ताजा अपडेट »

सरकारको कोखमै विपद्, उद्धार र राहतमा छैन सक्रियता

सोमबार, १४ भदौ २०७८, २० : २२
8 Shares

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको कार्यालय नजिकै करिब ३ दर्जन घर पुरिए । मुख्यमन्त्रीको कार्यालयबाट ५ सय मिटर नजिकै रहेको बुटवल-३ ज्योतिनगरका बासिन्दा आफन्त तथा सार्वजनिक भवनहरुमा बास माग्न पुगेका छन्। केहि दिनयता लगातारको वर्षासँगै आएको बाढी–पहिरोले बुटवलको सडकनै हिलाम्य बनेको छ । यसरी मुख्यमन्त्री कार्यालयका कोखमै रहेको बस्ती तथा शहर विपद्सँग जुधिरहेका बेला सरकार भने गुमनाम जस्तै छ । विपदले जनजीवन प्रभावित भए पनि लुम्बिनी प्रदेश सरकारको नजर पीडितहरुतर्फ अझै पुग्न सकेको छैन । बाढी–पहिरो जनधनको क्षति हुनुका साथै सयौं घर परिवार विस्थापित हुँदा पनि लुम्बिनी प्रदेश सरकारले त्यसतर्फ चासो नदिएको हो ।

जनता विपद्सँग जुधिरहेका बेला लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी भने आकांक्षीहरुको चित्त बुझाउन मन्त्रालयको संख्या थप्ने काममा व्यस्त छन् । सरकार गठन भएको २ हप्ता बढी हुँदा पनि मन्त्रीको टुङ्गो लगाउन सकेका छैनन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभाव कायम रहेकै बेला बाढी पहिरो तथा डुबानले प्रदेशको जनजीवन थप प्रभावित हुँदा समेत सरकारको ध्यान जान नसकको भन्दै आलोचाना सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको तथ्यांक अनुसार गएको श्रावणयता विभिन्न विपदमा परी ३१० जनाले ज्यान गुमाएका छन्। भाद्र १३ गतेसम्मको तथ्याङ्कमा १९ जना विभिन्न विपद्मा परी घाइते भएका छन् भने १० जना वेपत्ता भएका छन् । मन्त्रालयका सूचना अधिकारी बाबुराम पन्थीका अनुसार श्रावणयता ४२ वटा पहिरोका घटना, ११ वटा डुवान तथा ९ वटा बाढीका घटना भएका छन्।

बाढी तथा पहिरोका कारण ६१ वटा निजी घर पूर्ण रुपमा क्षति भएको छ भने ७८ वटा घरमा आंशिक क्षति पुगेको छ । लुम्बिनी प्रदेशमा बाढी तथा पहिरोका कारण ११८ वटा पशु–चौपायको मृत्यु भएको छ । विगतका वर्षहरुको तुलानामा वर्षा पनि बढी भएको हुँदा थप प्राकृतिक विपद् निम्तिन सक्ने विज्ञहरुले चेतावनी दिए पनि त्यसप्रति सरकारको तयारी र ध्यानकार्षण भने हुन नसकेको भन्दै आलोचना हुन थालेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक आस्मान तामाङका अनुसार गएको विहिबारयता मात्रै ४ सय घर परिवार प्रभावित भएका छन् । तामाङका अनुसार रुपन्देहीमा बाढी तथा पहिरोका कारण ९५० घरमा पानी पसेका छन् भने ३६ वटा घरमा पूर्ण रुपमा क्षति भएको छ । ४ दिनको अवधिमा विपद्मा परी ३ जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन् । यसैगरी तिनाउ नदीको कटानका कारण बुटवल–११ का ४० घर परिवार विस्थापनको अवस्थामा छन् ।

यसैगरी बाढी तथा डुबानका कारण प्रभावित बनेको पश्चिम नवलपरासीमा १७० बढी घर परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन समितिका संयोजक तथा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार जिल्लाको प्रतावपुर २ र ४ का १४८ घर परिवार तथा सुनवलका २ दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।

विस्थापित भएका ६ सय जना बढीलाई स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले गास–बासको व्यवस्था गर्दै आएका छन् । विपद्मा उद्धार तथा राहत वितरणमा स्थानीय सकार र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको उपस्थिती देखिए पनि प्रदेश सरकारले आश्वासन बाढ्ने बाहेकका काम गर्न नसकको पीडितहरुले बताउने गरेका छन् । डुबान तथा बाढी प्रभावित क्षेत्रहरुको अवलोकन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बन्धित जिल्ला तथा स्थानीय निकायहरुलाई आवश्यक सहयोगका लागि आश्वासन दिने गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले आवश्यक तयारी तथा अध्ययन अनुगमनमा जोड दिएको बताए । आइतबार नवलपरासीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका मूख्यमन्त्री केसीले सोमबार समेत रुपन्देहीका विभिन्न ठाउँमा अनुगमन गरेको प्रवक्ता खड्काले बताए । सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय निकायहरुसँग समन्वय गर्ने काम भएको उनले बताए।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।