ताजा अपडेट »

बुटवल उपमहानगरले गत वर्ष तय गरेका ७० प्रतिशत नयाँ योजना अपूरै

शुक्रबार, ०८ साउन २०७८, १८ : ३०
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले गत वर्ष तय गरेका ७० प्रतिशत नयाँ योजना अपूरै रहेका छन् । गएको आर्थिक वर्ष २०७७/७८ मा तय गरिएका नयाँ योजना मध्ये २९ दशमलव २९ प्रतिशत योजना मात्रै सम्पन्न भएका छन् । विश्वव्यापी कोरोना महामारीले अघिल्लो आर्थिक वर्ष बाँकी रहेका योजनाहरुलाई नै कार्यान्वयन गर्न जोड दिएको उपमहानगरले नयाँ योजनाहरुलाई कार्यान्वयन गर्न असफल रहेको हो । गत आर्थिक वर्षमा तय गरिएका ५५३ योजनाहरु मध्ये १६२ वटा योजना मात्रै सम्पन्न भएका छन् भने ३९१ योजना बाँकी रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बाँकी रहेका योजनाहरुलाई नै कार्यान्वयन गर्न जोड दिएका कारण गएको आर्थिक वर्षमा तय गरिएका नयाँ योजनाहरुलाई कार्यान्वयन गर्न नसकिएको उपमहानगरले बताएको छ । विश्वव्यापी कोरोना महामारीका कारण एक वर्ष अघि नै सक्नु पर्ने योजनाहरुलाई गएको आर्थिक वर्ष भित्र अर्थात असार मसान्तसम्म सक्नेगरी म्याद थप भए पनि ती योजनाहरु समेत २० प्रतिश अझै बाँकी रहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा स्थगित भई गत आर्थिक वर्षका लागि सारिएका २८९ योजनाहरु मध्ये २५९ योजना सम्पन्न भएका छन् भने ३० वटा योजना अझै बाँकी छन् । उपमहानगरमा अघिल्लो आर्थिक वर्ष बाँकी रहेका र गएको वर्ष तय गरिएका गरी कुल ८४२ योजनाहरु थिए । दुई आर्थिक वर्षका कुल योजना मध्ये ४२१ योजना अर्थात ५० प्रतिशत मात्रै सम्पन्न भएका छन् ।

आधा बढी योजना बाँकी रहेको अवस्थामा यो वर्षका लागि तय गरिएका थप योजनाहरु कार्यान्वयन गर्न उपमहानगरलाई मुस्किल पर्ने देखिन्छ । कोरोना महामारीका कारण लकडाउन तथा निषेधाज्ञाले गतिविधि शून्य भएपछि अघिल्लो आर्थिक वर्षमा बाँकी रहेका योजनाहरुलाई गएको आर्थिक वर्ष २०७७/७८ को मंसिर मसान्त भित्र सक्ने योजना बनाएको उपमहानगरले विभिन्न चरणमा समय थप गर्दै आए पनि सतप्रतिशत सफलता हासिल गर्न सकेन । उपमहानगरले बाँकी योजनाहरुका लागि पहिलो पटक पौष मसान्त, दोस्रो पटक फागुन र तेस्रो पटक चैत्र मसान्तसम्म सक्ने गरी अवधि थप गरेको थियो । अन्तिम पटक बैशाख १५ गतेसम्मका लागि पूराना योजनाहरुलाई अवधि थप गरेको थियो । यस वर्ष पनि सुरुवातमै कोरोना महामारीको दोस्रो लहरको प्रभाव देखिएपछि वैशाखदेखि नै निषेधाज्ञा लागूगर्दा बाँकी रहेका पुराना योजनाहरु सम्पन्न हुन सकेनन् ।

तय गरिएका योजनाहरु मध्ये उपभोक्ता समिति मार्फत हुनुपर्ने योजना कार्यान्वयनको अवस्था कमजोर देखिएको छ । उपभोक्ता समतिले जिम्मा लिएका पुराना २३२ योजनाहरु मध्ये २० वटा योजना बाँकी रहेका छन् भने नयाँ ५०१ योजना मध्ये ३६० योजना बाँकी रहेका छन् । उपभोक्ता समितिले गत आर्थिक वर्षमा दुई आर्थिक वर्षका ७३३ योजना सम्पन्न गर्नु पर्ने भए पनि ३५३ योजना मात्रै सम्पन्न भएका छन् । उपभोक्ता समिति मार्फन गर्नु पर्ने ३८० योजना सम्पन्न हुन सकेका छैन । विश्वव्यापी कोरोना महामारी र जनसहभागिता लगायत कारण योजना कार्यान्वयनको अवस्था मजोर देखिएको उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णु खनालले बताए । महामारीले गतिविधि सुन्य भएको अवस्थामा योजनाका कामहरु गर्न पनि सम्भव नभएका कारण कार्यान्वयनमा समस्या देखिएको उनले उल्लेख गरे ।

यसैगर समिति मार्फत हुने काममा जन सहभागिता, आर्थिक सहभागिता लगायत कारणले पनि कार्यान्वयन केही कमजोर देखिएको उनले बताउँछन् । बुटवल उपमहानगर ठेक्का प्रक्रियाबाट गरेका योजनाहरु उपभोक्ता समितिहरु मार्फत भएका कामको तुलनामा सन्तोष जनक देखिए पनि गत वर्षका नयाँ योजनाहरुको कार्यान्वयनको अवस्था भने कमजोर नै देखिन्छ । ठेक्का प्रक्रियाका लागि तय गरिएका ५२ योजना मध्ये २१ वटा योजना मात्रै सम्पन्न भएका छन् भने ३० वटा योजना बाँकी रहेका छन् ।

त्यसैगरी अघिल्लो वर्ष बाँकी रहेका ५७ योजना मध्ये ४७ वटा योजना सम्पन्न भएका छन् भने १० वटा योजना बाँकी रहेका छन् । उपमहानगरले अघिल्लो आर्थिक वर्ष तय गरेका ४८ वटा दरभाउ पत्र तथा बोलपत्र सम्बन्धि, ८ वटा सेवा परामर्श सम्बन्धि र एक कोटेशन सम्बन्धि गरी ५७ वटा बाँकी रहेका थिए ।

यसैगरी नयाँ योजनाहरु मध्ये ३४ वटा दरभाउपत्र तथा बोलपत्र सम्बन्धि, ८ वटा सेवा मरामर्श सम्बन्धि र ११ वटा कोटेशन सम्बन्धि रहेका थिए । कोटेशन सम्बन्धिका नयाँ र पुराना गरी कुलन ११ वटै योजना सम्पन्न भएका छन् भने सेवा मरामर्श सम्बन्धि नयाँ र पुराना गरी १२ वटा कार्यान्वयन भए पनि ४ वटा बाँकी रहेका छन् । यसैगरी दरभाउपत्र तथा बोलपत्र सम्बन्धि कुल ३७ वटा योजना बाँकी रहेका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।