ताजा अपडेट »

सरकारको हचुवा निर्णय: विद्यार्थीका लागि खोप लगाउन निर्देशन दियो, खोप दिएन

सोमबार, २८ भदौ २०७८, १९ : ४५
14 Shares
सोमबार, २८ भदौ २०७८
14 Shares

बुटवल । सकारले भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ का विद्यार्थी लक्षित कोभिड खोप सञ्चालन गर्न बिना तयारी निर्देशन गर्दा रुपन्देहीमा खोप अभाव भएको छ । आवश्यक खोप नै उपलब्ध नगराई गजेडा रहेको खोपबाट व्यवस्थापन गर्नेगरी निर्देशन गरेपछि जिल्लाका आधा बढी विद्यार्थी खोपबाट बञ्चित हुने भएका छन् ।

प्रमुख जिल्ला अधिकार अस्मान तामाङका अनुसार जिल्लामा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यर्थी मध्ये खोप लगाउनु पर्ने विद्यार्थी संख्या १७ हजार बढी भए पनि करिव १० हजार डोज मात्रै खोप रहेको थियो । ‘पहिलो डोज लगाई दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुका लागि राखिएको खोपबाट नै विद्यार्थीहरुलाई व्यवस्था गरेका छौं ।’-तामाङले भने, ‘हामीसँग दोस्रो डोजका लागि राखिएका करिब १० हजार खोप विद्यार्थीहरुलाई लगाउने काम भए पनि धेरै विद्यार्थी खोपबाट बञ्चित नै छन् ।’

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार सरकारले परीक्षामा सहभागी हुने उमेर पुगेका विद्यार्थीलाई खोप लगाउन निर्देशन गरे पनि सो अनुसार खोप उपलब्ध नहुँदा समस्या भएको छ । जिल्लामा यसअघि ४ हजार बढी विद्यार्थीले खोप लगाइसकेको र यसपटक करिब १० हजार विद्यार्थीले खोप लगाउन पाउने भए पनि ३ हजार बढी विद्यार्थी खोपबाट बञ्चित हुने देखिएका छन् । सरकारले विद्यार्थीहरुलाई खोप लगाउन निर्देशन गरे पनि खोप नपठाएका कारण जेष्ठ नागरिकहरुका लागि दोस्रो डोज लगाउन राखिएको खोप प्रयोग गरिएको उनले बताए ।

रुपन्देहीमा शनिबार, आइतबार र आज सोमबार पनि विभिन्न पालिकाहरुमा विद्यार्थीलाई परीक्षाको प्रवेश पत्रका आधारमा खोप लगाइएको छ । जिल्लाका सबैभन्दा बढी विद्यार्थी संख्या रहेका पालिकाहरु बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका तथा सैनामैना नगरपालिकामा खोप अभावको समस्या बढी देखिएका छन् ।

बुटवल उपमहानगरमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थी मध्य खोप लगाउनु पर्नेको संख्या ६ हजार ७३३ भए पनि खोप भने ३६८० डोज मात्रै प्राप्त भएको छ । उपमहानगरको शिक्षा शाखाका अनुसार बुटवलमा सामुदायिक तर्फ ३ हजार ५२२ जना तथा संस्थागत तर्फ ३ हजार २११ जना विद्यार्थीले खोप लगाउनु पर्ने तथ्याङ्क रहेको छ । यसैगरी तिलोत्तमा नगरपालिकामा ४ हजार ४२ जना विद्यार्थीले खोप लगाउनु पर्ने उमेर समूहका भए पनि १ हजार ५२० डोज मात्रै खोप उपलब्ध भएको शिक्षा शाखा प्रमुख गँगाराम आचार्यले बताए ।

देवदह नगरपालिकामा पनि खोप अभाव हुने देखिएको छ । देवदहका करिब ९ सय विद्यार्थीले खोप लगाउनु पर्ने उमेर समूहमा भए पनि ६ सय डोज मात्रै खोप उपलब्ध भएको शिक्षा शाखा प्रमुख टिकाराम शर्माले जानकारी दिए । यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिकामा पनि खोप केही हुन सक्ने बताइएको छ । नगरमा ४३७ जना विद्यार्थी खोप लगाउनु पर्ने समूहमा भए पनि ४ सय खोप उपलब्ध भएको शिक्षा शाखा प्रमुख डा. कुलप्रसाद खनालले जानकारी दिए ।

जिल्लाको सिद्धार्थनगर नगरपालिकामा भने खोप अभाव नदेखिएको शिक्षा शाखा प्रमुख चेतनिशल लम्सालले बताए । नगरमा दुई चरणमा गरी १२ सय खोप लगाइएको उनले जानकारी दिए । सिद्धार्थनगरका १ हजार ६४० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने भए पनि सबै विद्यार्थीको उमेर समूह नपुगेका कारण खोप अभाव नदेखिएको उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।