ताजा अपडेट »

कक्षा १२ को परीक्षा साउन अन्तिम हप्ता गर्ने तयारी

सोमबार, ०४ साउन २०७८, १५ : ५६
6 Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए । ‘निर्णय गरिएको कपी हामीसम्म आइपुगेको छैन । भोलिसम्म आइपुग्ला त्यसपछि बोर्डको बैठक बसेर निर्णय गर्छौं । साउन चौथो हप्ताभित्र गर्छौं’ उनले भने ।बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

बोर्डले गतवर्ष समय र अंकभार घटाएर परीक्षा लिएको थियो  । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।