ताजा अपडेट »

कोरोनाको जोखिम बढेपछि गुल्मीमा 'तपाईको मास्क खै ?' अभियान सुरु

विहीबार, २१ साउन २०७८, १७ : २०
6 Shares

गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउछु, अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ बिहीबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

अभियान अन्तर्गत सुरुको दिन मास्क नलगाई हिड्नेलाई माक्स वितरण गरिएको र अन्य दिनहरुमा मास्क नलगाई हिड्नलाई कारवाही गरिने शर्माले बताइन् । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दुरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको शर्माले बताइन् । मास्क खै अभियानमा जिल्ला स्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्ड सहित बजार परिक्रमण गरिएको थियो ।

विश्वभर कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा र्याली गर्न रोक लगाएको छ । जिल्लामा साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लागाउको संख्या ४३ हजार २६१ जना रहेका छन् । दोस्रो मात्राको खोप लगाउनेको संख्या ९ हजार ८९ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।