ताजा अपडेट »

व्यावसायिक बन्दै टिमुर खेती

आइतबार, १७ साउन २०७८, २० : १८
8 Shares

दाङ । दाङमा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक टिमुरको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको पहाडीमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जंगली जनावरका कारण मकैलगायतका खेती गर्न नसकेका किसानहरूले पछिल्लो समय टिमुरको व्यावसायिक खेतीतर्फ लागेका हुन् ।

टिमुर खेतीसँगै उत्पादन समेत बढ्दै गएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार गत वर्ष जिल्लाबाट एक लाख ७७ हजार पाँच सय किलो टिमुर निर्यात भएको छ । एक लाख ३७ हजार किलो निजी वन र राष्ट्रिय वनबाट ४० हजार पाँच सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए । उनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा टिमुर ९६ हजार सात सय ४५ केजी निर्यात भएको थियो । उक्त तुलनामा गत वर्ष जिल्लामा करिब-करिब दोब्बर ८० हजार केजी टिमुर वृद्धि भएको कार्यालयले जनाएको छ । विगतको तुलनामा जिल्लामा टिमुरको उत्पादन बढेसँगै निर्यात समेत बढ्दै गएको कार्यालयले जनाएको छ ।

टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावना युक्त क्षेत्र भएको भन्दै डिभिवन वन कार्यालय दाङले बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडालाई गत वर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ । पकेट क्षेत्रमा टिमुरसँगै मालागेडी र दालचिनीका एक लाख ८४ हजार विरूवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी विरूवा टिमुरका मात्रै रहेका छन् ।

‘पहाडी क्षेत्रमा थोरै–थोरै बोट प्रायः सवै किसानका घरहरूमा छन्, त्यसले मात्र किसानको जीवन स्तरमा परिवर्तन हुन सक्दैन’–सहायक वन अधिकृत चौधरीले भने ‘जडिबुटीका माध्यमबाट किसानको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि ठूलो स्केलमा जुडिबुटी खेती गर्नुपर्छ भनेर अहिले बढाउँदै लगेका छौँ, जसले गर्दा अहिले धेरै किसानहरूले विरूवा रोप्न थाल्नुभएको छ ।’

कार्यालयका अनुसार टिमुरसँगै अन्य जडिबुटीहरूको समेत जिल्लाबाट निर्यात बढेको छ । जसअनुसार मालगेडी ६० हजार केजी, रिठा ३५ हजार पाँच सय ८० केजी, अमला ११ हजार दुई सय केजी, काउलोको बोक्रा ५२ हजार एक सय ५० केजी, तेजपात ६७ हजार तीन सय केजी, लहरे गुर्जो एक हजार तीन सय केजी, टिगडी ५ हजार चार सय ५० केजी जिल्ला बाहिर निर्यात भएको सहायक वन अधिकृत चौधरीले बताए ।

उनकाअनुसार अन्य अल्लोको बोक्रा दुई सय केजी, पाखनवेद ९ हजार केजी, सुगन्धवा पाँच सय केजी, गत्रो सात हजार १५ केजी, बर्रो ५ हजार केजी, हर्रो ४ हजार केजी, धाइराको फूल एक हजार पाँच सय केजी, भृगराज एक हजार पाँच सय, दूधेलहरो एक हजार पाँच सय, ब्राह्मी एक हजार पाच सय, बेलचना तीन हजार केजी र चत्रोको बोक्रा पाँच हजार केजी निर्यात हुँदा सात लाख १७ हजार दुई सय ५० रूपैयाँ राजश्व संकलन भएको बताए ।

वन कार्यालयले राष्ट्रिय वनबाट संकलित जडिबुटीहरूको निर्यातमा राजश्व लिने गरेको छ भने निजी वनबाट संकलित जडिबुटीमा राजश्व नलिने गरेको सहायक वन अधिकृत चौधरीले बताए । जिल्लामा ८९ हजार चार सय १७ हेक्टर वनमध्ये एक सय ६० हेक्टर वन क्षेत्रमा जडिबुटी खेती हुने गरेको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी