ताजा अपडेट »

लुम्बिनी सरकार : रुपन्देहीको सहभागिता शून्य

विहीबार, २८ साउन २०७८, २२ : १९

बुटवल । लुम्बिनी प्रदेशको नयाँ नेतृत्व तथा मन्त्री मण्डलमा रुपन्देहीको सहभागिता शून्य रहेको छ । बिहीबार गठन भएको मुख्यमन्त्री कुलप्रसाद केसीको ७ सदस्यीय मन्त्री मण्डलमा रुपन्देहीका एक जना पनि परेका छैनन् । प्रदेशको मुकाम रहेको जिल्लामै जिल्लाबाट एक जना पनि मन्त्री नहुनुले रुपन्देहीप्रति उपेक्षा गरेको देखिन्छ । प्रदेशको राजधानी कायम गर्ने समयमा रुपन्देहीलाई आर्थिक राजधानी (केन्द्र) बनाउने भनिएपनि रुपन्देहीबाट नै सहभागिता नगराउँदा संघीयता र प्रादेशिक संरचनाको सवालमा असन्तुष्टि बढ्ने विष्लेषक युवराज कंडेल बताउँछन् ।

नयाँ बनेको नेकपा माओवादी, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त गठबन्धनको नेतृत्व तथा मन्त्री परिषद्ले रुपन्देहीलाई प्राथमिकता नदिँदा यस क्षेत्रलाई राजनीतिक तथा आर्थिक रुपमा वेवास्ता गरिएको जस्तो लाग्ने उनले बताए । प्रदेशकै मुख्य शहर र आर्थिक केन्द्र भएको रुपन्देहीमा धेरै ठूला आयोजनाहरु पनि रहेका छन् । नयाँ प्रदेश सरकारले पहिलो पाइलामा देखाएको उपेक्षाले ती आयोजना प्रभावित हुने देखिन्छन्। मन्त्री मण्डलमा मात्रै होइन प्रदेशका मुख्य जिम्मेवारीमा पनि रुपन्देहीको सहभागिता न्यून रहँदै आएको छ। तर,यस अगाडिका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रुपन्देहीको प्रतिनिधित्व थियो। पोखरेलको नेतृत्वको सरकारमा रुपन्देहीबाट, लिला गिरी,भोजप्रसाद श्रेष्ठ र सन्तोष पाण्डे मन्त्री थिए ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन चितवनका हुन् । प्रदेश सभा प्रमुख पूर्ण बहादुर घर्ती रुकुम पूर्व र उपसभामुख कृष्णि थारु बर्दियाकी हुन् । मुख्यमन्त्री कुलप्रसाद केसी रोल्पाबाट निर्वाचित हुन् । त्यसैगरी ७ सदस्यीय मन्त्री परिषदमा डिल्ली चौधरी दाङ्ग ,सहसराम यादव –कपिलबस्तु ,कृष्णध्वज खड्का प्यूठान, पूर्मती ढेँगा–पाल्पा , सुमन रायमाझी –बर्दिया , अजय शाही –नवलपरासी रहेका छन्।पहिलो मन्त्री परिषद गठनमा रुपन्देहीबाट प्रतिनिधित्व नभएपनि आगामी विस्तारमा भने सम्भावना रहेको छ । यस अघि नै रुपन्देहीका फखरुदिन खानको चर्चा थियो । तर, पहिलो गठनमा भने उनी परेनन्। शंकर पोखरेल नेतृत्वको सरकारमा ९ जना सम्मको मन्त्री परिषद विस्तार भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।