ताजा अपडेट »

मोतिपुर औद्योगिक क्षेत्र : शिलान्यास भएको ६ महिना पुग्यो, काम शून्य !

शुक्रबार, १८ भदौ २०७८, १८ : ४०
30 Shares

बुटवल । रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको ६ महिना बितिसक्दा पनि काम सुरु हुन सकेको छैन । शिलान्यास गर्ने समयमा नै जग्गाको विषयले विवादीत बनेको औद्योगिक क्षेत्र विकासको काम अन्यौलमा परेको छ ।

गएको फागुन २१ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । स्थानीयको बिरोधका बाबजुत बाक्लो सुरक्षा घेरामा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अबरोध सिर्जना हुँदा योजना नै तुहिने अवस्थामा पुगेको छ ।

शिलान्यासभएको १ महिना भित्र उद्योग स्थापनाको लागि आशयपत्र आह्वान गर्ने, उक्त आह्वान पत्रको आधारमा ६ महिना भित्र उद्योगीहरुलाई चाहिने न्युनतम पूर्वाधारहरु (अस्थाई सडक, विद्युत र पानी) को व्यवस्थापन गर्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रोडम्याप तयार पारेको थियो । लिमिटेडले तयार पारेको कार्योजना अनुसार हालसम्म औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचनाहरु निर्माण भइसक्नु पर्ने भएपनि जग्गा विवादले योजना नै अन्यौलमा छ ।

औद्योगिक क्षेत्रभित्र पर्ने घर-परिवारलाई व्यवस्थापनको काम समेत अन्यौलमा रहेको मोतिपुर औद्योगिक क्षेत्रका प्रमुख निमेश अधिकारीले बताए । त्यहाँ रहेका अव्यवस्थित बसोबासी तथा स्थानीयलाई व्यवस्थापन गर्नका लागि भूमि आयोगसँग समन्वय भए पनि उक्त आयोग नै खारेज भएपछि थप अन्यौलमा परेको उनले बताए । औद्योगिक क्षेत्रमा रहेकाहरुको तथ्याङ्क संकलन तथा उनीहरुलाई अन्यत्र जग्गाको व्यवस्थापनका लागि भूमि आयोगले काम गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोगनै खारेज गरिदिएपछि सबै काम बीचमै रोएिको हो ।

शिलान्यास भएको २ वर्ष भित्र त्यस क्षेत्रमा उद्योग संचालनमा ल्याउने र ५ वर्ष भित्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि जग्गा विवाद तथा त्यसको व्यवस्थापनमा सहयोग गरिरहेको आयोग नै खारेजभएपछि औद्योगिक क्षेत्रको काम ठप्प भएको हो ।

नेपाल सरकार २०७२ साल चैत्र १ गते साविक बुटवल नगरपालिका, टिकुलिगढ़ गा.बि.स, आनन्दवन गा.बि.स र फर्साटिकर गा.बि.सका केहि भाग (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सुद्धोधन गाँउपलिका) चार किल्ला तोकि ८१३ बिगाहामा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरेको थियो । यसैगरी २०७३ बैशाख १२ गते लुम्बिनी प्रदेशमा रुपन्देहीको मोतिपुरसहित र बाँकेको नौबस्तालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

मौतिपुर औद्योगिक क्षेत्रका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ८१३ विगाहको जग्गाधनी पूर्जा प्राप्त गरिसकेको छ भने बाँकी रहेको १३३ दशमलव ४६ विगाहको पूर्जा प्राप्त गर्न बाँकी रहेको छ । यसरी ९४६ दशमलव ४६ विगाहमा बन्ने औद्योगिक क्षेत्रका लागि डिपिआर निर्माण तथा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भए पनि राजनैतिक स्वार्थ र स्थानीयहरुको बिरोधका कारण अन्यौलमा परेको छ ।

मोतिपुर औद्योगिक क्षेत्रको आवश्यकता किन ?
बिस्तृत अध्ययन प्रतिवेदन अनुसार लागत १२ अर्ब लागत अनुमान गरिएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणसँगै स्वदेशी कच्चा पदार्थको प्रयोग गरी आर्थिक लाभ प्राप्त हुनुका साथै ठूलो संख्यामा रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ ।

वि.स. २०३२ सालमा रुपन्देहीको बुटवलमा स्थानपना भएको औद्योगिक क्षेत्रमा ठाउँ अभाव भएपछि विकल्पको रुपमा मोतिपुरलाई रोजिएको हो । आर्थिक विकासँगै उद्योग तथा लगानीकर्ताहरुको संख्या बढ्दै गएपछि नयाँ ठाउँको खोजिका रुपमा मोतिपुर क्षेत्रलाई रोजिएको थियो । स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई समेत आकर्षित गर्ने गरी निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रले रोजगारी सिर्जना तथा यस क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उद्योगि व्यवसायीहरुले बताउँदै आएका छन् ।

रुपन्देहीमा रहेका सबैभन्दा पुरानो व्यवसायीक संस्था बुटवल उद्योग वाणिज्य संघ तथा रुपन्देही उद्योग संघको समेत समर्थन रहेको मोतिपुर औद्योगिक क्षेत्र बिकासका लागि जग्गा विवाद र बस्ति व्यवस्थापन गर्न नसक्दा हालसम्म अन्यौलमै रहेको छ । त्यस क्षेत्र क्षेत्रमा कार्यालय स्थापन भएपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अबरोधका कारण काम गर्न नपाएको गुनासो गर्दै आएको छ ।बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) अनुसार ३० हजार बढी रोजगार सिर्जना हुने मोतिपुर औद्योगिक क्षेत्रमा विभिन्न सक्टरहरुको निर्माण गरिने छ । सेक्टर एक (तिलोत्तमा) र सेक्टर सी (फर्साटिकर) लाई विदेशी लगानीमा आधारित उद्योग स्थापनाका लागि एकमुस्ट जग्गा उपलब्ध गराइने छ ।

यसैगरी सेक्टर बी (मोतिपुर) को २६२ वटा प्लट मध्ये साना उद्योगहरुका लागि ९२ वटा, मझौला उद्योगको लागि ५१ वटा र ठूला उद्योगहरुका लागि ११९ वटा प्लट छुट्याइएको छ । नेपाल सरकारको वन स्टप सर्भिस सेन्टर नीतिको आधारमा यस औद्योगिक क्षेत्र भित्र उद्योग दर्ता, भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाईन भएको ।

बहुबर्षीय आयोजना घोषणा तथा बजेटको सुनिश्चितताको लागि प्रस्ताब पेश भएको मौतिपुर औद्योगिक क्षेत्रका लागि सार्वजनिक–निजि–साझेदारी अनुसार अघि बढ्ने योजना रहेको छ । यस बाहेक विदेशी लगानी, विदेशी अनुदान वा अन्तरास्ट्रिय वित्तीय संस्था मार्फत श्रोतको व्यवस्थापन र स्वदेशी लगानी कर्ता मार्फत आयोजनाको विकासहुने गरी योजना बनाइएको छ । औद्योगिक क्षेत्रहरुमा उद्योगहरुलाई आकर्षण र प्रवर्द्धन गर्नको लागि न्युनतम ५ वर्षको लागि जग्गाको भाडामा पूर्ण छुट र १० वर्षपछि भाडादर कायम हुने व्यवस्था गरिएको छ ।

यस्तो छ पुरानो ‘बुटवल’ औद्योगिक क्षेत्र
नेपाल सरकाको आफ्नै लगानीमा आफ्नै मोडल र जनशक्तिबाट वि.स.२०३२ सालमा स्थापित बुटवल औद्योगिक बुटवल उपमहानगरपालिका–१०, रामनगरमा अवस्थित छ । यस औद्योगिक क्षेत्रमा २ अर्ब ३१ करोड निजी क्षेत्रको लगानी रहेको छ । यस औद्योगिक क्षेत्रको अर्ब २८ करोड उत्पादन क्षमता रहेको छ भने वार्षिक ५६ करोड बढी राजश्व योगदान गर्ने गरेको छ । यसैगरी २ हजार बढीले प्रत्येक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् ।

७२ उद्योग रहेको बुटवल औद्योगिक क्षेत्रमा ६४ वटा उद्योग चालु अवस्थामा रहेका छन् भने ४ वटा निर्माणाधिन र ४ वटा बन्द अवस्थामा रहेका छन् । क्षेत्रमा विशेष गरी फलामजन्य निर्माण सामग्रीहरुको बाहुल्यता रहेको यस क्षेत्रमा झोलुङ्गे पुल, हाइड्रोपावरका निर्माण सामग्री, विद्युतीय सामग्री, फलामे पोल, केवल तथा तार लगायतका उत्पादनहरु हुँदै आएका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।