ताजा अपडेट »

गुरुपूर्णिमाको अवसरमा दीपमा अभिभावक कविता प्रतियोगिता

शुक्रबार, ०८ साउन २०७८, ११ : ३२
4 Shares

बुटवल । बुटवल–८ सुख्खानगरमा स्थित दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते अभिभावक कविता वाचन प्रतियोगिता गर्ने भएको छ।

कोरोना महामारीको दोस्रो लहरको संक्रमणको जोखिम रहेका कारण जुम एप मार्फत् भर्चुअल रूपमा दिउँसो २ बजे सुरु हुने प्रतियोगितामा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावक आमाबुबाले मात्र भाग लिन पाउने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए।

प्रतियोगितामा भाग लिन चाहने अभिभावकले साउन ७ गते ४ बजेसम्म नाम दर्ता गर्नुपर्ने र नाम दर्ताका लागि विद्यालयका कक्षा शिक्षक, कार्यक्रम संयोजक वा विद्यालयमा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ। दर्ता निःशुल्क हुनेछ ।

बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र पुरस्कार वितरण नतिजा आइसकेपछि विद्यालयमा गरिने उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले बताए ।

गुणस्तरीय र संस्कारयुक्त शिक्षामा जोड दिइरहेको यस विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।