ताजा अपडेट »

संघ र प्रदेश सरकार गुमनाम, उद्धारमा जुट्ने स्थानीय सरकारलाई ‘मुक्का’

मंगलबार, ०५ असोज २०७८, ०७ : १९
6 Shares

बुटवल । विगत एक महिनादेखि डुबान, बाढी तथा पहिरो लगायतका विपद्सँग रुपन्देहीबासी जुधिरहेका छन् । विपद्का कारण घरबार विहिन भएका तथा विस्थापित परिवारहरुलाई राहत र उद्धारका लागि स्थानीय सरकारले तदारुकता देखाए पनि संघ र प्रदेश सरकार भने गुमनाम छ ।

संघ र प्रदेश सरकार गुमनाम भएपछि विपद् प्रभावित जनताको आक्रोस स्थानीय सरकारमाथि खनिएको छ । उद्धार तथा पुनःबासको व्यवस्था नगरेको भन्दै सोमबार बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीमाथि हातपात नै भएको छ । बुटवलको ज्योतिनगर पहिरो अवलोकनमा गएका प्रमुख सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन् ।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलका बाढी तथा पहिरो पीडितहरुले विगत एक महिनादेखि राहत तथा उद्धारको प्रतिक्षा गरे पनि सरकारले कुनै चासो नदिएको भन्दै गुनासो बढेको छ । गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीमा गत भाद्र १० गते राती परेको वर्षाले मानवीय क्षति हुनुका साथै करोडौंको आर्थिक क्षति भएका छन् । हालसम्म गृहमन्त्रीको नजर भने परेको छैन । मन्त्री भएको २ महिना वितिसक्दा पनि आफ्नै जिल्लाका नागरिकहरु विपद्मा परेका बेला गृहमन्त्री खाँणले चासो नदिएको भन्दै आलोचना सुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट उत्तर–पूर्वमा पर्ने करिब ५ सय मिटर दुरीमा रहेको बुटवल ज्योतिनगरको पहिरो अबलोकन गर्न पुगेका उपमहानगर प्रमुख सुवेदीले आक्रोसित जनताको मुक्का व्यहोर्नु परे पनि प्रदेश सरकार भने गुमनाम नै छ । पहिरोका कारण ज्योतिनगर क्षेत्रका ५० बढी घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने सय बढी घर परिवार प्रभावित भएका छन् । बुटवल उपमहानगर–११ बुद्धनगरमा रहेका बासिन्दाहरु बाढीले घर बगाउँदा बिचल्लीमा छन् । यसैगरी रुपन्देहीको भैरहवा, तिलोत्तमा क्षेत्रमा रहेका उद्योगहरु डुबान भई विगत एक महिनादेखि बन्द हुँदा करोडौंको क्षति भइरहेको छ ।

रुपन्देही बाहेक प्रदेशका अन्य जिल्लाहरुमा पनि डुबान तथा बाढी पहिरोका कारण क्षति भए पनि प्रदेश सरकार बेखर छ । प्रदेश सरकारले विपद्मा पनि चासो नदिएको भन्दै आलोचना हुन थालेका छन् । गएको भदौ ११ गतेदेखि लगातार वर्षाका कारण रुपन्देहीका अधिकांश ठाउँहरु डुबानमा पर्दा लाखौ मूल्य बराबरका खेती बालीमा क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण ५ दर्जन बढी घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार बाढी तथा डुबानमा परी जिल्लामा ४ जनाले ज्यान गुमाएका छन् भने एक जना वेपत्ता छन् । यसैगरी बुटवल उपमहानगरका करिब ५ दर्जन घर परिवार बाढी र पहिरोका कारण विस्थापित भएको तथ्याङ्क छ ।

स्थानीय निकायहरुले प्रभावितहरुको तथ्याङ्क संकलन तथा आधारभूत रुपमा राहतको व्यवस्था गरे पनि प्रदेश सरकारले भने हालसम्म तथ्याङ्क समेत तयार पार्न सकेको छैन । आन्तरिक मामिला तथा योजना मन्त्रालयका बाबुराम पन्थीका अनुसार गएको भदौ १० गतेयता बाढी, पहिरो तथा डुबानका कारण भएको क्षतिहरुको एकिन विवरण संकलन गर्ने काम अझै सकिएको छैन ।

समयमै उद्धार तथा पुनःबासको व्यवस्था नभएको भन्दै आक्रोसित भएका ज्यातिनगर बासीको समस्या बुझ्न पुगेका उपमहानगर प्रमुख सुवेदीले सोमबार विहान स्थानीयको कुटाई खानु परेको हो । बुटवल उपमहानगरले ज्योतिनगर क्षेत्रमा पहिरो गएको भोलिपल्ट भदौ १४ गतेदेखि नै पहिरो पन्छाउने काम गरे पनि समयमा नसकेको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । पहिरो प्रभावित क्षेत्रको अवलोकन, विस्थापितहरुलाई पुनःबासका लागि पहिरो हटाउने लगायतका कामलाई तीब्रता दिन मातहतका निकायलाई निर्देशन गर्दै आमएका उपमहानगर प्रमुख सुवेदीले प्रदेश र केन्द्र सरकारको समेत सहयोग आवश्यक रहेको बताएका छन् ।

सोमबार भएको घटनापछि पत्रकार सम्मेलन गर्दै बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले स्थानीय सरकारले मात्रै विपद्मा परेकाहरुलाई राहत तथा व्यवस्थापन गर्न सक्ने भन्दै संघ र प्रदेश सरकालाई ध्यानाकर्षण गराएका छन् । सोमबार विहान करिब ८ बजेको समयमा प्रभावित क्षेत्रमा पहिरोले थप ७ घर पुरिएको खबर लगत्तै अवलोकन गर्न पुगेका प्रमुख सुवेदीलाई स्थानीयबाटै हातपात भएको थियो ।

सुवेदीसंगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो । नगर प्रहरी तथा नेपाल प्रहरीको समेत उपस्थिती रहेको अवस्थामा सुवेदीमाथि आक्रमण भएको थियो ।

घटनाप्रति आपत्ति जनाउँदै बुटवल उपमहानगरपालिका, बुटवल उपमहानगरका कर्मचारी संगठन, तिलोत्तमा नगरपालिका, शान्ति सामाज रुपन्देही, नेकपा एमाले बुटवल उपमहानगरपालिका, राष्ट्रिय युवा संघ रुपन्देही लगायतले आपत्ति जनाएका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।