ताजा अपडेट »

रुपन्देहीका युवा क्रिकेटर कुशल भुर्तेल उत्कृष्ट फर्ममा, ओडिआइको डेब्यूमै अर्धशतक

मंगलबार, २९ भदौ २०७८, १३ : २५
6 Shares

बुटवल । रुपन्देहीका युवा क्रिकेटर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको डेब्यूमै उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ओपनिङ ब्याट्समेन कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट दाबेदारी प्रस्तुत गरेका हुन्।

ओमानमा जारी प्रतियोगिता अन्तरगत सोमबार राति भएको खेलमा कुशलले ६७ बलमा अर्धशतक पूरा गरे । २ चौका र १ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमै अर्धशतक दर्ता गराएका छन् । १६ रनले सतक बनाउनबाट चुकेका उनलाई ८४ रन बनाएर खेलिरहँदा अमेरिकाका निषर्ग पटेलले एलबिडब्लूमा पेभेलियन फर्काएका थिए । प्रतियोगितामा ९३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरेका कुशल म्यान अफ दि म्याच घोषित भएका छन् ।

सुरुदेखि नै उत्कृष्ट लयमा खेल प्रदर्शन गरीरहेका कुशलको महत्वपूर्ण योगदानबाट नेपालले अमेरिकालाई ५ विकेटले जीत हासिल गर्न सकेको छ । त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोडेको थियो । जवाफि व्याटिङमा उत्रिएको नेपाललाई जीतर्फ लैजाने क्रममा उनीसँगै ओपनिङ ब्याट्समेनको रुपमा आएका आसिफ शेख २३ रन, दोस्रो नम्बरमा आएका कप्तान ज्ञानेन्द्र मल्ल १७,तेस्रो नम्बरमा आएका कुशल मल्ल १ रन बनाएर पेभेलिएन फर्किएको अवस्थामा उनले नेपालको व्याटिङलाई धर्मराउन दिएनन् ।

अमेरिका विरुद्धको फिल्डिङमा समेत कुशलले आफूलाई उत्कृष्ट फर्ममा राख्न सफल भए । अमेरिकाका लागि महत्वपूर्ण ब्याट्समेन मोनांक पटेलको बललाई क्याच गरी नेपालाई ठूलो सफलता प्राप्त गर्न सहयोग गरे । विकेटकिपर ब्याट्समेन मोनांक पटेलका लागि विक्रम शोवले बलिङ गरेका थिए । अमेरिकाको ब्याटिङ लाइनलाई उच्च स्कोरमा लैजान महत्वपूर्ण भूमिका खेलेका पटेलले सतक बनासकेको अवस्थामा ४७औं ओभरमा नेपालाई महत्वपूर्ण विकेट गिराउनका लागि क्याच गर्दै कुशल सफल भए ।

त्रिकोणत्मक खेल अन्तरगत नेपालले आज पनि ओमनासँग खेल्दै छ । नेपालबाट छोराको खेल हेरिरहेका कुशलका बुवा दिपक भुर्तेलले खेलमा अझै निखारता ल्याउन सुझाब दिएका छन् । रुपन्देहीमा तिलोत्तमा क्रिकेट एकेडेमी सञ्चालन गरिहेका भुर्तेलको इच्छा अनुसार नै क्रिकेटमा लागेका कुशलले अन्तरर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।

कुशलले व्याटिङलाई थप धारिलो बनाउँदे आफ्ना लागि मात्रै भन्दा पनि टिमका लागि खेल्न बुवाको सुझाब छ । विपक्षीको खेल रणनीति र अवस्था बुझेर फर्ममा आउन सके कुशलको ब्याटिङ लाइन थप सुधार हुने बुवा दिपक भुर्तेलले बताए ।

टि-२० वरियतामा समेत उत्कृष्ट छन् कुशल
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर भुर्तेल आईसीसीले सार्वजनिक गरेको टी-२० वरियतामा ६० औं स्थानमा रहेका छन् । नेपालमै भएको त्रिकोणात्मक टी–२० सिरिजमा डेब्यू गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि उनी वरियतामा समावेश भएका थिए । गत बैशाखमा भएको सिरिजमा उपाधि नेपालले जित्दा सर्वाधिक २७८ रन बनाएका उनले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट दाबेदारी प्रस्तुत गरिसकेका छन् । भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।