ताजा अपडेट »

जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ

आइतबार, ०३ असोज २०७८, १६ : ४२
14 Shares

दाङ । जबरजस्तीकरणी मुद्दा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । घोराहीका एक जना पुरुषसँग होटलमा बसेर बियर र मासु खाएपछि विवाद सृजना गरेर जबरजस्तीकरणी मुद्दा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरि आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा घोराही १५ का ३२ वर्षिया सीतादेवी थापा, ३५ वर्षिया खुमा वली र ३२ वर्षिया सुस्मा परियार रहेका छन् । गएको असार ६ गते पक्राउ परेकी सीतादेवी थापाले घरायसी समस्या परेको र सहयोग गर्नुपर्ने भन्दै ती पुरुषलाई घोराहीको कोहीनुर रेष्टुरेन्टमा बोलाई उक्त घटना गराएको प्रहरीको दाबी छ ।

होटलमा बसेर मासु र बियर खाएपछि घर फर्कने क्रममा सीतादेवी खाटमा पल्टिएको र उनीहरुले बोलाएको पुरुषलाई गाली गलौज गर्दै जबरजस्तीकरणीमा मुद्दा दर्ता गर्ने भन्दै धम्की दिएको ती पुरुषले प्रहरीमा दिएको निबेदनमा उल्लेख छ ।

अर्को दिन ती पुरुषलाई फोन गरी महिलाहरुले पैसामा मिलाउन र यदी त्यसो नभए मुद्धा दर्ता गर्ने भने पछि प्रतिष्ठामा आँच आउने सोचले एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको चेक दिएको प्रहरीलाई बताएका छन् । पीडित भनिएका पुरुषको भने प्रहरीले नाम खुलाएको छैन् ।

ती महिलाहरुले ५० लाख रुपैयाँ माग गरेपछि ती पुरुषले आवश्यक प्रमाण सहित प्रहरीमा उजुरी गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध अपराधिक विश्वासघात तथा अपराधिकलाभ सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिने प्रहरीको भनाई छ ।

उक्त कसुरमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा ति महिलाहरुले भने आफुहरुलाई फसाईएको बताएका थिए । आफुहरु बिविरुद्ध मुद्धा दर्ता गर्ने पुरुष नै दोषी भएको उनीहरुको भनाई छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी