ताजा अपडेट »

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

आइतबार, १७ साउन २०७८, १३ : ५४

गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले प्रवर्द्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलापसमेत पुनःठप्प बनेको पर्यटन अझै सुनसान छ ।

पर्यटनलाई पुनःचलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउँछन् । “पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ”, उनले भने ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।