ताजा अपडेट »

बुटवलको मोतिपुर क्षेत्रमा निषेधाज्ञा, अवज्ञा गरे कारबाही

सोमबार, २८ भदौ २०७८, २० : १७
20 Shares

बुटवल । मोतिपुर औद्योगिक क्षेत्रभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुकुम्वासीका नाममा मोतीपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि बुटवल उप-महानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गर्दै प्रशासनले आजदेखि निषेधाज्ञा लागू गरेको हो ।

औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुमबासी भेला गर्ने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक विज्ञप्ति जारी गरी त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ ।
‘निषेधित क्षेत्र भित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिने व्यहोरा आम सर्वसाधारणमा सूचित गरिन्छ ।’–विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।