ताजा अपडेट »

काँग्रेस १४ औं महाधिवेशन: गुल्मी सभापतिमा सात आकांक्षी

शुक्रबार, १८ भदौ २०७८, १८ : १६
2 Shares

गुल्मी । नेपाली काँग्रेस गुल्मीमा सभापतिका लागि ७ जना आकांक्षी देखिएका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापतिसहित अन्य ६ जनाले आकांक्षा प्रकट गरेका हुन् । वर्तमान अध्यक्ष भुवनप्रसाद श्रेष्ठ, उपसभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, अघिल्लो महाधिवेशनमा सभापतिका उमेद्वार शालिक पन्थी, श्रीप्रसाद भलामी, वेद थापा मगर र महेन्द्र भण्डारीले सभापतिका लागि आकांक्षा देखाएका छन् ।

त्यसो त रवि ज्ञवाली लगायतको थप नेताहरुले पनि सभापतिको दावी गर्न सक्ने बताइएको छ । अघिल्लो निर्वाचनमा सभापति श्रेष्ठका निकटतम प्रतिद्वन्दी शालिक पन्थी थिए । छन्द पहराई, वेद थापा, डाक्टर दामोदर भुसाल पहिलो चरणको निर्वाचनबाटै सभापतिको रिङ्गबाट बाहिरिएका थिए । पहराई अहिले नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभागको सदस्य छन् । उनले सभापतिको दाबी नगर्ने मनसायमा भएको बताउँदै आएका छन् । डाक्टर भुसाल हालै लुम्बिनी प्रदेश आयोगको सदस्यमा नियुक्ती पाएका छन् । वेद थापा कालिगण्डकी गाउँपालिका अध्यक्ष हुन् ।

सभापतिमा श्रेष्ठ, दुई पन्थी, बलाल र भलामी बीच टक्कर हुने देखिन्छ । आगमी स्थानीय तहको निर्वाचनमा रेसुङ्गा नगरपालिकाको मेयर पदको उमेद्वार को हुने ? सभापति हुनेले नै पाउने कि सभापति छाड्नेले पाउने ? यो विषयमा पनि गुल्मी काँग्रेस भित्र वहसको विषय बन्न सक्ने देखिन्छ ।सभापति पद छोड्नेले पाउने निर्णय गरिएपनि मुख्य दुई जना दाबेदार मध्ये एक जना बाहिरिन सक्ने आकंलन राजनैतिक वृत्तमा चर्चा छ । यस अघि मेयर पदका उमेद्वार श्रेष्ठ एमालेका डिल्लीराज भुसालसँग झिनो मतले पराजित भएका थिए । शालिक पन्थी गुल्मीका पुराना नेताहरु मध्ये एक मानिन्छन् । उनी नेवि संघ प्रतिबन्धित छँदा गुल्मीका संस्थापक जिल्ला अध्यक्ष हुन् ।

निरन्तर राजनीतिमा सक्रिय भए पनि आफूले जिल्लाको नेतृत्व गर्ने अवसर नपाएकाले यसपाली साथीहरुले त्यो अवसर दिने छन् भन्ने कुरामा आफू ढुक्क भएको उनी बताउँछन् । सचिव खिलध्वज पन्थी युवा माझ लोकप्रिय नेताको छवि बनाई सकेका छन् । श्रीप्रसाद भलामी पनि विशेष गरि जनजाति भित्र खम्बा नेता मानिन्छन् । सभापति श्रेष्ठलाई युवा पुस्तादेखि पाको पुस्तासम्मले भरोसा राख्छन् । महेन्द्र भण्डारी नेवि संघका पुराना केन्द्रिय नेता हुन् । उनी विद्याथी नेताहरु बीच लोकप्रिय नेता हुन् ।

अधिवेशन तयारी बैठक जारी
शुक्रबार महाधिवेशन तयारीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा बैठक बसेको छ । बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारी सहितका नेताहरु सहभागि भए ।

यसपालीको महाधिवेशनलाई एकता, सद्भाव र मेलमिलापको अधिवेशन गराउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए । सभापति श्रेष्ठले भदौं २२ गतेबाट जिल्लामा अधिवेशन प्रारम्भ गर्ने बताउँदै २७ गते पालिका स्तरीय, असोज १ गते प्रदेश स्तरीय, असोज ५ गते क्षेत्रीय र असोज १० गते जिल्लाको अधिवेशन गरेर समापन गर्ने पुर्व तयारी गरेको जानकारी दिए ।
जिल्लाका ९३ वटै वडा कार्य समितिको बैठक बसेको छ । केन्द्रबाट निर्वाचन अधिकृत सतिश झा सबै डकुमेन्ट लिएर आइसकेको उल्लेख गर्दै सबै वडाका मतदान अधिकृतहरुको समेत छनौट गरि उनीहरुलाई आ–आफ्नो कार्य क्षेत्र पठाउने तयारी भएको छ ।

ह्वात्तै बढ्यो जनधार : काँग्रेस
विगतमा नेकपा भित्रको किचलो, त्यसपछि पार्टी फुटको रँईदालो चलिरहेको बेला नेपाली कांग्रेस सदस्यता नविकरणका लागि गाउँ पस्यो । यस अवधीमा उसले ह्यात्तै नयाँ पार्टी सदस्य बढाएको दाबी गरेको छ ।

जिल्ला सभापति श्रेष्ठले गुल्मी कांग्रेसमा ५९ प्रतिशत क्रियाशिल सदस्यता थप भएको दाबी गर्दै भने –‘यस अघि ८ हजार ७ सय क्रियाशिल सदस्य थिए, यो महाधिवेशनमा आइपुग्दा झण्डै १४ हजार क्रियाशिल सदस्य पुगेका छन् ।’ काँग्रेसको सभापतिमा पुनः दोहोरीने संकेत गर्दै श्रेष्ठले भने–‘रिपिर्ट हुने कुरा हो । कि माथील्लो पदमा जानु र्यो, म अहिले नै बोल्दिँन, सबैसँग बसेर साझा धारणा बनाएर मात्रै आफूले धारणा बाहिर ल्याउने छु ।’

उपसभापति बिष्णु प्रसाद बलालले पनि यसपाली आफू सभापति पदमा दाबी गर्नु आफ्नो अधिकार भएको जिकिर गरे । उनले भने –‘ऐतिहासिक पुष्ठभूमि र राजनीतिमा जुन लगानी गरेका छौं, नेवि संघ, तरुण दलहुँदै अघिल्लो कार्यकालमा सचिवमा निर्वाचित भई अहिले उपसभापति भएकाले पनि यसपटक सभापतिमा दाबी गर्नु निश्चित रुपमै मेरो अधिकार हो ।’

अब बुढाहरुले छाड्नु पर्छ: चन्द्र भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले केन्द्रमा अबको नेतृत्व युवा पुस्ताले गर्नु पर्ने धारणा राखे । उनले भने–‘८०/८१ वर्ष उमेर पुगेका नेताहरुले उमेद्वारी दाबी गर्नु भनेको अबको ५ वर्षमा ८५/८६ वर्षमा पुग्नु हो । त्यसरी नेपाली कांग्रेसको प्रतिस्पर्धामा जाने राजनीतिमा कति असर गर्छ भन्ने कुरा बुझेर युवालाई छोडिदिनु पर्छ भन्ने मेरो धारणा हो ।’

गुल्मीमा नेताहरुले एकता र मेलमिलापको रटान गरे पनि भित्र भित्रै गुट–उपगुट बीचको रस्साकस्सी भने कायमै रहेको ‘दैले जमघट’ले देखाउँछ । त्यस्ता दैलेहरु एकदेखि अर्का नेताको दैलोमा नजाने गरेको दृश्य अघिल्लो अधिवेशनमा देखिन्थ्यो । यसपाली फरक पनि हुन सक्ला तर ‘दाईवाद’को राजनीति अन्त्य हुनु पर्नेमा युवा पुस्ताले जोड दिएका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार