ताजा अपडेट »

रुकुम पूर्वको ‘सुन्दर काक्री गाउँ’(तस्वीरसहित)

शनिबार, २३ साउन २०७८, १० : ०१
103 Shares

सुन्दर काक्री गाउँ रुकुम पूर्व भूमे गाउँपलिकाको सुन्दर गाउँ बस्तीहरु मध्ये एक हो । भूमे गाउँपलिका अन्तर्गत पूर्व पश्चिम मध्य पहाडी लोकमार्ग र सहिद मार्गको संगम स्थलमा पर्ने सुन्दर बस्ती हो । काँक्रीको त्रिवेणी यही बिन्दुबाट रोल्पादेखि हुँदै आएको सहिद मार्ग रुकुम पूर्व को तकसेरा, कोल, रांग्सी, हकम मैकोट जान छुट्टिन्छ भने रुकुम पश्चिमबाट हुँदै आएको पूर्व–पश्चिम मध्य पहाडी लोक मार्ग यो स्थान हुँदै बाग्लुङको बुर्तिबाङ र म्याग्दी हुँदै कास्की पोखरा निस्किन्छ ।

करिब ९० प्रतिशत मगर जाति र १० प्रतिशत दलित तथा अन्य जातिका व्यक्तिहरु यो समुदायमा बसोबास गर्दछन् भने पुर्खादेखि मान्दै आएका खाम मगर समुदायको विभिन्न संस्कृति तथा परम्परामा पनि यो समुदाय उत्तिकै धनि मान्न सकिन्छ । काँक्री लुम्बिनी प्रदेशको पूवी रुकुम भूमे गाउँपालिकामा अवस्थित एक गाउँ हो । पहाडी भूगोलमा रहेको काँक्रीको आफ्नै ऐतिहासिक भौगोलिक धार्मिक राजनीतिक र सामाजिक महत्व तथा विशेषता छ ।

साविकको काँक्री गाविस हाल गाउँपालिकाको एक गाउँ हो । पूर्वमा वाग्लुङ जिल्ला पश्चिममा रुकुमको मोरावाङ गाविस उत्तरमा कोल र तकसेरा गाविस र दक्षिणमा रोल्पा जिल्ला पर्दछन्। यस क्षेत्रबाट अविरल रूपमा वगिरहने लुकुम गाडको रूपमा चिनिने लुकुम खोलाको दक्षिण भूभागको सिमाङ्कन गर्दै जति शोभा बढाएको छ । त्यतिनै धौलागिरी अञ्चलमा पर्ने निसिभुजी पाटन र रोल्पा जिल्लाको उवालेकलाई सँधै यस गाविसले एकनास नियालीरहेको रमाइलो दृश्य छ।

काँक्रीमा तल अलिकति मैदानी भाग छ। त्यहाँ पहिले मानिसहरूले गाई गोरु बाँध्ने चराउने गर्दथ्ये। त्यही समुहबाट एउटा गोरु दिनहुँ गाउँको अलि माथी थुम्कोमा आई हुक्काउने गर्दथ्यो। गोरु हुक्काउनेलाई मगरखाम भाषामा कारी भनेको र त्यही थुम्कोमा पछि मानिसहरूले बस्ती-बसाउ गरेको पाइन्छ। पछि नाम अपभ्रंश हुँदै जाँदा कारीबाट काँक्री भएको हो भन्ने भनाई छ। सायद यसैको नामबाट गाउँ र पछि गाविसको नाम रहन गएको हुन सक्ने स्थानीय बुढापाकाहरूको भनाई छ।

कांक्रीमा समशितोष्ण कोणधारी र पतझर जंगल पाइन्छन्। धुपी सल्ला बाँझ खसु्र रईज फलाट गुराँस ओखर पांगर चाप काफल सल्लो उत्तीस कटुस टुनी बाँस निगालो अल्लो खतवरुवा आदि प्रजातिका वनस्पति पाइन्छन्। जहाँ बाघ भालु स्याल घोरल राते दुम्सी बँदेल थार जस्ता वन्यजन्तु र डाँफे कालिज चाकुरा तित्रा आदि पंक्षी पाइनछन्। यस गाविसमा पाइने जडिवुटिहरूमा कुसिलो टिमुर दालचिनी लोठसल्ला पाँचऔंले चिराइतो चटामसी पदमचाल्नो कुटुकी आदि हुन्। काँक्री गाविसको सामाजिक जनजीवनलाई हेर्दा यस गाविसमा मगर जातिको बढी मात्रामा बसोवास छ भने अन्य जातिहरूमा कामी दमाई सुनार आदिको बसोवास छ। यहाँ अधिकांश मगर जातिका मानिसहरू खाम भाषा बोल्दछन्। यहाँ नेपाली भाषा बेल्नेहरूको संख्या न्यून छ।

सिद्ध मन्दिर यहाँको प्रमुख धार्मिक स्थल हो। यस मन्दिरमा वैशाख पूर्णिमाका दिन मेला लाग्दछ भने चैते दशैमा पूजा आजा गरिन्छ। यसै दिन यहाँ स्थानीय मेला पनि लाग्ने गर्छ। यहाँ पुजा-आजा गर्दा र पुजारीसँग बर मागेमा सन्तान प्राप्त हुने विश्वास छ। त्यस्तै बाइसेचौविसे राजाहरूको किल्ला ढोराल ठाना र चन्द्र राजाहरूको राजधानी चन्द्रकोट यहाँका ऐतिहासिक महत्वका स्थानहरू हुन्। यहाँ मानिसहरूको मुख्य पेशा कृषि हो सहायक पेशाको रूपमा आय आर्जनका लागि यहाँका मानिसहरू भारत कोरिया लगाएतका देशमा जाने गर्दछन् ।

यहाँ मकै गहुँ जौं आलु फापर र कोदोको प्रमुख खेती गरिन्छ यस गाविसमा उत्पादन हुने नगदेबालीमा खोसा्रनी तोरी ओखर आदि हुन्। यहाँ पाइने फलफूलहरूमा कागती आरु आरुवखडा स्याउ र ओखर हुन् न यस गाविसमा पिडालु सिमी बोडी काँक्रो फर्सी मुला र लसुन जस्ता ताजा तरकारी उत्पादन हुनछन्। यहाँ राम्रो िसञ्चाईको व्यवस्था नभएतापनि साना सिञ्चाई कुलोबाट नै पाखोवारीको जमीनमा िसञ्चाई गरिन्छ। काँक्री वगर काँक्रीमा केही पर्यटकीय महत्त्वका स्थानहरू पनि छन् ।

ती मध्य रोगा धुरीदेखि निसी लेकसम्मको लेकाली भाग चौरीखर्क र जरखान झरना प्रमुख हुन्। रोगा धुरीदेखि निसी लेकसम्मको लेकाली भाग अत्यन्तै रमनीय रहेकोले पर्यटकहरूको आकर्षकको थलो हुने देखिन्छ। यहाँबाट हिमालको रमणीय दृश्य हेरेर आनन्द लिन सकिन्छ चौंरीखर्क यस गाविसमा रहेको अर्को पर्यटकीय महत्वको स्थान हो। यहाँ खास गरी वर्षा याममा पशुहरू चराउने बुकी पाटन भएको र यस स्थानमा बुकी लगायतका विभिन्न जातका फलफूल फुल्ने भएकोले अति रमणीय हुनुका साथै यो भूभाग अग्लो स्थानमा रहेकोले चारैतिर देख्न सकिन्छ।

यहाँको जरखान झरना करिब १५० मिटर माथीबाट खस्ने भएकोले यो अत्यन्तै रमणीय छ। समग्रमा हेर्दा सदरमुकाम खलंगाबाट १८ कोष टाढा रहेको काँक्री दूरी गत हिसाबले जति टढा छ विकासको नजरमा पनि उति नै टाढा छ। यहाँ शिक्षा स्वास्थ्य यातायात रोजगारी खानेपानी सिञ्चाई जस्ता मानवीय आवश्यकताका पक्षहरू यस कमजोर छन्। काँक्रीको मानसिको जीवन स्तर उकास्न विकासका पूर्वाधारहरूमा सम्बन्धीत निकायको गतिलो पाइला पर्नु आवश्यक छ।

कांक्रीको अर्को महत्वपूर्ण विशेष्ता हो ,घरायसी तथा आर्थिक मामिलामा महिलाहरु अगाडि छन् । यहाँका पुरुषहरुले महिलासँग मागेर खर्च गर्ने गर्छन् । काँक्रीका मगर समुदायमा आर्थिक रूपमा महिला नै सर्वेसर्वा रहँदै आएका छन्। श्रीमान र छोराहरूको कमाइका साथै भेडाबाख्रा, खसीबोका, अन्नपात, जडीबुटी र राडीपाखी बेचेर हुने आम्दानी पनि महिलाले नै राख्छन्।

पुरुषले आफूले कमाएको पैसा आमा, आमा नभए जेठी दिदी, जेठी भाउजु वा घरबाट छुट्टिएर बसेको भए श्रीमतीलाई राख्न दिने चलन रहेको उनीहरू बताउँछन्। विशेषगरि खामभाषी मगर समुदायमा मातृसत्तात्मक प्रणाली झल्कने गरेको बताइन्छ। जग्गाजमिन, पशु चौपाया किनबेच गर्दा होस् वा छोराछोरीको विवाह गर्दा वा ऐँचोपैँचोमा महिलाकै निर्णय अन्तिम हुन्छ।-विकिपिडिया,विविसिको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।