ताजा अपडेट »

करोडौंका बहुउद्देश्यीय भवन: निर्माण अवधि सकिएको २ वर्षमा पनि पूरा भएनन्

सोमबार, २८ भदौ २०७८, ११ : २४
2 Shares

दाङ । घोराही उपमहानगरपालिका-१४ मा करिब ३० करोडको लगानीमा निर्माणाधिन बहुउद्देश्यीय सभागृहको ४ वर्षसम्म पनि पूरा हुन सकेको छैन । निर्माण अवधि सकिएर थप दुई वर्ष पूरा हुन लाग्दा पनि भवन निर्माणको काम भने पूरा नभएको हो ।

जिल्लामा ठूला सभागृह नहुँदा राष्ट्रिय स्तरका कार्यक्रमहरू गर्न नसकेको अवस्थामा दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा २०७४ सालदेखि निर्माण सुरु गरेको बहुउद्देश्यीय सभागृहको काम विभिन्न बहानामा अझै पूरा हुन सकेको छैन । २ वर्षभित्र सक्ने गरी काम सुरु भनव निर्माणको अवधि गएको २०७६ साल पुस मसान्तमै सकिए पनि कोरोना महामारीको कारण देखाउँदै अझैसम्म अलपत्र छ ।

भवन निर्माणको १० प्रतिशत काम अझै बाँकी रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लामा कुनैपनि ठूला कार्यक्रम गर्नको लागि सभागृह नहुँदा धेरै कार्यक्रमहरू जिल्ला बाहिर गर्नुपर्ने अवस्थालाई मध्य नजर गरी यहाँका उद्योग वाणिज्य संघले घोराही र तुलसीपुरमा करिब एक हजार जना क्षमताको सभागृह निर्माण सुरु गरेको थियो । कोरोना महामारीलगायतका समस्याका कारण कामसम्म नभएको संघका पूर्वअध्यक्ष नारायण प्रसाद भुसालले बताए ।

उनका अनुसार घोराही नगर विकास समितिले दिएको १९ कठ्ठा बढि जग्गामा बहुउद्देश्यीय सभागृह निर्माण गरिएको हो । उनले भने, ‘सभागृह नहुँदा पश्चिम नेपाल मै ठूला राष्ट्रिय स्तरका कार्यक्रमहरू गर्न सकेका छैनौं । त्यही अनुसार जिल्लामा सभागृह निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले नै शुरु गरेका हौँ । यो निर्माण सम्पन्न भए जिल्लालाई ठूलो राहत मिल्ने छ ।’ सभागृह निर्माणको लागि संघले महोत्सव लगाएको र त्यहीबाट बचेको ५१ लाख रुपैयाँ र रु ५ को अभियान शुरु गरेर ११ हजार ब्यक्तिबाट संकलन भएको ५५ हजार रुपैयाँबाट शुरु गरेको उनको भनाइ छ ।

त्यस्तै सभागृह निर्माण गर्नको लागि करिब ३० करोडको लागत लाग्ने प्रोजेक्टका रुपमा तयार गरिएकोमा नेपाल सरकारबाट २६ करोड ७७ लाखको बजेट प्राप्त भएको थियो । २०७४ सालमा प्राप्त ३ करोड २३ लाख रुपैयाँ बाँकी रकम संघले लगानी गर्ने अनुसार नै निर्माण भएको उनले बताए । त्यस्तै सभागृह निर्माणको लागि प्रदेश सरकारबाट खानेपानी बोरिङ निर्माका लागि छुट्टै १० लाख प्राप्त भएको छ ।

स्थानीय सरकारले पनि सभागृह निर्माणको लागि केही सहयोग गरेको संघले जनाएको छ । सभागृह वरपर पर्खाल लगाउने र करिब ७ कठ्ठा जमिनमा बसेका सुकुम्बासीहरूलाई घोराहीको बडहरामा जग्गा खरिद गरेर स्थानान्तरण गराएको छ । आउँदो असोज १५ गते सम्म निर्माण सम्पन्न लक्ष्य राखेको संघले भवन सम्पन्न भएपछि ठूला–ठूला राष्ट्रिय स्तरका कार्यक्रमहरू जिल्लामा गर्न सकिने बताएको छ ।

तुलसीपुरमा पनि बहुउद्देश्यीय भवन

यसैगरी तुलसीपुरमा पनि सभाहल निर्माण भएको छ । पश्चिम क्षेत्रको लागि ठूला कार्यक्रम गर्न सहज गराउने उद्देश्यले करिव २ करोड ५० लाखको लागतमा तुलसीपुर उपमहानगरपालिका ९ दोघरेमा तुलसीपुर उद्योग वाणिज्य संघले सभागृह बनाएको हो । ५ कठ्ठा क्षेत्रफलमा बहुआयमिक सभागृह बनाउने योजनाका साथ बनाएको भएता पनि आर्थिक अभावले त्यो अझै पूरा नभएको सभागृह निर्माण समितिका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले बताए ।

उनका अनुसार ५ कठ्ठा जमिन मध्य संघका कार्यसमिति सदस्य यज्ञ बहादुर केसीले दान गरेका हुन् । करिब २ वर्षमा निर्माण सम्पन्न भएता पनि अझै केही प्रतिशत काम बाँकी रहेको उनले बताए । भवन निर्माणको सम्पूर्ण काम नसकिँदै कामचलाउ रुपमा प्रयोगमा ल्याइएको छ । सभागृह निर्माण भएपछि पश्चिम दाङको धार्मिक, साँस्कृतिकलगायत राजनीतिक कार्यक्रमहरुलाई पनि सहयोग पुग्ने भएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी