ताजा अपडेट »

बुटवल-भैरहवा ६ लेन सडक : एक झर्को वर्षामै नदी

आइतबार, १३ भदौ २०७८, २० : ३९
2 Shares

बुटवल । बुटवल-भैरहवाको चिल्लो र फराकिलो सडक एक झर्को पानी परेपछि सडक नभई नदीमा परिणत हुन्छ । गएको बिहीबार रातिदेखि परेको वर्षाले यस सडक खण्डका विभिन्न ठाउँमा आवागमन समेत प्रभावित हुने गरी बाढी बगेका तस्विर र भिडियोले सामाजिक सञ्चाल तथा सञ्चार माध्यमहरुमा प्राथमिकता पाए।

व्यापारीक मार्गको रुपमा रहेको बुटवल–भैरहवा तथा भैरहवा–बेलहीया सडक ६ लेनमा विस्तार भएपनि नालीको सहज व्यवस्थापन नहुँदा वर्षाको समयमा सडक नै जलमग्न हुने गरेको छ । शहरको सुन्दरतामा आयाम थप्ने फराकिला र चिल्ला सडकले वर्षायाममा भने तिनै शहरलाई कुरुप बनाउने गरेको छन् । पानी तथा ढल निकासका लागि सडकको दुई किनारमा बनाइएको नाली भरिएर सडकमा बग्न थालेपछि सवारीका साधन तथा पैदलयात्रीले सास्ती खेप्नुपर्ने मात्र होइन दुर्घटनाको कारण समेत बन्ने गरेका छन्।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीका अनुसार गत बिहीबार विगत १५/२० वर्ष यताकै ठूलो पानी परेका कारण सडकमा पानी भरिएको हो । सडक किनारमा बनाइएका नालीले वर्षायाममा थेग्न नसक्नुमा निर्माणको क्रममा केही कमजोरी पनि हुन सक्ने कुरालाई उनले स्वीकार गरे । नालीको डिजाइन गर्दा नै कम क्षमताको भएका कारण समस्या आउने गरेको उनले बताए । यसका साथै नालीमा जम्मा हुने फोहर तथा ढलका कारण पनि यस्तो भएको उनले बताए ।

बुटवल–भैरहवा सडक खण्डमा ८० सेन्टिमिटर फराकिला एक मिटर गहिरो नाली निर्माण गरिए पनि वर्षाको समयमा उक्त नालीले थेग्न नसक्दा सडक जलमग्न हुने गरेको छ । सडकका नालिहरुमा जम्मा हुने पानीका बोतल र विभिन्न प्लाष्टिकजन्य पदार्थहरुले नाली जाम भएपछि माटो जम्ने तथा पानी जम्मा भएपछि सडकमा जाने समस्या रहेको सडक डिभिजन प्रमुख मरासिनी बताउँछन् । यसैगरी व्यापारिक मार्ग विस्तार आयोजना मणिग्राम कार्यालयकी इन्जिनियर सुवेक्षा सारुले भने नालीमा जम्मा हुने ढलनै प्रमुख कारण भएको बताइन्। सडकको नालिमा फोहर तथा प्लाष्टिकजन्य पदार्थ फाल्ने प्रवृत्तिको अन्त्य नहुँदासम्म यो समस्या आइरहने उनले बताइन्।

बिहीबार रातिको वर्षाले सडकमा बाढी बग्नुको कारण भने अत्याधिक वर्षा नै भएको उनले बताइन् । नालीको निर्माण गर्दा विगत२० वर्षको मौसमी इतिहासलाई अध्ययन गरेर बनाइने भएको हुँदा सो अनुसार नालि निर्माण गरेपनि अत्याधिक वर्षा हुँदा नालिले थेग्न नसकेपछि सडकमा बगेको उनले बताइन् । बुटवल–भैरहवा सडक खण्डमा २१० मिलिलिटर क्षमताका नाली निर्माण गरिए पनि विहीबार ४३४ मिलिलिटर वर्षा हुँदा समस्या आएको उनले बताइन्।

यस सडक खण्डमा अन्य समयमा समेत सामान्य वर्षा हुँदा पनि नाली भरिएर सडकमा भेल बग्ने समस्या रहँदै आएको छ । शरको फोर व्यवस्थापन तथा प्लाष्टिकजन्य पदार्थ जहाँ–त्यही फाल्ने प्रवृत्तिले वातावरण कुरुप बनाउने मात्र होइन यसैगरी सडकमा बाढी ल्याउन पनि मद्दत गर्ने विज्ञहरु बताउँछन् ।

वातावरणका क्षेत्रमा कलम चाउँदै आएका तथा यस विषयका विज्ञ युवराज कंडेलका अनुसार सडक तथा शहरी क्षेत्रमा हुने डुवान जल उत्पन्न प्रकोप नभएर मानव निर्मित प्रकोप हो । खोलाको बाढी पसेर डुवान हुनुलाई स्वाभाविक मानिए पनि अव्यवस्थित बसोबास, अदुरदर्शी तथा अवैज्ञानिक भौतिक निर्माणजस्ता कारणले समस्या उत्पन्न हुने गरेको कंडेल बताउँछन् ।

डुवानका मुख्य दोषी स्थानीय वासिन्दा, नगरपालिका र भौतिक निर्माणका कामहरु गर्ने सरकारी निकाय नै भएको उनले बताए। बुटवल–भैरहवा सडक खण्डमा नाली निर्माण भए पनि कम क्षमताको हुनु, नाली सफा नराख्नु तथा नालि भित्र फालिएका प्लाष्टिक जन्य पदार्थले भरिँदा सडकमा बाढी बग्ने गरेको छ । केहि व्यक्तिहरुको स्वार्थ र जिम्मेवार निकायको लापरवाहीको कारणले शहरी क्षेत्रमा डुवान समस्या बढिरहेको बताउँदै उनले शहरी क्षेत्रको बसाई, सुन्दरता, आवतजावत र ढलनिकासमा प्रतिकूल असर परिरहेको उल्लेख गरे ।

बढ्दो शहरीकरणसँगै फोहर व्यवस्थापन तथा ढल निकासको राम्रो प्रवन्ध नहुँदा बुटवल–भैरहवाका सडक मात्र होइन अन्य सडकहरु पनि वर्षायाममा जलमग्न हुने गरेका छन् । सडक पूर्वाधार निर्माण गर्दा अदुरदर्शी ढङ्गले संरचनाको डिजाइन तथा बनेका संरचनाहरुको समेत सही ढङ्गबाट प्रयोग नहुँदा समस्या आउने गरेका छन् । स्थानीय, पैदलयात्री तथा सवारीका साधनमा यात्रा गर्नेहरुले समेत सडक छेउ–छाउमा फालेका फोहर नालीमा गएर जम्मा हुँदा समस्या हुने गरेको छ । जसले गर्दा सामान्य वर्षा हुँदा पनि सडक किनारमा पानी जम्ने समस्या देखिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।