ताजा अपडेट »

उद्योगमा लगानी बढाउँदै पाल्पाली

सोमबार, १८ साउन २०७८, १२ : २१
8 Shares

रामपुर (पाल्पा) ।पछिल्लो समय उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि उद्योग खुल्ने क्रम बढिरहेको छ ।घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा आर्थिक वर्ष २०७७/७८ मा ६१९ उद्योग र ३८३ वटा वाणिज्य फर्म गरी जम्मा एक हजार दुई फर्म दर्ता भएको पाइएको छ । यहाँ दर्ता भएका उद्योग तथा फर्मबाट रु ६५ लाख राजश्व सङ्कलन भएको छ । दर्ता भएका उद्योगहरूमध्ये अधिकांश प्राइभेट उद्योग रहेका छन् भने केही साझेदारी र प्रालि उद्योग छन् ।

उत्पादनमुलक ५१, कृषि तथा वनजन्य ४२८, पर्यटन र सेवामूलक ७०/७० वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए । पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । यसवर्ष दर्ता भएका उद्योगमध्ये २९८ महिलाको नाममा छन् । जुन अघिल्लो आवभन्दा बढी हो । पुरुषको नाममा ३८९ उद्योग दर्ता भएको उद्यम विकास सहजकर्ता घिमिरेले जानकारी दिए । वाणिज्य फर्मतर्फ दर्ता भएका फर्महरूमा अधिकांश किराना पसल रहेको पाइएको छ ।

आव २०७७/७८ मा दर्ता भएका उद्योगमा रु एक अर्ब २१ करोड ४३ लाख लगानी गरेका छन् भने वाणिज्य फर्महरूको रु ५४ करोड ८१ लाख लगानी परेको छ । दर्ता भएका उद्योगमा दुई हजार ३३६ जनाले रोजगारी प्राप्त गरेका छन् । यसैगरी कार्यालयमा आव २०७७/७८ मा उद्योग ४६० र वाणिज्य फर्म ६६१ गरी जम्मा एक हजार १२१ फार्म नवीकरण गरिएको छ । एक सय दुई उद्योग र १४३ वाणिज्य फर्म गरी जम्मा २४५ लागत कट्टा भएका छन् भने पुँजी वृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारीलगायत एक हजार १०१ वटा कार्य भएका छन् ।

उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुई/दुई वर्षको अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीन/तीन वर्षको अवधिमा उद्योग दर्ता गर्ने व्यवस्था छ ।पछिल्लो क्रममा प्रदेश सरकाले जारी गरेको कानून बमोजिम पाँच लाखभन्दा कम पुँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने सङ्ख्या वृद्धि भएको हो । प्रदेश सरकारले कोभिडको कारणले विदेशबाट फर्केका युवालाई उद्योग दर्तामा पूर्ण छुट दिएकाले गत आवमा जिल्लामा उद्योगीको सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख उद्योग अधिकृत देवीराम भण्डारी बताउछन।

प्रदेश सरकारबाट प्राइभेट फर्म ऐन, २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी वर्षेनी बढ्दै गएका हुन् । “नागरिक आयआर्जनमूलक क्षेत्रमा आफैँ सचेत भएका कारणले पनि उद्योग क्षेत्रमा लगानी गर्न थालेका छन्, पछिल्लो समय पाल्पामा उद्योगमा धेरैले लगानी गरेर व्यवसाय बन्ने क्रम बढेको छ”, अधिकृत भण्डारीले भने।

उनका अनुसार दर्ता भएका उद्योगमध्ये बढीमा ८० प्रतिशतले कृषि उद्योग छन् । वार्षिक कार्यक्रमबाट यस वर्ष घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न नौ वटा तालीम सञ्चालन गरेर ९० जनालाई सीप विकास तालीम प्रदान गरेको छ ।

कार्यालयले जिल्लाका ६२ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको छ भने पाल्पाका उद्यमीले उत्पादन गरेको वस्तुको बजारीकरणका लागि पर्यटकीय स्थान सिद्धबाबामा कोसेली घर सञ्चालनमा ल्याएको छ । अदुवा उत्पादन हुने पूर्वी पाल्पामा अदुवा प्रशोधन गर्ने उद्देश्यले निस्दी गाउँपालिका–५ स्थित ढुङ्गानावेशीमा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारीलाई अदुवा प्रशोधन उद्योग स्थापना गर्न मेसिनरी सामग्री सहयोग गरेको छ ।

जिल्लाका १० वटै पालिकाका दुई/दुई विद्यालयमा उपभोक्ता जागरण शिक्षा सञ्चालन कार्यक्रमबाट एक हजार बढी लक्षित वर्गका नागरिक लाभान्वित भएका छन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिलाहरू हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् । महिलालाई उद्योग दर्तामा छुट दिएकाले हालसालै रामपुरमा आकाङ्क्षा किराना स्टोर्सका नाममा उद्योग दर्ता गरेको आकाङ्क्षा घिमिरे बताउछन ।

उनी भन्छन, “महिलाका नाममा ५० प्रतिशत दर्ता छुट हुन्छ भन्ने सुनेपछि नयाँ आर्थिक वर्ष शुरु भए लगत्तै घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर मेरो आफ्नै नाममा व्यवसाय दर्ता गरी अब पसल चलाउने तयारी गरेको छु” । आव २०७६/७७ मा ४०० सात नयाँ उद्योग थपिएका छन् । जसमा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वनजन्यमूलक १५५, पर्यटनमूलक १४८, सेवामुलक ६२ उद्योग दर्ता भएका छन् । महिलाको नाममा १८१ र पुरुषको नाममा २४३ उद्योग दर्ता भएको पाइएको छ ।

आव २०७५/७६ मा उत्पादनमूलक ५२, कृषि तथा वनजन्यमूलक १११, पर्यटनमूलक ९७ र सेवामूलक ११० गरी जम्मा ३७० उद्योग थपिएका थिए जसमा ९६ जना महिला उद्यमी रहेका छन् । यहाँ दर्ता भएका उद्योगमा साझेदारीका उद्योगमा रु ५० लाख र प्रालि तर्फका रु एक करोड र कृषि उद्योग रु १५ लाखदेखि २० लाखसम्म दर्ता भएको पाइएको छ । घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारीको अवसर मिलेको छ । कार्यालयले लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार रहेको छ ।

दश करोडसम्म पुँजी भएका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोडसम्म पुँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ । दश करोड माथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।रासस

रासस
लेखकको बारेमा
रासस