियामकको अध्ययनको क्रममा एनसेलले तीन दिनमा अटो रिन्यु हुने र साप्ताहिक अटो रिन्यअलका प्याकेज २०७५ असोज १५ देखि २०७७ जेठ ब८ गतेसम्म सञ्चालन गरी कर बाहेक ११ करोड ३७ लाख आर्जन गरेको पाइएको थियो । त्यस्तै ह्वावे एप ग्यालरीको नामा सोही अवधिमा कर बाहेक ९९ करोड ९२ लाख रुपैयाँ कम्पनीले आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

सोही अध्ययन प्रतिवेदनकै आधारमा प्राधिकरणले गत भदौ १९ गते एनसेललाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । त्यसपश्चात् प्राधिकरणले गत असार १७ मा पुनः यही विषयमा अर्कोपटक स्पष्टीकरण माग गरेको थियो । उक्त पत्रको जवाफमा एनसेलले भ्यास (भ्यालु एडेड सर्भिस) सेवा तेस्रो पक्षले प्रदान गर्ने सेवा भएको र ग्राहकले केवल सेवा खरिद वापतको शुल्क नगद रहित भुक्तानीका लागि मोबाइलमा भएको ब्यालेन्स उपयोग गर्ने मात्र भएको बताएको छ ।

‘उक्त सेवा खरिद कार्यको सहजीकरण एवम् समन्वय गर्नका लागि मात्रै कम्पनीको मोबाइल सिम कार्डमा रहेको ब्यालेन्स प्रयोगसम्म हुने हो,’ कम्पनीले भनेको छ । एनसेलले प्राधिकरणको २०७५ असोज ६ गतेको पत्र पश्चात अटो रिन्यु नगरेको र पूर्व स्वीकृति लिने गरेको समेत बताएको थियो । तर अध्ययनमा भने एनसेलले अटो रिन्यु गरिरहेको र ग्राहकलाई म्यासेजमार्फत समेत जानकारी नगराएको पाइएको छ ।

यसअघि ग्राहकको स्वीकृतिबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याक स्वतः नवीकरण गरेको र ग्राहकले गुनासो गरेपछि पैसा फिर्ता दिने गरेको समाचार टेकपानाले सार्वजनिक गरेको थियो । उक्त समाचार र ग्राहकबाट आएको गुनासोका आधारमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमाथि अध्ययन अनुसन्धान अगाडि बढाएको थियो ।-तेजपाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।