ताजा अपडेट »

चाडपर्वमा अत्यावश्यक बस्तुमा मूल्यवृद्धि, नियामक निकाय मौन

बुधबार, ०६ असोज २०७८, १७ : ५१
24 Shares

बुटवल । चाडपर्वको सयममा विभिन्न बहाना देखाउँदै मूल्यवृद्धि गर्ने व्यापारीहरुको नियत कायमै रहेको छ । यस वर्ष पनि कोरोना महामारीको कारण देखाउँदै तरकारी, फलफूल तथा दैनिक उपभोग्य वस्तुको मूल्य अनाधिकृतमा रुपमा वृद्धि भएको छ । अस्वभाविक रुपमा मूल्य वृद्धि हुँदा दैनिक ज्याला मजदुरी गर्ने लगाएत विपन्न नागरिक मर्कामा पर्छन् । व्यापारीले अहिले सबैभन्दा बढी खाने तेलको मूल्य वृद्धि गरेका छन् । गत वर्ष प्रतिलिटर १५० रुपैंया पर्ने भटमासको तेल ६० प्रतिशतले मूल्य बढेर अहिले २४० रुपैँया पुगेको छ ।

यस्तै दाल, चिनी, जिरा, हरियो तरकारी लगाएत सबै प्रकारका दैनिक उपभोग्य बस्तुको मूल्य करिब ६ प्रतिशतदेखि ६० प्रतिशत भन्दा बढी बृद्धि हुदाँ समेत बजार अनुगमन गर्ने सरकारी निकाय तथा विभिन्न व्यवसायीक संघ–संस्थाहरु भने मौन छन् । कानून विपरीत बिना मापदण्ड अनाधिकृत रुपमा कृक्रिम अभाब सिर्जना गरी मूल्य वृद्धि भएको थाहा पाउँदा पाउँदै पनि अनुमगन गर्ने निकाय बेखर भए जस्तै छन् ।

महङ्गी नियन्त्रण गर्न बुटवल उपमहानगरपलिकाले संघीय सरकार, प्रदेश सरकार, गुणस्तर तथा नापतौल विभाग र इलाका प्रशासनको समन्वयमा निरन्तर रुपमा बजारको अनुगमन गरि रहेको बताइए पनि प्रभावकारी नभएको गुनासो आउने गरेका छन् । सरोकारले औपचारिकताका लागि चर्चा कमाउन मात्रै बजार अनुगमन गर्दा कालो बजारीयाहरुले मनोपली मूल्यवृद्धि गरेका हुन् ।

सरकारले मात्रै होइन बजार अनुगमन तथा आफ्ना व्यवसायीहरुलाई नियमन गराउन भन्दै गठन भएका संघ–संस्था बजारको अनुगमन गरेता पनि केवल औपचारिकतामा मात्रै सिमित छन् । उपभोक्ता हित संरक्षण मञ्च, बुटवल उद्योग वाणिज्य संघ, व्यापार संघ लगाएत विभिन्न व्यवसायीहरुका संघ संस्था पनि मूल्य वृद्धि हुँदा मौन छन् ।

उपभोक्ता हित संरक्षण रुपन्देहीका अध्यक्ष समुन्द्र जिसिले दशैँ तिहार जस्ता चाडपर्वमा उपभोक्ताहरुले एकै पटक साम्रगी खरिद गर्ने भएकाले अरु समयमा भन्दा केही मूल्य बढ्ने गरेको बताए । चाडपर्वमा केही मूल्य बढ्ने भएपनि कालोबाजरी नियन्त्रण गर्नका लागि संघीय सरकार अन्तर्गत साहयक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समिती, प्रदेश सरकार अन्तर्गतको आपूर्ति शाखा र स्थानीय निकायका अनुमगन समिती जस्ता निकायलाई प्रभावकारी रुपमा अनुगमन गर्न आग्रह गरे पनि बेवास्ता गरेको बताए ।

‘उपभोक्ता हित संरक्षण मञ्च आँफै गएर बजारको अनुगमन गर्न मिल्दैन।’ अध्यक्ष जिसीले भने ‘ती निकायलाई यहाँ समस्या छ भनेर घच्चघचाउने हो । त्यो काम उपभोक्ता हित संरक्षणले गरि रहेको छ ।’ साथै अध्यक्ष जिसिले चाडपर्वमा मात्रै बजारको अनुगमन गरेर कालोबजारीको नियन्त्रण हुन नसक्ने भन्दै मासिक रुपमा बजारको अनुमगन गर्नुपर्ने बताए । ‘म उपभोक्ता हित संरक्षणको अध्यक्ष भएको एक वर्ष पूरा भयो ।’ उनले भने ‘कोरोनाका कारण नियमित अनुमगन गर्न नभए पनि मासिक रुपमा अनुगमन गर्ने व्यवस्था मिलाउन पहल गर्छु ।’

बुटवल उपमहानगरपालिकाकी उममेयर गुमादेवी आचार्य बजारमा महङ्गी वृद्धि भएको बारेमा उपमहानगरपालिकामा कुनै पनि जानकारी नआएको बताइन् । बजारमा कालोबजारी भएको छ वा छैन भनि उपमहानगरपालिकाले छड्के रुपमा उपमहानगरपालिका कर्मचारीलाई सामान खरिद नै गर्न पठाएको उनी बताउँछिन् ।

‘बुटवल उमहानगरपालिकाले दशैं–तिहार जस्ता चाडपर्वमा मात्रै होइन सधै अनुमगन गर्ने कार्य गरिरहेकै छ ।’ उनले भनिन् ‘यस भन्दा अगाडि बुटवलको सब्जीमण्डी लगाएत धेरै पसलमा अनुगमन गरेको छौँ ।’ यस्तै दशैं–तिहार जस्ता चाडपर्वमा हुने कालोबाजरी नियन्त्रण गर्नका लागि नियमन, अनुगमन गर्ने र कही कालोबारी, अनाधिकृत रुपमा बढी मूल्यमा सामान खरिद गरे कारवाही गर्ने बताइन्।

कोरोना महामारीको कारण सामानको सटेज भएका कारणले प्रतिस्पर्धा कम भएकाले अन्तराष्ट्रिय बजारमा नै अहिले सामानको मूल्य बढेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले बताए ।

‘हरेक वर्ष सामान्य रुपमा चाडपर्वका रुपमा मूल्य बृद्धि हुने गथ्र्यो ।’ अध्यक्ष कसजुले भने ‘२ वर्षसम्म कोरोना महामारीका कारण उत्पादनमा केही कमि भई स्टक हुँदा प्रतिष्पर्धा कम हुनाले नेपालमा मात्रै होइन अन्तराष्ट्रिय बजारमा नै मूल्य बढेकोे छ ।’बुटवल उद्योग वाणिज्य संघले सकेसम्म उपभोक्ताहरुलाई चाडपर्वमा ५/१० प्रतिशत कम मूल्यमा दैनिक उपभोग्य साम्रगी उपलब्ध गराउनका लागि आफू मातहतका व्यवहायीहरुलाई आग्रह गर्ने बताए।

उपभोक्ताहरुलाई केही सहज र केही सस्तोमा चाडपर्वका लागि आवश्यक पर्ने समान खरिद गर्न यस वर्ष पनि बुटवल उद्योग वाणिज्य संघले दशै तिहार सस्तो बजार सञ्चालन गर्ने तयारी रहेको बताए । ‘गत वर्ष पनि हामीले दशैतिहार सस्तो बजार सञ्चालन गर्ने योजना रहेको थियो तर, कोरोनाका कारण जिल्ला प्रशासनले अन्तिम समयमा आएर नगर्न भनेकाले गर्न पाएनौँ । अध्यक्ष कसजुले भने ‘ यस वर्ष जिल्ला प्रशासनले अनुमति दिएको खण्डमा दशैतिहार सस्तो बजार सञ्चालन गर्छौ ।’यस्तै दशैँ तिहारको बेलामा वाणिज्य मातहतका कुनै व्यवसायीहरुले कालोबजारी कृत्रिम अभाव सिर्जना गरेको भेटिए कारवाही गर्ने बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।