ताजा अपडेट »

लक्षित समूहको संख्याभन्दा कम खोप आउँदा रुपन्देहीमा खोप अभियान भद्रगोल

शनिबार, ०२ साउन २०७८, १७ : १७
4 Shares

बुटवल । रुपन्देहीमा कोरोना संक्रमण विरुद्धको खोप वितरण भद्रगोल भएको छ । सरकारले मागभन्दा कम खोप उपलब्ध गराएपछि खाेप अभियान भद्रगोल भएको हो । स्वास्थ्यमन्त्रालयले नै खोप प्राप्त गर्ने लक्षित वर्गहरु छुट्याएर वितरणका लागि निर्देशन गरेपनि सोही अनुसार खोप स्थानीय निकायहरुमा नपठाउँदा समस्या भएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

स्वास्थ्य मन्त्रालयले साउन १ गतेदेखि ५५ वर्षदेखि ६२ वर्ष उमेर समूहका, यसअघि खोप लगाउन छुटेका ६२ वर्ष माथिका नागरिक तथा शिक्षकहरुलाई खोप उपलब्ध गराउन निर्देशन गर्दै स्थानीय निकायहरुमा खोप पठाएपनि प्रयाप्त नभएपछि वितरण भद्रगोल भएको प्रवक्ता रेग्मीले बताए । ‘बुटवल उपमहानगरमा मात्रै सरकारले उल्लेख गरेको लक्षित समूह अन्तरगतका जनतालाई भ्याक्सिन लगाउन कम्तिमा २० हजार डोज आवश्यक पर्छ ।’–ग्लोबल आवाजसँग कुरा गर्दै रेग्मीले भने ‘मन्त्रालयले भने मात्र ६ हजार ५ सय डोज खोप उमेर समूह र एक हजार खोप शिक्षकहरुका लागि गरी जम्मा ७ हजार ५ सय डोज खोप पठाएको थियो ।’

उपमहानगरले साउन १ गते उमेर समुहका लागि ६ तथा शिक्षकहरुका लागि थप २ गरी ८ वटा केन्द्रबाट खोप लगाउने व्यवस्था गरे पनि प्रयाप्त नभएपछि अधिकांश सेवाग्राही त्यसै फर्किनु परेको थियो । यसैगरी खोप लगाउन नपाएपछि सेवाग्राहीहरुको विरोध गरेका थिए । पहिलो दिनको खोप वितरण भद्रगोल भएपछि दोस्रो दिन साउन २ गते आजका लागि बुटवलको सिद्देश्वर माविको प्राङ्गणमा खोप केन्द्र सञ्चालन गरिएको भए पनि विहान ५ बजेदेखि लाइनमा बसेका सेवाग्राहीहरु दिउँसो खोपबिनानै फर्कनु परेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि आवश्यक मात्रामा उलब्ध नभएपछि खोप वितरण कार्यक्रम स्वरुप नै परिवर्तन गर्नु परेको छ । तिलोत्तमामा मन्त्रालयबाट प्राप्त ५ हजार ५ सय खोप मध्य पहिलो दिन सबै वडाहरुमा गरी ४ हजार ६६६ जनलाई उपलब्ध गराइएको नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराए । दोस्रो दिन आज वडा नम्बर १६ र १७ का नागरिकलाई उपलब्ध गराइएको उनले बताए ।

सरकारले खोप प्राप्त गर्ने लक्षित समूहको क्षेत्र ठूलो बनाउने तर, खोप मागभन्दा कम उपलब्ध गराउँदा त्यसको अपजस स्थानीय सरकारले लिनु परेको भन्दै गुनासो व्यक्त गरे । सरकारले उल्लेख गरे अनुसार तिलोत्तमामा ५५ वर्ष माथि उमेर समूहका, बैंक तथा वित्तीय संस्थाहरुमा यसअघि खोप लगाउन छुट भएका तथा शिक्षकहरुलाई लगाइएको छ । सरकारले उपलब्ध गराएको भेरोसेल खोप लगाउनका लागि केन्द्रमा आएका सेवाग्राहीहरु समेत घण्टौं लाइनमा बसेर त्यसै फर्किनु परेको उनले बताए । सरकारले अव्यवहारिक रुपमा खोप लगाउन निर्देशन दिने तर, सोही अनुसारको आपूर्ति गर्न नसक्दा जनताले स्थानीय निकायहरुलाई गाली गर्नु पर्ने अवस्था सिर्जना भएकोप्रति उनले दुःख व्यक्त गरे ।

सरकारले यसअघि नै लक्षित समूह तोकेर खोप उलब्ध गराउन भन्दै स्थानीय निकायहरुमा खोप पठाए पनि माग अनुसार नहुँदा जनताले दुःख पाउनु परेको छ । जिल्लाका अन्य स्थानीय निकायहरुमा समेत आवश्यक मात्रामा खोप उपलब्ध नहुँदा सेवाग्राहीहरु घण्टौं लाइनमा बसेर खोपबिनानै फर्किएका छन् ।

देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कासिनाथ बञ्जाडेले पनि नगरमा प्रयाप्त खोप नआउँदा सेवाग्राहीलाई सम्झाउँदै खाली हात फर्कानु परेको गुनासो गरे । देवदहका लागि सरकारले उपलब्ध गराएको ३ हजार मात्रा डोज खोप वितरणमा सकस भएको उनले उल्लेख गरे । पछिल्लो समय कोभिड खोप बारे जनताहरुमा आकर्षण बढेको उल्लेख गर्दै उनले खोप पुर्याउन नसकेपछि जनतालाई फकाएर खाली हात घर फर्काउनै मुस्किल भएको उल्लेख गरे । सरकारले समूहको क्षेत्र ठूलो बनाउने तर, खाेप सिमित मात्रामा उपलब्ध गराउँदा व्यवस्थापन गर्न समस्या भएको उनले बताए ।

जम्मा ३३०० खोप प्राप्त गरेको सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले पनि सरकारको निर्देशनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय निकायहरुले आफैले मापदण्ड निर्माण गर्न पनि नपाउने र सरकारले नै बनाएको मापदण्डमा खोप लगाउँदा ३० प्रतिशत संख्यालाई मात्रै गुग्ने गरि खोप उपलब्ध गराइएको बताए । सरकारले अव्यवहारिक रुपमा निर्देशन गर्ने तर सिमित संख्यामा खोप उपलब्ध गराउँदा त्यसको अपजस स्थानीय सरकारले खेप्नु परेको भन्दै गुनासो गरे ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।