ताजा अपडेट »

एक सातादेखि बुटवलको फोहाेर उठेन, बजार क्षेत्र दुर्गन्धित

मंगलबार, १५ भदौ २०७८, १२ : १२
8 Shares

बुटवल । विगत एक सातादेखि बुटवल उपमहानगरको फोहाेर नउठ्दा शहर दुर्गन्धित भएको छ । उपमहानगरले फोहर उठाउँन छाडेपछि सडक तथा बजारहरुमा फोहर थुप्रिएका छन् । दैनिक ५३ टन बढी फोहर उत्पादन हुने उपमहानगरको फोहाेर व्यवस्थापन हुन नसक्दा स्थानीयहरुले खुला ठाउँ, खोला तथा नहरमा फोहर फाल्न थालेका छन् ।

बजारनै दुर्गन्धित हुने गरी फोहाेर थुप्रिएपछि स्थानीय तथा यात्रुहरुले समेत मुख थुनेर हिड्नु परेको भन्दै गुनासो आएका छन् । बुटवललाई डिजिटल र नमूना शहरको रुपमा विकास गर्ने लक्ष्य लिएको उपमहानगरले हालसम्म फोहाेर व्यवस्थापनको दिर्घकालिन समाधान खोज्न सकेको छैन । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने फोहर व्यवस्थापनका लागि दिर्घकालिन योजना बनिरहेको बताउँछन् । यसैगरी तत्कालको समस्या समाधानका लागि पनि विकल्पको खोजी भइसकेको बताउँदै उनले अबको २/३ दिनमा बुटवलको फोहाेर उठ्ने बताए । रेग्मीको भनाई अनुसार बुटवल उपमहानगरको फोहाेर १० सम्म बजारमा थुप्रिएर बस्ने देखिएको छ ।

बजारमा थुप्रिएको फोहाेर वर्षासँगै लेदो बनेर सडकमा यत्रतत्र छरिँदा पैदलयात्रीहरुले सास्ती खेस्ती खेप्नु परेको छ । उपमहानगरले फोहाेर व्यवस्थापनलाई गम्भीरताका साथ नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उपमहानगरले दिर्घकालिन व्यवस्थापन गर्न नसक्दा समय-समयमा यसैगरी बजार दुर्गन्धित हुने गरी फोहोर थुप्रिने गरेका छन् ।

बुटवल-११ स्थित हात्तीसुड र विनापाते क्षेत्रको बस्ती छेउलाई डम्पिङ साइड बनाएको उपहानगरले स्थानीय विरोधपछि फोहाेर उठाउन छाडेको हो । उपमहानगरपालिकाले अस्थायी डम्पिङ साइट बनाएर फोहाेर फाल्दै हात्तीसुड र विनापातेका स्थानीयले दुर्गन्ध फैलिएको भन्दै विरोध गरेका छन् । फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयले रोक लगाएका हुन् ।

सुरुमा हरेक दिन जम्मा हुने फोहोरलाई ४ इन्च मिस्कट वा माटोले पुरेर दुर्गन्ध हुन नदिने, स्थानीयले माग गरे अनुसार नदी तटबन्ध, सडक, विद्युत, पानीलगायत विकासका पूर्वाधार दिने सहमति गरेर फोहोर फाल्न सुुरु गरे पनि उपमहानरगले सहमति पालना गरेको भन्दै स्थानीयले रोक लगाएका हुन् । डम्पिङ साइडमा मरेका जनावरदेखि कुहिने र नकुहिने सबैखाले फोहोर ल्याएर फालिन्छ । हात्तीसुड र बिनापाते क्षेत्रका चारसय बढी परिवारका करिब दुई हजार जनसंख्या फोहोरको दुर्गन्धबाट प्रभावित भएका छन् ।

बुटवलमा सञ्चालन गर्न खोजिएको २५ करोड ६२ लाख रुपैयांको एकीकृत फोहरमैला प्रशोधन केन्द्र परियोजना उपमहानगरपालिकाले ठाउँको व्यवस्थापन र स्थानीयलाई सहमतिमा ल्याउन नसक्दा फिर्ता भइसकेको छ । बुटवल र देवदहको सीमा क्षेत्र बुटवलको शिवनगर सामुदायिक वनमा पर्ने भनभने खोचमा बनाउने भनिएको फोहेर मैला प्रशोधन केन्द्र आयोजना सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी–पप्पु जेभीसंग सम्झौता भए पनि काम नै अगाडि बढ्न नसकी फिर्ता भएको थियो । उपमहानगर र राजनीतिक दलहरुबीच उचित समन्वय र समझदारी हुन नसक्दा एडीबीका तीनवटै परियोजना गुमेका हुन् ।

उपमहानगरका प्रवक्ता रेग्मीले राजनीतिक वा अन्य विभिन्न कारणले फोहाेरको दिर्घकालिन व्यवस्थापनका लागि जग्गा पाउन समस्या हुने गरेको बताउँछन् । अबको डेढ वर्षभित्र फोहाेर व्यवस्थापनको दिर्घकालिन समाधान हुने गरी बुटवल र सैनामैना नगरपालिकाको सीमा क्षेत्रमा ठाउँको पहिचान भइसकेको उनले बताए । पहिचान भएको ठाउँमा तारबार तथा सुरक्षाको व्यवस्था गरी योजना अघि बढाउने तयारीमा रहेको उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।