ताजा अपडेट »

कोरोना कहर : ‘पुनःसडकमा यौनप्यासी खोज्दै हिड्नु पर्याे’

सोमबार, २५ साउन २०७८, २१ : ५२
6 Shares

बुटवल । चितवन घर भई हाल बुटवल–६ हाटबजारलाइनमा बस्दै आएकी रागिनी श्रेष्ठ (नाम परिवर्तित्) हरेक साँझ ग्राहकको खोजी गर्दै सडकमा निस्कन्छिन् । अँध्यारो रातमा ग्राहकको यौन प्यास मेटाएर हातमुख जोड्ने उनको दैनिकी हो । तेस्रो लिङ्गी महिला रागिनी १७ वर्षको कलिलो उमेरमै चितवन छाडेर बुटवल शहर आएकी हुन् ।

घर–परिवारको अपहेलना र सामाजिक तिरष्कारका कारण आफन्तबाट टाढिएको ७ वर्ष बढी भइसकेको छ । २४ वर्षीया रागिनीले बुटवलका डान्सबारहरुमा ग्राहकलाई नाच देखाएर जीविकोपार्जन गर्ने एक मात्र विकल्प कोरोना महामारीले खोसिएपछि सडकमा बिताउनु परेको छ । विगत २ वर्षदेखि कोरोनाका कारण डान्सबारहरु ठप्प छन् । डान्सबारहरु बन्द भएपछिसडकमा यौनप्यासीहरु खोज्दै हिड्नु पर्ने बाध्यता भएको उनले बताउँछिन् ।

उनीसँगै बस्ने अन्य ५ जना साथीहरु पनि हरेक रात बुटवलका सडकमा ग्राहकको खोजी गर्दै भौतारिएका हुन्छन् । आफूहरु बस्दै आएको घरमा समेत घरबेटीले थाहा पाए बस्न नपाउने हो कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलीरहन्छ । त्यसैले डान्सबार तथा होटलमा काम गर्छौभन्दै घरबेटीसँग झुट बोल्नु परेको बाध्यता रागिनीले सुनाइन् ।

महामारीको यस अवधिमा आफ्नो जीवन सम्झेर विरक्तिएकी उनले मन भुलाउन ड्रग्सको साहारा लिन थालिन् । दिन–दिनै ड्रग्सको लतमा परेकी उनले अन्तिम विकल्प आत्महत्या हो भन्ने लाग्यो । आफ्नो विगत सुनाउँदै उनले भनिन्–‘आत्महत्या नै उत्तम विकल्प हो कि भन्ने लाग्थ्यो । प्रयास पनि गरे, तर साथीहरुले सम्झाएपछि बाच्नुपर्छ भन्ने लाग्यो ।’ साथीहरुकै सहारामा फेरि बाँच्ने प्ररण गरेकी उनले हाल भने ड्रग्सको लत छाडिसकेको बताइन् ।

कोरोना महामारीले रागिनी र रागिनीका साथीहरु मात्र होइन रुपन्देहीमा मात्रै अन्य ४७ जना तेस्रो लिङ्गीहरु यसैगरी सडकमा आउनु परेको शाहासी कदम नेपालकी अध्यक्ष आनिक रानाले जानकारी दिइन् । यसैगरी २ वर्षको अवधिमा कोरोना महामारीकै कारण २३ जना तेस्रो लिङ्गीहरुले हात्महत्या गरे भने १३ जनाले आत्महत्याको प्रयास गरेका थिए । ६ जना कोरोना संक्रमित भएको आनिकले बताइन् । यो तथ्याङ्क आफूहरुले तयार पारेको बताउँदै उनले सरकारलाई यस बारेमा जानकारी नै नभएको गुनासो गरिन् ।

कोरोना महामारीले अन्य सामान्य मानिसहरुलाई पनि समस्यामा पारेको छ, त्योभन्दा थप पीडा आफूहरुले भोग्नु परेको गुनासो तेस्रो लिङ्गीहरुको छ । परिवारबाट विछोडिएर बसेका उनीहरुलाई समाजको तिरस्कार त छ नै, आफ्नो पेट पाल्न समेत गाह्रो हुने गरेको गुनासो छ । सरकारले प्रदान गर्ने राहत, खोप तथा स्वास्थ्य सुविधाहरुमा समेत आफूहरुलाई विभेद भएको उनीहरु बताउँछन् । लिङ्ग नखुलेकै कारण वा नागरिकता नभएका कारण उनीहरुले सेवाबाट बञ्चित हुनु परेको आनिकले बताइन् ।

रुपन्देही टिकुलीगढका बन्नु चौधरीले जन्मिएको ६ महिनामै बुवा गुमाए, १३ महिनामा आमालाई गुमाउनु पर्यो । बुबा–आमा गुमाउनु लेखान्त भएपनि तेस्रो लिङ्गी भएकै कारण समाजको अपहेलना सहनु परेको उनले गुनासो गरे । सानीआमाको पालनपोषणबाट हुर्कीएका उनलाई तेस्रो लिङ्गी भएको थाहा पाएपछि समाज र परिवारले गर्ने व्यवहार विस्तारै परिवर्तन हुन थाल्यो । साथ छुट्दै गएपछि एक्लै जीउने विकल्प खोज्दै विवाह, भोज-भतेर तथा रङ्ग-मञ्चहरुमा नाच देखाउने उनको पेसा बन्यो ।

हाल साढे ५ दशक (५६ वर्ष) उमेर पार गरिसकेका उनलाई जवानी ढल्किएकै कारण ठाउँ नपाएपछि पेसा परिवर्तन गरेका छन् । दैनिकी ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका बन्नु एक्लै बस्छन्, हात खुट्टा चल्दासम्म त चुल्होमा आगो बल्ला, त्यसपछि के हुने हो उनलाई पनि थाह छैन । कोरोना महामारीका कारण ज्याला मजदुरी गर्ने काम पनि नपाउँदा कुन दिन चुल्हो बल्न छाड्ने हो थप पीडा थपिएको उनले सुनाए ।

यसरी महामारीका कारण सडकबाट अन्य वैकल्पिक पेसातर्फ लागेकाहरु पनि पुनः सडकमा भौंतारिनु पर्ने अवस्था सिर्जना भएकोमा तेस्रो लिङ्गीहरुको गुनासो छ । तेस्रो लिङ्गीहरुको साझा आमाको रुपमा परिचित आनिकले गुनासो गर्दै भनिन्–‘कोभिडको समयमा तेस्रोलिङ्गीहरुका लागि सरकारले कहिल्यै पनि साेँचेन । राहत वितरणको अवस्थामा होस वा क्वारेन्टिन व्यवस्थापनका विषयमा । महिला–पुरुषका लागि छुट्टै बस्ने खाने व्यवस्था गरेजस्तै हामीहरुका लागि पनि हुनु पथ्र्यो तर, त्यस्तो भएन ।’ क्वारिन्टिन भित्र हुने भेदभावका कारण पनि संक्रमितहरु त्यहाँ बस्न नचाहने तथा खुलेर संक्रमित भएको बारे जानकारी गराउन नसक्ने समस्याहरु भोग्नु परेको उनले बताइन् ।

रुपन्देही तिलोत्तमाकी सरोज न्यौपाने (सुरुची) कक्षा १२ को परीक्षाका लागि तयारी गरिरहेकी छन् । अन्यको भन्दा उनका लागि पारिवारीक वातावरण केही सहज भएपनि समाज तथा विद्यालयरुमा गरिने विभेदले भने उनलाई पीडा दिइरहन्छ । कान्छो सन्तानका रुपमा जन्मिएकी सुरुचीका अन्य २ जना दाजुहरु भएका कारण पनि उनलाई परिवारले छोरीको रुपमा स्वीकार गर्न सहज भएको उनले सुनाइन् । बुटवलको न्यूहोराइजन मा.वि.मा अध्ययन गर्ने सुरुची कलेज टपर हुन् । तर, आफू तेस्रो लिङ्गी भएकै कारण विद्यालयले उपलब्ध गराउने सेवा सुविधा तथा छुटबारे सम्बन्धित पक्षनै अन्यौलमा रहेको उनले बताइन् । ‘अन्य सामान्य अवस्थाका व्यक्तिहरुलाई भए विद्यालयले सजिलै सेवासुविधा तथा शैक्षिक शुल्कहरुमा छुटको व्यवस्था गथ्र्यो होला । तर म तेस्रो लिङ्गी भएका कारण उनीहरुले (विद्यालय प्रशासन)ले सेवा तथा छुट उपलब्ध गराउन आनाकानी गर्छन ।’–आफ्नो पीडा पोख्दै उनले भनिन् ।

व्यवस्थापन विषयमा अध्ययन गरिरहेकी उनले अभिष्यमा आफ्नो समुदायका व्यक्तिहरुको अधिकारका लागि काम गर्ने अठोट गरेकी छन् । पारिवारीक रुपमा अन्यको तुलनामा सहज वातावराण् पाएकी उनले राज्यबाट हुने विभेदले आफूहरुलाई बाच्नै गाह्रो हुने अवस्था सिर्जना हुने गरेको बताइन् । ‘सरकारले तेस्रो लिङ्गीहरुका लागि उपलब्ध गराउने सेवा सुविधाका लागि नागरिकता अनिवार्य भनेको हुन्छ, नागरिकता बनाउन अनिवार्य ट्रान्सप्लान्ट (लिङ्ग परिवर्तन) गर्नु पर्ने भन्छ ।’–सरकारको नीति तथा कानूनी जटिलताहरु बारे बताउँदै उनले भनिन्, ‘लिङ्ग परिवर्तनका लागि लाग्ने खर्च कसले दिने ? त्यो समयमा हुन सक्ने मानवीय क्षति कसले व्यहोर्ने ? यदी कोही व्यक्तिलाई लिङ्ग परिवर्तन नगरी सोही अवस्थामा बस्न इच्छा छ भने त्यो उसको नैसर्गिक अधिकार होइन र ?’ यसरी उनका पीडाले भरिएका प्रश्नहरुले तेस्रो लिङ्गीहरुको अवस्था र कोरोना महामारीले पारेको प्रभाव थप प्रष्ट हुन्छ ।

बुटवलकी अवन्तिका घर्तीमगर मेकअप आर्टिस्ट र कोरियोग्राफर हुन् । उनले काम गर्ने आरएन स्टाइल संस्था महामारीले झण्डै डेढ वर्षदेखि ठप्प छ । मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाइ गर्ने उनको आम्दामी अहिले शून्य छ । कमाइ शून्य हुँदा समाजको तिरस्कारबीच पनि बाँच्न बाध्य भएको उनी बताउँछिन् । ‘महामारीबीच मलाई टीभी भयो । बचत गरेको सबै पैसा पनि उपचारमा सकियो । राज्यले दलित, पछाडि परेको वर्ग र समुदायलाई भत्ताको व्यवस्था गरेको छ । हाम्रो समुदायलाई पनि भत्ता दिए अप्ठ्यारो परेको बेलामा सहज हुने थियो,’ उनी भन्छिन् ।

रुपन्देहीमा रहेका तेस्रोलिङ्गीहरु रोगलेभन्दा पनि भोकले पर्ने स्थिती आएको भन्दै गुनसो गर्छन् । कोरोना महामारीले गतिविधि ठप्प भएपछि सडकको विकल्प छाडेकाहरु फेरी सडकमै उत्रीनु परेको उनीहरु बताउँछन् । ‘सरकारबाट पनि हामीलाई कुने राहत आएको छैन, विभिन्न समयमा राहत बाडेका समाचारहरु त थाहा पाएका छौं तर, हामीले सरकारी दालचामल खान पाएका छैनौं ।’–गुनासो गर्दै एक तेस्रो लिङ्गी महिलाले भनिन् । परिवारको दबाब र सामाजिक अपहेलना सहन नसकेर फेरी सडकमा यौन पेसा गर्दै हिड्नु पर्ने बाध्यता आएको बताउँदै उनले भनिन् ‘सडकमा उभिनुलाई हामीले प्राथमिकता दिएका छैनौं, तर, हाम्रो पीडा सुनियोस्, विकल्प दिइयोस भन्ने मात्रै हो ।’

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।