ताजा अपडेट »

चितवनमा एक हजार सात सय कृषि उद्योग दर्ता

मंगलबार, १२ साउन २०७८, १३ : ३५
14 Shares

चितवन । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकामा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको सङ्ख्या अन्य क्षेत्रको भन्दा बढी भएको जानकारी दिनुभयो । पछिल्ला वर्षमा त्यस्ता उद्योग दर्ता हुने क्रम बढ्दो रहेको उनको भनाइ छ ।

त्यस्ता उद्योगमा अनुदान र सहुलियत ऋण उपलब्ध हुनाले उद्योग दर्ता हुने क्रम बढेको हो । अन्य व्यवसायभन्दा कृषिजन्य व्यवसाय जोखिम कम हुने र सजिलै गर्न सकिने हुँदा विदेशबाट फर्किएर पनि उद्योग सञ्चालन गर्ने गरेको पाइन्छ । निषेधाज्ञाका कारण विदेश जान रोकिएकाहरुले पनि उद्योग दर्ता गरेका छन् । उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषिका ऋणमा अनुदान र व्यवसायमा पनि सहुलियत पाइने हुँदा धेरैको ध्यान कृषि उद्योगमा गएको हो । उनले भने, “कृषि नै गर्दा त राम्रो हो तर कृषिको नाममा अनुदान लिएर अन्य काम गर्ने धेरै छन् ।” यस जिल्ला कृषिका लागि राम्रो भएको जनाउँदै अनुदानलाई कृषिमा नै प्रयोग गर्न कँडेलले सुझाव दिए । कुखुरापालन, पशुपालन, तरकारी खेती जस्ता काम गर्नका लागि कृषिजन्य उद्योग दर्ता हुने गरेका छन् । कुखुरापालनमा चितवन देशकै अग्रणी जिल्ला हो । दूध उत्पादनमा स्थानीय तहमा भरतपुर महानगर पहिलो हो ।

त्यसैगरी तरकारी, केरा, मौरीपालन लगायतमा जिल्ला अग्रणी मानिन्छ । जिल्लामा सबैभन्दा कम एउटा मात्र उद्योग ऊर्जामूलक उद्योग दर्ता भएको छ । यसैगरी सेवामूलक २९०, उत्पादनमूलक २४५, पर्यटनमूलक १५८ उद्योग दर्ता छन् । गत आर्थिक वर्षमा जिल्लामा खनिजजन्य , निर्माणमूलक र विज्ञान तथा सूचना प्रविधिजन्य शीर्षकमा भने उद्योग दर्ता भएका छैनन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको स्थिर पूँजी रु दुई अर्ब ९६ करोड ९६ लाख ३२ हजार, चालू पूँजी रु दुई अर्ब ६६ करोड २३ लाख ९३ हजार र कूल पूँजी रु पाँच अर्ब ६३ करोड २० लाख २५ हजार कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु १६ अर्ब १३ करोड ३६ लाख बराबर छ ।

रासस
लेखकको बारेमा
रासस