ताजा अपडेट »

राप्ती अस्पतालका मेसुलाई दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

आइतबार, १३ भदौ २०७८, १२ : ४४
10 Shares

दाङ । राप्ती प्रादेशिक अस्पतालको घटनालाई लिएर दाङमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंह माथि कोलो मोसो दलेर दुर्व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । घटनापछि अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू एएनएम दाङ र जिल्लाका सम्पूर्ण निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही र सुरक्षाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । घटना भएको तेस्रो दिनसम्म पनि घटनामा संलग्न दोषी पक्राउ पर्न नसकेको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।

दोषी पक्राउ नपर्दासम्म अस्पतालका आकस्मिक, डायलासिस र सुत्केरी सेवाबाहेक अरु सेवा बन्द हुने अस्पतालका मेसु डा. सिंहले बताए । उनले दोषीहरूलाई कानुनले जति सक्यो चाँडो कारबाही गर्नु पर्ने माग गरे । उनले भने ‘अस्पतालमा रगतको कल्चर गर्ने सुविधा छैन् । ठाउँको र जनशक्तिको अभावले सेवा प्रदान गर्न सकिएको छैन् । तर, यो घटनाले अहिले अस्पतालमा काम गर्ने वातावरण छैन् । यदि कानुनले उनीहरूलाई कडाभन्दा कडा कारबाही नगरे अस्पतालमा बस्ने डाक्टरहरू सबै असुरक्षित हुन्छन् । यो अवस्थामा कुनै पनि समयमा घटना घट्न सक्छ । त्यसैले हामीलाई सुरक्षाको ग्यारेन्टी र दोषीलाई कारबाही नभएका सबै सेवा दिन सक्दैनौँ ।’

त्यस्तै अस्पतालमा कार्यरत डाक्टर ओम अधिकारीले यो घटना दुखद भएको भन्दै भोलीका दिनहरूमा पनि सुरक्षाको ग्यारेन्टी नहुदाँसम्म काम गर्न समस्या हुने बताए । उनले भने ‘हामी एक्लै बसेका हुन्छौँ । घरपरिवार एकातिर छन् । बस्ने क्वाटर पनि त्यति मजबुत छैन् । हाम्रो सुरक्षाको जिम्मा कस्ले लिन्छ । यस्तै अवस्था भए हामीहरू काम गर्न सक्दैनौँ ।’ उनले पनि दोषीहरूलाई कडाभन्दा कडा कारबाही माग गरे । त्यस्तै उनले गलत गर्ने जो सुकैलाई कारबाहीमा गर्नु पर्ने भन्दै पार्टीगत रुपमा गएर संरक्षण गर्न नहुने समेत तर्क गरे ।

त्यस्तै अस्पतालमा यस्तो घटना हुनु आफैमा लज्जास्पद भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनले चिकित्सकमाथिको अपमानलाई आफैमाथिको अपमानका रुपमा लिएको भन्दै यो अक्षम्य अपराध भएको समेत बताए । उनले भने, ‘अस्पतालमा अराजक तत्वले अराजक गतिविधि गरेको छ । हामीले ति उनीहरूलाई खोजी रहेका छौँ । कुनै पनि हालत उनीहरूलाई कानुन कठघरामा उभ्याएर न्याय दिने छौँ । सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको मनोबल बढाउने छौँ ।’ स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण सेवा बन्द हुँदा अस्पतालमा आउने बिरामीले सास्ती पाएका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी