ताजा अपडेट »

आँखाको तेज बढाउनका लागि दिनहुँ गर्नुस् यी योगासन

शुक्रबार, २५ भदौ २०७८, ०७ : १०
10 Shares

आजकल धेरै मानिस कम्प्युटरअगाडि बसेर दिनभरि काम गरिरहने हुँदा आँखाको समस्या सामान्य भइसकेको छ । यसबाट छुटकारा पाउनका लागि औषधि लिनुभन्दा विभिन्न योगासन प्रभावकारी हुन्छन् ।आँखाको मांसपेशी, मायोपिया र हाइपरमेट्रोपिया लगायतका ठीक पार्न यी योगासन लाभदायक हुन्छन् । अनि यी योगासनले आँखाको तेज पनि बढाउँछन् । 

प्राणायाम
दिनदिनै अनुलोम विलोम गरेर आँखालाई स्वस्थ राख्न सकिन्छ । सबभन्दा पहिले समतल स्थानमा बसेर कम्मर र गर्दन सीधा बनाउनुस् । त्यसपछि आँखा बन्द गरेर सीधा हातलाई नाकमा पु–याउनुस् । अनि औंला सीधा गरेर औंलाले नाकको दाहिने प्वाल थिच्नुस् र देब्रे नाकको प्वालबाट बिस्तारै सास बाहिर निकाल्नुस् । अनि देब्रे नाकको प्वाल थिचेर दाहिने प्वालबाट सास छोड्नुस् । दिनमा कम्तीमा चारपाँचचोटि यसो गर्नुस् । यसले आँखाको थकान हटाएर मानसिक तनाव पनि हटाउँछ । 

योगासन
यो योग गर्नका लागि सीधा उभिनुस् र दाहिने हातलाई अघिल्तिर सीधा तन्काउनुस् । अनि हातको मुट्ठी बन्द गरेर बूढी औंलालाई मास्तिर सीधा ठड्याउनुस् र बूढी औंलामा ध्यान केन्द्रित गर्नुस् । परेला नझिम्क्याइकन यस स्थितिमा केही समय बसेर बिस्तारै सामान्य स्थिपतमा आउनुस् । यो योगासन दिनदिनै कम्तीमा तीनचार मिनेट गर्दा आँखाका समस्या ठीक हुन्छन् । 

व्यायाम
यो व्यायाम जहाँ गरेपनि हुन्छ । आँखा एक मिनेटसम्म बन्द गर्नुस् र फेरि खोलेर आँखालाई घडीको दिशामा १० चोटि गोलोगोलो गरी घुमाउनुस् । अनि आँखालाई घडीको उल्टो दिशामा घुमाउनुस् । दिनमा दुई मिनेट जति यो व्यायाम गर्नुस् । 

सर्वांगासान
यो योगले आँखाका साथसाथै मुटुलाई फाइदा गर्छ । ढाड तल पारेर भुइँमा पल्टिनुस् र दुवै गोडालाई बिस्तारै जमीनमाथि उठाउनुस् । अब कम्मरलाई भुइँबाट अलिक माथि उठाएर टाउको र गोडालाई गर्दनको ९० डिग्रीमा ल्याउनुस् । नलड्नका लागि हातले कम्मर समात्नुस् । यस स्थितिमा केही बेर बसेपछि सामान्य स्थितिमा आउनुस् ।

त्राटकासन
यो आसन गर्ने सबभन्दा सही समय राति हो तर दिनमा पनि गर्न सक्नुहुन्छ । दिनमा गर्दा कोठा अँध्यारो बनाउनुस् र मैनबत्ती बालेर प्राणायामको मुद्रामा बस्नुस् । आँखा नझिम्क्याई मैनबत्ती हेरिरहनुस् । अनि आँखा बन्द गरेर ऊँको मध्यम उच्चारण गरेर आँखा खोल्नुस् । यो आसन कम्तीमा तीनचोटि गर्नुस् र त्यसपछि हत्केलाहरू घोट्नुस् । त्यो तातो हत्केलाले आँखालाई छोएर आँखा खोल्नुस् ।

एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।