ताजा अपडेट »

दोदा नदीले उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयवासी चिन्तित

शुक्रबार, ०८ साउन २०७८, ११ : २०
4 Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो । स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पुर्याउन थालेको स्थानीयवासी मङ्गलप्रसाद चौधरीले बताए ।

“दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ”, उनले भने, “जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ ।” उनका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ । दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पुर्याएको छ ।

विगतमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरेको थियो । नदीको धार परिवर्तन भई जैविक तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटान अधिक हुन थालेको छ । “विपद् व्यवस्थापन समितिमा आबद्ध समुदायका व्यक्तिहरुले संरक्षण गरेको बगर बनेको छ” स्थानीयवासी रामदास रानाले भन्नुभयो, “बगर नदीले कटान गरी बगाएपछि स्थानीय बासिन्दाले उखु र धानखेती गरेको उब्जाउ जग्गासमेत बगाउन थालेको छ ।”

नदीले उब्जाउ जग्गा कटान गर्न थालेपछि निकै चिन्तित भएको उनले बताए । नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्ती नै बग्ने खतरा बढेको छ । बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा छन् । तटबन्ध निर्माणका लागि जल उत्पन्न तथा सिँचाइ डिभिजन कार्यालयमार्फत पटक–पटक अनुरोध गरे पनि लकडाउनको कारण देखाउँदै तटबन्ध निर्माण अगाडि नबढाइएको स्थानीय बासिन्दाको गुनासो छ ।

“बर्सात हुने दिन अझै बाँकी नै छन्” स्थानीयवासी बालसुग्रिब रानाले भन्नुभयो, “खेती गरेको जग्गा नदीले कटान गरी बगाउन थालेपछि भोकमरीको समस्या खेप्नुपर्ने बाध्या त छ नै, नदी नियन्त्रणका लागि पहल नभए बस्ती नै विस्थापनमा पर्ने भएको छ । परिवार लगेर कुन ठाउँमा गएर बस्ने अर्को पिरलो छ ।”

विसं २०६४ मा नदीको बाढीले यस क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापनमा परेका थिए । नदी नियन्त्रणका लागि स्थानीय बासिन्दाले रेडक्रससँग मिलेर जैविक तटबन्ध निर्माण गरी बगर संरक्षणमा जोड दिएका थिए । नदीको जोखिम रहेका क्षेत्रमा बाँसको तटबन्ध निर्माण गरी बगरमा घाँस रोपेर जग्गा कटानी हुने कार्य रोकेका थिए । हाल त्यही क्षेत्रमा नदी बहाव बढ्दा कटान हुन थालेको छ । स्थानीय बासिन्दाले तारजाली र ढुङ्गाको स्थायी प्रकृतिको तटबन्ध निर्माण गरी बस्ती जोगाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस