ताजा अपडेट »

रुपन्देहीबाट ३ हजार ३२५ जना अपराधी फरार

आइतबार, १० साउन २०७८, १९ : २९
6 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुरु गरेको फरार अपराधी विरुद्धको अप्रेशनमा ३ महिनामा २ दर्जन भन्दा बढी अपराधी पक्राउ परेका छन् । प्रहरीले विभिन्न अपराध गरी फरार रहेका अपराधीलाई पक्राउ गर्न ५ प्राथमिकतामा वर्गिकरण गरी यसै बैशाख १ गतेदेखि सो अभियान सञ्चालन गरी त्यस्ता अपराधीहरुको खोजतलास गरिरहेको छ ।

जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका अपराधीलाई प्रहरीले पहिलो प्र्राथमिकतामा राखेको छ । यस्तै दोस्रो प्राथमिकतामा जघन्य र गम्भीर अपराधमा संलग्न ३ देखि १० वर्षसम्म सजाय भएका फरार अपराधीहरु, तेस्रो प्राथमिकतामा ३ वर्षसम्म सजाय भएका फरार अभियुक्तहरु, चौथोमा ३ वर्ष भन्दा कम सजाय र पाँचौमा कोरोना महामारीमा जघन्य अपराध गरेका अपराधीलाई प्राथमिकतामा राखेर अपे्रशन सुरु गरिएको छ ।

विभिन्न अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनिकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले फरार अपराधी बिरुद्धको अप्रेसन सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

अप्रेशन अन्तर्गत रुपन्देही जिल्लामा अपराध गर्ने, अपराध पश्चात् रुपन्देही जिल्लामा बस्ने वा अन्य स्थानमा रहेका अपराधीहरुलाई पहिलो प्राथमिकतामा राखी अप्रेशन सञ्चालन गरिएको र अन्य जिल्लामा अपराध गरी यस जिल्लामा रहेका अपराधमा संलग्न ब्यक्तिहरुलाई सम्बन्धित प्रहरी कार्यालयहरुमा समन्वय गरी खोजतलास र पक्राउ गर्ने कार्य गरिएको प्रवक्ता थापा बताउँछन्।

२५८ वर्ष ४ महिना २७ दिन कैद
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सो अप्रेशनमा धेरै कर्तव्य ज्यानका परार अपराधीहरु रहेका छन भने अन्य सवारी ज्यान, भ्रष्टचार जन्य, जवर्जस्ती करणी, लागुऔषध, अप्राकृतिक मैथुन र बैकिङ्ग कसुरका रहेका छन् ।

हालसम्म पक्राउ परेकामा कर्तव्य ज्यानका ११ जना, लागु औषध र बैकिङ्ग कसुरका ४–४ जना, जवर्जस्ती करणीका ३ जना, भष्ट्रचार जन्य, जालसाँजी, सवारी ज्यान र अप्राकृतिक मैथुनका १–१ जना रहेका छन् ।

पक्राउ पर्नेहरु १ हजारदेखि ३६ लाख जरिवाना र ५ वर्ष कैद सजायदेखि सर्वस्वसहित जन्म कैदको सजाय रहेका फरार अपराधीहरु छन् । उनीहरुबाट जम्मा २५८ वर्ष ४ महिना २७ दिन कैद र ६७ लाख २४ हजार बिगो जरिवाना भुक्तान गर्न बाँकी रहेका अपराधीहरु रहेको प्रवक्ता थापाले बताए ।

अझै ३ हजार ३२५ फरार
रुपन्देहीमा विभिन्न समयमा अपराध गरी जरिवाना वा कैद भुक्तान नगरी फरार रहने अझै ३ हजार ३२५ बाँकी रहेका छन् । जसमध्ये ६४ जना विदेशी नागरिक रहेका छन् ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार (उप–सचिव) शोभाखर खरेलका अनुसार उक्त फरारहरुको संख्या विं.स. २०४५ सालदेखि हो । ‘कैद भुक्तान गर्न बाँकी रहेका फरार अपराधीहरु वि.स. २०४५ सालदेखिका रहेका छन् ।’ श्रेस्तेदार खरेलले भने ‘जरिवाना बाँकी रहेका भने विं.स. २०५५ सालदेखिका रहेका छन् ।’ फरार रहेकाहरु मध्ये कैद भुक्तान गर्न बाँकी रहेका अपराधीहरुको संख्या ३११ रहेको श्रेस्तेदार खरेलले बताए ।

यस्तै जरिवाना तिर्न बाँकी रहेका १ हजार ७५१, कैद र जरिवाना दुबै भुक्तान गर्न बाँकी रहेका फरारहरुको संख्या १ हजार १९९ रहेको खरेलले जानकारी दिए । फरार रहेकाहरुबाट ४७ करोड ४० लाख २० हजार ७ सय २७ रुपौँया ४० पैसा जरिवाना बिगो भुक्तान गर्न बाँकी रहेको छ भने उनीहरुबाट ३१ सय ६९ वर्ष ११ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको खरेलले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।