ताजा अपडेट »

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की प्रहरी नियन्त्रणमा

विहीबार, ३० साउन २०७६, १७ : ०९
4 Shares

साउन ३०,
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा चितवन प्रहरीले गति लिएको छ । कार्यक्रम प्रस्तोता रवि लामिछानेको नियन्त्रणमा रहेको दाबी गरिएकी अस्मिता कार्की रुकुलाई नियन्त्रणमा लिँदै पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा चितवन प्रहरीले गति लिएको हो ।

यद्यपि, उनी लामिछानेको नियन्त्रणमा थिइन् या थिइनन् भन्ने स्वतन्त्र पुष्टिचाहिँ हुन सकेको छैन । उच्च प्रहरी स्रोतका अनुसार आत्महत्या प्रकरणमा अन्यलाई पक्राउ गर्नका लागि पनि आधार र प्रमाणको पर्याप्तता जुटाउने काम भइरहेको छ । प्रहरीले बलियो प्रमाण पाउनासाथ रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने तयारी गरेको छ । हिजो बुधबार पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियो सार्वजनिक भएको थियो । जसमा उनले कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको उल्लेख गरेका छन् ।

पुडासैनीको साथमा भेटिएका मोबाइल लगायत डिजिटल सामाग्रीहरु चितवन प्रहरीले प्रहरी प्रधान कार्यालयमा रहेको विधि विज्ञान प्रयोशालामा पठाएको थियो । जसको प्रतिवेदन आज चितवन पुग्ने बताइएको छ । यस्तै, स्वर्गीय पत्रकार पुडासैनीको शवलाई शिक्षण अस्पताल काठमाडाैँमा पाेस्टमार्टम गरिएको थियो । त्यसको रिपोर्ट पनि आजै प्रहरीलाई बुझाइने बताइएको छ । पक्राउ परेकी कार्कीको बयान, प्रयोगशालाको रिपाेर्ट र पाेस्टमार्टम रिपोर्टको आधारमा अनुसन्धानका बाँकी काम अघि बढाउने प्रहरीको तयारी छ ।- दैनिक नेपाल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।