ताजा अपडेट »

खेल मैदान मासेर भाषण मञ्च बनाउँदै बुटवल उपमहानगर

बुधबार, ३० भदौ २०७८, १९ : १६
8 Shares

बुटवल । देवीनगर एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फ बुटवल उपमहानगरपालिकाले भाषण मञ्च बनाउनका लागि गुरुयोजना तयार पारेको छ । त्यस क्षेत्रमा खेलकूद ग्राम निर्माण गर्नेगरी तयार पारिएको गुरुयोजना विपरित उपमहानगरले खुला मञ्चका लागि योजना प्रस्तावित गरेको हो ।

खेलकूद विकास र संरचना निर्माणमा पहिलेदेखि नै उदासिन देखिएको बुटवल उपमहानगरले बुटवल–११, देविनगरमा खेलकूद ग्राम निर्माणका लागि तयार पारिएको गुरुयोजनालाई विस्थापित गर्दै भाषण गर्ने थलो बनाउन लागेको छ । राष्ट्रिय स्तरका प्रतियोगिताहरु भइरहने देविनगर फिफा टेक्निकल सेन्टरसँग जोडिएको खुला चौरलाई संरक्षण गरी खेलकूद ग्राम निर्माणका लागि यहाँका खेलप्रेमीहरुले जोड दिए पनि उपमहानगरले यसको बेवास्ता गरेको छ ।

स्तरीय खेलकूद ग्राउण्ड र खुला क्षेत्र अभाव रहेको बुटवल उपमहानगरमा खेलकूद र खेलकूद पर्यटनको सम्भावना बोकेको देविनगर मैदान पनि नेताहरुको भाषण गर्ने थलोको रुपमा परिणत हुने भएपछि यहाँका खेलप्रेमीहरु निरास भएका छन् । एक वर्ष अघि नै बुटवल उपमहानगर खेलकूद विकास समितिले विभिन्न मल्टिप्रपोजसहितको इनडोर, तथा आउटडोर खेलकूद गतिविधि सञ्चालन गर्न मिल्नेगरी तयार पारेको गुरुयोजना उपमहानगरकै कारण अलपत्र परेको छ ।

बुटवल उपमहानगरकै वडा नम्बर १२ मा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र तथा प्रदर्शनी स्थल हुँदाहुँदै पनि देविनगरको खुला चौरलाई समेत सोही अनुरुप सभा सम्मेलन र भाषण गर्ने थलो प्रस्तावित गरी खेलकूद संरचना निर्माणमा बेवास्ता गर्नुले बुटवल उपमहानगरको नियतप्रति नै प्रश्न उठ्न थालेका छन् ।

जिल्ला फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसीले खेलप्रति सरकारको ध्यान अझै सकारात्मक नभएको दुखेसो गरे ।देविनगरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना अघि बढाएको भएपनि सरकारको बेवास्ताकै कारण सफल नभएको बताए। रंगशाला निर्माणका लागि वि.स.२०७२ सालमा बजेट विनियोजन भए पनि उपमहानगरले बेवास्ता गर्दा कार्यान्वयन नभएको उनले उल्लेख गरे । पूर्व अर्थमन्त्री विष्णु पौडेलसहित यहाँका राजनीतिक दलका नेताहरुसँगको छलफलपछि डिपिआर निर्माण तथा संरचना विकासका लागि बहुवर्षीय योजनाको रुपमा ४० करोड छुट्याउने गरी रातो किताबमा लेखिएको योजना अहिले अलपत्र परेको छ । ६ वर्ष अघि नै यस क्षेत्रमा खेलकूद संरचना निर्माणका लागि डिपिआर तयार पार्न छुट्याइएको बजेट समेत स्थानान्तरण गरी बुटवल–१२ रामनगरको फिल्डमा कम्पाउण्ड निर्माणमा खर्च गरिएको थियो ।

एफएफसीबाट कृतिम खेलग्राउण्ड बनाउन बजेट बिनियोजन भएर करीब ३ –वर्षदेखि वडामा जग्गा भोगचलानको निवेदन दिएपनि सुनुवाइ नभएको एन्फा रुपन्देही अध्यक्ष केसीले गुनासो गरे। नगरपालिकासँग २५ वर्षका लागि एन्फा एकेडेमीले सहकार्य गरेर विसं. २०५५ सालमा रंगशाला बनाउने सम्झौता अनुसार एकेडेमी सञ्चालन भएको थियो । ‘एकेडेमीलाई अहिले जग्गा अभाव भैरहेको छ ।’–केसीले भने, उत्तरतर्फको खाली जग्गा ट्रेनिङ ग्राउण्ड माग गर्दा पनि उपलब्ध नगराएको उनले बताए।

बुटवल नगर खेलकूद विकास समितिका अध्यक्ष नन्दु काउचाले देविनगरको सार्वजनिक जग्गा उपयोग हुने गरि खेलग्राम बनाउन सुझाव आए अनुसार एक वर्षअघि गुरुयोजना तयार पारे पनि उपमहानगरको खुला मञ्च बनाउने निर्णयले खेलग्रामको योजना तुहिएको छ । यहाँ राजनीतिक दल, स्थानीय सरकार तथा नेताहरु बीच छलफल गरेर तयार पारिएको गुरुयोजना पार्ने काम भएको थियो । ‘इन्डोर कोर्ट, सबै खाले खेल गराउने मिल्ने र तालिम गराउने मिल्ने गरि पूर्वाधार बनाउने योजना थियो।’उनले भने, ‘नेताहरुले खुला मैदानको परिकल्पना गरे, खेलग्रामको योजना तुहियो ।’

देवीनगर एन्फा एकेडेमी पश्चिम वरपर रहेको करिब २९ विगाहा क्षेत्रफल मध्ये १४ विगाह क्षेत्रफलमा उपमहानगरले खुला मञ्च निर्माण गर्नेगरी गुरुयोजना बनाएको हो । यहाँ रहेका २९ विगाह जग्गा मध्ये एन्फा एकेडेमीले साढे ४ बिगाहा र देवसिद्ध समाज सुधार तथा विकास समितिले डेढ विगाहा क्षेत्रफलमा मन्दिर र सभाहल बनाएको छ ।

यसैगरि देवसिद्ध खानेपानी तथा सरसफाईले करीब २ विगाहा, लन टेनिसले ७ कठ्ठा, नेपाल अपाङ आश्रमले ५ कठ्ठा गरि करीब आठ विगाहा जग्गा क्षेत्रफल सार्वजनिक संघ–संस्थाहरूले ओगटेको छ । सो क्षेत्रमा बाँकी रहेको २० विगाहा क्षेत्रफल मध्ये बुटवल–११ को वडा भवन निर्माण गरिएको भने सोही जग्गा मध्येबाट सवारी चालक अनुमती पत्र ‘लाइसेन्स’को ट्रायल सेन्टर रहेको छ । रूपन्देहीको केन्द्र बुटवल उपमहानगरपालिका खेलकूदका लागि नगरका विभिन्न ठाउँहरुमा गुरुयोजना निर्माण र शिलान्यास गरे पनि ठोस प्रगति हुने गरी काम भने अघि बढाउन सकेको छैन ।

लुम्बिनी प्रदेशको प्रदेशको मुकाम रूपन्देहीलाई खेलकूद पर्यटनका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहे पनि सो अनुसारका काम भने हुन सकेका छैनन् । सिद्धार्थनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निमाण जारी छ भने सैनामैना नगरपालिकाको देउपारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानसंगै अन्य धेरै पूर्वाधार विकास भएको छ। बुटवल उपमहानगरपालिकाले पनि जवही मैदानमा अन्तर्राष्ट्रिय स्तरको खेलकूद मैदान बनाउने बताए पनि कामको गति भने अत्यन्तै सुस्त देखिएको छ । ठूलो जनघनत्वको बीचमा रहेको खुला क्षेत्रमा खेलकूद ग्राम बनाउने कुरामा उदासिनता देखाएको उमहानगरले जवाही मैदानको जंगलमा बनाउन लागेको खेलकूद मैदानले पूर्णता कहिले पाउने हो त्यसमा समेत शंका उत्पन्न गराएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।