ताजा अपडेट »

लमजुङका किसान कोदो रोप्न व्यस्त

मंगलबार, १२ साउन २०७८, १४ : १२
32 Shares

लमजुङ । कोरोना सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाबीच यहाँका किसान यतिबेला कोदो रोप्न व्यस्त छन् । समयमै पानी परेकाले धान र कोदो रोप्न सहज भएको हो । हालसम्म जिल्लाभर करिव ३५ प्रतिशत जमीनमा कोदो रोपिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले जिल्लाभर नै कोदो रोप्न थालिएकामा चिसो ठाउँ, मकैबारीभित्र र मकै भाँचिसकेका बारीमा पनि किसानले कोदो रोपिरहेका छन् भने ।

दोर्दी गाउँपालिका–३ का किसान बुद्धिमान श्रेष्ठले भन्नुभयो, “धान रोपेर बसेका यहाँका किसानलाई कोदो रोप्न भ्याइनभ्याइ छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेलामा त्यसको डरभन्दा पनि कोदो रोप्ने चिन्तामै किसान रुमल्लिएका छन् ।” दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका कुमार तामाङले साउनको पहिलो हप्ताबाटै कोदो रोप्न थालिएको बताए । उनले भने, “खेतीपातीको समय भएकाले धान रोपाइँ सक्नासाथ कोदो रोप्न व्यस्त छु ।”

मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी शान्तिमाया तामाङले पनि कोदो रोप्दा रोप्दै दिनबित्ने गरेको र अहिले पर्म तिर्नका लागि पनि रोप्न जानुपरेको बताए । आलोपालो गरेरै यहाँका किसान कोदो रोप्ने गरेका छन् । कार्यालयका प्रमुख रोहीणीराज घिमिरका अनुसार जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायत गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार ९१९ हेक्टर जमीनमा कोदो रापाइँ हुँदै आएकामा करीब ६ हजार १६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको उनको भनाइ थियो ।

रासस
लेखकको बारेमा
रासस