ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालमा वरिष्ठलाई हटाएर कनिष्ठ ल्याउने तयारी

शनिबार, २३ साउन २०७८, १७ : १९
6 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट परिवर्तनको प्रस्ताव अघि बढेको छ । अस्पतालका प्रमुख मेसु राजेन्द्र खनाललाई हटाएर एक निजी अस्पतालका डाक्टरलाई ल्याउने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पुगेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, अस्पतालका अध्यक्ष सुर्य भट्टराई र मन्त्रालयका सचिव विकास देवकोटाको योजनामा वरिष्ठलाई हटाएर कनिष्ठ डाक्टरलाई मेसुमा ल्याउने तयारी भएको छ । स्वास्थ्य मन्त्री श्रेष्ठको प्रस्तावमा निजी अस्पतालका सन्चालक समेत रहेका हाडजोर्नी विशेषज्ञ डा. ईन्द्र ढकाललाई लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख बनाउन लागिएको हो । डा. ढकाल बुटवलको सुख्खानगरस्थित श्रवणपथमा रहेको साझा अस्पतालका सञ्चालक हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा हालका प्रमुख मेसु खनालसहित ५ जना ११ औं तहका वरिष्ठ डाक्टरहरु रहेको अवस्थामा १० औं तहका कनिष्ठ डा. ढकाललाई अस्पताल प्रमुख बनाउने प्रस्तावले थप संका उत्पन्न भएको छ । नेतृत्व परिवर्तन गर्नु परे पनि अस्पतालमा वरिष्ठ डाक्टरहरु हुँदाहुँदै निजी अस्पतालका सञ्चालक तथा कनिष्ठलाई ल्याउने प्रस्तावले राजनीतिक तथा आर्थिक चलखेलको आशंका गर्न सकिने अस्पताल स्रोतले जनायो । लुम्बिनी प्रादेशिक अस्पतालमा खनालसहित डा. श्रीधर आचार्य, डा. प्रभाकर चौधरी, डा. विष्णु शर्मा र डा. वर्षा थापा गरी ५ जना ११ औं तहका रहेका छन् ।

स्वास्थ्यमन्त्री श्रेष्ठ तथा अस्पतालका अध्यक्ष सुर्य भट्टराईले एक–अर्कालाई मुख्य योजनाकारका रुपमा देखाउने गरेको स्रोतले बतायो । मेसु परिवर्तनका लागि मन्त्रालयका सचिव विकास देवकोटाको समेत ठूलै हात रहेको मन्त्रालय स्रोतले जनायो । अस्पतालका अध्यक्ष भट्टराईले अस्पतालमा आफू अनुकूल काम नभएपछि मेसु परिवर्तनको पक्षमा उभिएका हुन् । अस्पतालमा हुने अनियमितता तथा विकृतिहरुका बारेमा खरो रुपले प्रस्तुत हुने मेसु खनाललाई मन नपराएका अध्यक्ष भट्टराईले उपयुक्त समय खोजिरहेका बेला स्वास्थ्य मन्त्रालयका सचिव र मन्त्रीको समेत साथ पाएपछि सफल हुने देखिएका छन् ।

अस्पतालको बेथितीलाई लयमा ल्याउने योजना थालेका मेसु खनालसँग मन्त्रालयका केही कर्मचारी समूह, अस्पताल विकास समिति नेतृत्व तथा मन्त्रीसँगको लय नमिलेपछि उनलाई हटाउन थालिएको मन्त्रालय स्रोतहरुले दाबी गरेका छन् । भएगरेका सबै राम्रा नराम्रा कामहरु सहजै सार्वजानिक गरिदिने डा. खनालको प्रवृत्तिसँग असन्तुष्ट रहेका स्वास्थ्य मन्त्री श्रेष्ठ आफै खनाललाई हटाउन अग्रसर भएको स्रोतको दाबी छ ।

डा. खनाल अस्पताल प्रमुख भएर आएपछि वषौंदेखि कौडीको मुल्यमा भाडामा लगाईका सटरहरुको भाडा समायोजन, अस्पतालको स्तर बृद्धी, भौतिक संरचना तथा सर्वसाधारणमा सेवाको गुणस्तरीयतामा विकास, इमर्जेन्सी तथा आईसीयूको व्यवस्थापन, रेडियोलोजी बिभागको स्तर बृद्धी जस्ता देखिने कामहरु भएका छन् । कोरोना माहामारीका बेला टिम मेनेजमेण्ट गर्न सफल देखिएका अस्पताल प्रमुख डा. खनालले समयमा अक्सिजन प्राप्त हुन नसक्दा सरकारको आलोचना गरेका थिए । अक्सिजनको व्यवस्था नहुँदा संक्रमितको ज्यान जोखिममा परेको सार्वजानिक गरेपछि अक्सिजनको व्यवस्थापन गर्न सरकारलाई ठूलो दबाव परेको थियो । त्यसैको रिस फेर्न पनि उनलाई हटाउन थालिएको मन्त्रालयका एक कर्मचारीले बताए ।

डा. राजेन्द्र खनाल पहिलो पटक २०७२ सालमा अस्पतालको मेसु बनेका थिए । त्यतीबेला उनले अस्पताल अगाडी रहेको सटरहरुको भाडालाई नियमन गर्दै ४०–५० लाखमा सिमित आम्दानीलाई करोड बढीमा पुर्याएका थिए । दशौं तहमा रहेका उनी निमित्त मेसु रहेकै अवस्थामा ११ औ तहका डा. विकास देवकोटा सरुवा भएर आएपछि खनालले अस्पतालबाट बिदा लिएका थिए । लुम्बिनी अस्पताललाई सरकारले प्रदेश अन्तरगतको अस्पताल बनाउने निर्णय गरेपछि र डा. खनालले संघ रोजेसँगै उनको काठमाडौस्थित कान्ती अस्पतालमा पोष्टिङ समेत भएको थियो ।

अस्पतालमा भएको बेथितीलाई रोक्न तथा पहिलो कार्यकालमा डा. खनालले थालेका कामहरुको मुल्याँकन गर्दै एमाले उपमहासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलकै रोजाईमा २०७६ मंसिरमा डा. खनाललाई अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो । सरकारको क्याबिनेटको निर्णयबाट खनाललाई मेसु बनाइएको थियो ।

यस विषयमा बुझ्न खोज्दा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले घुमाउरो पारमा परिवर्तनको तयारी भएको स्विकार गरे । आवश्यकताको नियमानुसार जो जहाँ पनि पुग्न सक्ने बताउँदै उनले कानून सम्बत ढंगले हुने कुरालाई स्वभाविक ठान्न आग्रह गरे । कोरोना महामारीको दोस्रो भेरियन्टलाई मध्यनजर गरी आवश्यक निर्णय गरिने मन्त्री श्रेष्ठले उल्लेख गरे ।

यस विषयमा प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा अस्पतालका अध्यक्ष सुर्य भट्टराईको मोबाईल सुइच अफ गरिएको थियो ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।