ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौं अनियमितता

मंगलबार, ०८ भदौ २०७८, १८ : ०३
14 Shares

बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौं अनियमितता भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालमा औषधि खरिद, कोभिड नियन्त्रण तथा रोकथाम कार्यक्रम, सटर भाडा असुली, फार्मेसी सञ्चालन तथा कर्मचारीहरुबाट उठ्नु पर्ने आयकर लगायतका शिर्षकमा अनियमितता भेटिएको हो ।

महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालमा १ करोड ९७ लाख ८२ हजार बेरुजु भेटिएको छ । प्रतिवेदन अनुसार १ कराेड १८ लाख २७ हजार अनियमित देखिएकाे छ भने ७९ लाख ५५ हजार रकम बराबरकाे खर्चमा प्रमाण भेटिएकाे छैन । सार्वजनिक खरिद ऐन विपरित प्रतिष्पर्धा विना नै औषधि तथा स्वास्थ्य सामग्री गरिद गरेको, कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई आवास तथा खाना खर्चका नाममा विवरण नै नखुलाई लाखौ रकम होटलमा भुक्तानी दिएको, नियम विपरित योजनाहरु टुक्राएर विना प्रतिष्पर्धा निर्माण कार्य गराएको, अस्पताल फार्मेसीमा रहेका औषधिहरुको आवश्यक विवरण नराखेको तथा कर्मचारीहरुले आयकर बापत तिर्नु पर्ने रकम नबुझाएको लगाएतका मजोरीहरु भेटिएका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३१ अनुसार रु.२० लाखभन्दा बढीको खरिद बोलपत्रको माध्यमवाट गर्नुपर्ने व्यवस्था भए पनि ३ करोड २८ लाख ५२ हजार बराबरका औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्दा बोलपत्रको माध्यमबाट प्रतिष्पर्धा नगराईएको प्रतिवेदनमा उल्लेख छ । अस्पतालले गत वर्षको औषधि खरिदको ठेक्काको दरमा नै खरिद गरी अनियमित रूपले भुक्तानी दिएको भन्दै यसलाई नियन्त्रण गर्न निर्देशन दिएको छ ।

सबैभन्दा बढी औषधि तथा सामग्री खरिदमा नै अनियमितता देखिएको लुम्बिनी प्रादेशिक अस्पतालमा आपूर्तिकर्ताले सम्झौता अनुसार काम पूरा नगरे पनि कारबाही भने गर्न सकेको छैन । अस्पतालले ४ आपूर्तिकर्तासँग रु.१६ लाख ९२ हजारको औषधि खरिद गर्ने सम्झौता भएको मध्ये रु.४ लाख २ हजारको औषधि आपुर्ति भई रु. १२ लाख ९० हजारको औषधि आपूर्ति गर्न बाँकी भए पनि कुनै कारबाही गरेको छैन ।

कोरोना महामारीको समयमा उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको होटल खर्चमा समेत अनियमितता भेटिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार अस्पतालले होटल खर्चबापत भुक्तानी गरेको रकममा आवश्यक विवरणहरु नखुलाएको पाइएको छ । अस्पतालले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई होटलको बिल बापत ७७ लाख ३३ हजार भुक्तानी दिएको छ । भुक्तानी गर्दा होटलमा बस्नेको नामावली र बसेको अवधि खुल्ने विवरण पनि संलग्न हुनु पर्नेमा लुम्बिनी प्रादेशिक अस्पतालले केवल होटलको बिलको आधारमा भुक्तानी दिएको हुँदा खर्च पुष्ट्याई हुनुपर्ने महालेखाले जनाएको छ ।

कोरोना विशेष अस्पतालको रूपमा समेत रहेको यस अस्पतालको कोभिड–१९ तर्फ ९ करोड ९ लाख ५७ हजार आम्दानी गरेको छ । यसैगरी सेफ्टी किट तथा सामग्री खरीदका लागि ९ लाख ९१ हजार, जनशक्ति व्यवस्थापनका लागि ३९ लाख ७२ हजार, कर्मचारी जोखिमका लागि १ करोड ५० लाख, होटेल वास खर्चका लागि ७७ लाख ३३ हजार, अक्सिजन खरिदका लागि १९ लाख २० हजार, मेशीनरी औजार खरीदका लागि १६ लाख ३ हजार, पि.सि.आर. तथा वेड खरिदका लागि १ करोड ४८ लाख २ हजार र संरचना निर्माणमा २ करोड ४२ लाख ५७ हजार गरी कूल ८ करोड ५ लाख ७१ हजार खर्च गरेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ अनुसार २० लाख रुपैयाँभन्दा बढीको खरिद तथा निर्माण गर्दा प्रतिस्पर्धात्मक विधि अपनाई गर्नुपर्ने व्यवस्था भए पनिसो अनुसार नभएको महालेखाले जनाएको छ । खरिद र निर्माण कार्य टुक्राटुक्रा पारी प्रतिस्पर्धा वेगर निर्माण कार्य गरिएको प्रतिवेदनमा उल्लेख छ । अस्पतालले यसका लागि ३५ लाख ५२ हजार भुक्तानी दिएको महालेखाले जनाएको छ ।

सप्लायर्सलाई बढी भूक्तानी, फार्मेसीले तथ्यांक नै बुझाएन
अस्पतालले औषधि तथा सामग्री गरिदमा साढे ६ लाख बढी भुक्तानी दिएको छ । विभिन्न ११ वटा सप्लायर्ससँग न्यूनतम मूल्यमा सामान खरिदका लागि सम्झौता गरेको अस्पतालले ६ लाख ४५ हजार बढी भुक्तानी दिएको छ । खरिद नियमावली २०६४ को नियम १२३ मा खरिद सम्झौता अनुसार सार्वजनिक निकायले बिल विजकको भुक्तानी गर्दा करारका शर्त बमोजिम भुक्तानी गर्नुपर्ने व्यवस्था भएपनि सो अनुसार नभएको हो । मेडिसिन तथा सर्जिकल सामग्री खरिद गर्न विभिन्न फर्मसँग इकाई दरमा सम्झौता गरेको अस्पतालले बढी दरमा भुक्तानी गरेको हो ।

यसैगरी अस्पताल फार्मेशीले आर्थिक वर्षको अन्त्यमा फार्मेसीसँग रहेको औषधी मौज्दातको विवरण तथा जिन्सी निरीक्षणको प्रमाणित प्रतिवेदन बुझाउन सकेको छैन । आर्थिक वर्षको अन्त्यमा फार्मेशिमा कति रकमको औषधिहरू बाँकी छन् भन्ने सम्बन्धमा एकिन विवरण महालेखा परीक्षकलाई बुझाउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।