ताजा अपडेट »

सुन्दर नगरी तिलोत्तमाका ‘जिर्ण सडक’ : यात्रा गर्दा सास्ती, दुर्घटनाको जोखिम

आइतबार, ३१ साउन २०७८, १८ : ०१
10 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्वच्छ वातावरणले मात्र होइन, चिल्लो र उज्यालो मुख्य सडकले पनि परिचित छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा ६ लेन सडकमा राखिएका बत्तिले शहरको सुन्दरतालाई थप आकर्षित गर्दछ । नगरपालिकाको मध्यभागमा रहेको राजमार्ग चिल्लो र फराकिलो भएपनि भित्री बस्तीहरुको अवस्थामा भने फरक छ ।

नगरका विभिन्न बस्ती जोड्ने अधिकांश सडक कच्ची नै छन् भने कालो पत्रे भएका सडक पनि जीर्ण अवस्थामा छन् । सडकमा परेका ठूला–ठूला खाल्टोले सवारी दुर्घटनाको जोखिम हुनुका साथै सडकमै पानी जमेपछि पैदलयात्रीलाई समेत सास्ती हुने गरेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत विभिन्न ठाउँबाट पूर्व तथा पश्चिमका बस्तीहरुमा जोड्ने कालो पत्रे सकडकहरु समेत समयमा मर्मत सम्भार नहुँदा थप जीर्ण बन्दै गएका छन्।

बस्ती जोड्ने विभिन्न सडक तथा तीनका शाखाहरु कालोपत्रे भएपनि खाल्डो परेर पानी जम्ने गर्द छन् । सिद्धार्थ राजमार्ग अन्तरगतको नयाँमलिदेखि पश्चिम तिलोत्तमा–६ को दश नम्बर पुग्ने सडक, योगीकुटीदेखि चपरहट्टीहुँदै दक्षिण–पूर्व लाग्ने सडक, मण्रिामदेखि ४ नम्बर पुग्ने सडक तथा पच्थरडाँडा, भलवारीदेखि पश्चिमतर्फ रहेको अमुवा वेथरी जोड्ने सडकको अवस्था जीर्ण बन्दै गएका छन् । राजमार्ग छेउ–छाउका सडक चिल्ला र फराकिला देखिएपनि भित्रि बस्तीहरुमा रहेका सडक भने वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेका छन् ।
नगरका सडकहरुमा संघ, प्रदेश र स्थानीय सरकार बीचको तालमेल नमिल्दा पनि समस्या हुने गरेको देखिएको छ ।

मणिग्रामदेखि ४ नम्बर पुग्ने सडक केन्द्रिय बजेटबाट निर्माण भएको हो । उक्त सडक निर्माणका लागि स्थापना भएको ‘लुम्बिनी बुद्ध सर्किट’ निर्माण सम्पन्न भई खारेज भएपछि पुनः मर्मतमा समस्या देएिको छ । तिलोत्तमा नगरपालिका योजना शाखाका इन्जिनियर प्रदिप वनका अनुसार उक्त सडकमा मर्मतका लागि अध्ययन भइरहेको बताए । तिनाउ खोलादेखि रोहिणी नदिसम्म अध्ययन गरिएको र करिब ५ लाख लागत अनुमा गरिएको उनले जानकारी दिए । ११ किलो मिटर रहेको यो सडकका अधिकांश स्थानमा खाल्डो परेपछि मर्मत गर्नुपर्ने अवस्थामा छ ।

यसैगरी नयाँमिलदेखि पश्चिम तर्फ रहेको तिलोत्तमा–६ को १० नम्बर पुग्ने सडक पनि पूरा हुन सकेको छैन । नयाँमिलदेखि करिब सभा किलोमिटर सडकमा कालोपत्रे र नाली निर्माण गरिएको भए पनि बाँकी भागमा मर्मत गर्नुपर्ने अवस्थामा छ । उक्त सडकका लागि बहुवर्षीय योजनाका रुपमा संघीय सरकारले निर्माण गर्दै आए पनि पूरा गर्न थप बजेट नपरेको इन्जिनियर वनले ग्लोबल आवाजलाई जानकारी दिए ।
सिद्धार्थ राजमार्ग अन्तरगत भलवारीदेखि पश्चितर्फका बस्ती जोड्ने सडकको कालोपत्रे भएर पनि ठाउँ–ठाउँमा परेका खोल्टोले दुर्घटनाको जोखिम छ । पश्चिम पौनीसम्म पुग्ने करिब ८ किलोमिटर यो सडकका लागि यो वर्ष १ करोड विनियोजन भई काम हुने प्रक्रियामा अघि बढेको नगरपालिकाले जनाएको छ ।

यस्तै पत्थरडाँडाबाट पश्चिमका बस्तीहरुमा पुग्ने सडक वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गर्दछन् । गत वर्ष ५० लाख बजेट विनियोजन भएकोमा केही काम भएपनि कोरोना महामारीले पूरा काम हुन सकेको छैन । यस वर्ष पनि मर्मतका लागि १ करोड विनियोजन गरिएको उक्त सडकमा विभिन्न उद्योगहरुमा पुग्ने सवारीहरु चल्ने गर्दछन् । विशेष गरी तिलोत्तमा पश्चिममा रहेका वनकट्टी, तिनधुरा, अमुवा–वेथरी लगायतका सडकहरुमा दैनिक सयौंका सवारीहरु जोखिम मोलेर गुड्ने गर्छन् । विभिन्न उद्योगहरुमा मालसामान बोक्ने सवारीहरु सडकका ठूला–ठूला खाल्टो छिचोल्दै यात्रा गर्न बाध्य छन् ।

तिलोत्तमामा रहेका कूल ८ सय ५७ दशमलव ७४ किलोमिटर मध्ये ३९५ दशमलव ३९ किलो मिटर सडक कालोपत्रे भए पनि अधिकांश सडकहरु समयमा मर्मत नहुँदा जीर्ण बन्दै गएका छन् । तिलोत्तमान नगरपालिका योजना शाखाका अनुसार नगरमा १५२ दशमलव ९२ किलोमिटर सडक ग्राभेल भएका छन् भने ३ सय ९ दशमलव ४२ किलोमिटर सडक कच्ची रहेका छन् । नगरपालिकाले मापदण्ड तोकेर ११ मिटर, ७ मिटरका तथा ६ मिटर गरी वर्गिकरण गरेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।