ताजा अपडेट »

कालिका माविका शिक्षकहरुका लागि आइसीटी प्रशिक्षण

सोमबार, २८ असार २०७८, १५ : ०२
10 Shares

बुटवल । रुपन्देहीको बुटवल अवस्थित कालिका मानवज्ञान माविका शिक्षकहरुको लागि सूचना प्रविधि तालिम संचालन शुरु गरेको छ । कोरोनाको कारणले भौतिक उपस्थितिमा कक्षाहरु संचालन गर्न कठिन भएको अवस्थामा अनलाईन माध्यमबाट प्रभावकारी रुपमा पठनपाठनलाई अघि बढाउन शिक्षकहरुलाई सहजीकरण गर्नको लागि विद्यालयले तालिम आयोजना गरेको हो ।

विद्यालयमा संचालन हुने ३ दिने तालिमको उद्घाटन गर्दै व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले वर्तमान युग प्रविधिको युग भएकोले शिक्षक सूचना प्रविधिको प्रयोगमा सक्षम नहुँदासम्म प्रभावकारी शिक्षण हुन नसक्ने बताए । उनले नियमित कक्षा संचालन भएको बेलामा प्रविधिको प्रयोगले जीवन्त शिक्षण हुने र महामारीको समयमा अनलाईन कक्षा संचालन गर्न पनि सुचना प्रविधिको प्रयोग अत्यावश्यक भएकोले सूचना प्रविधि पुनर्ताजगी तालिम संचालन गरिएको बताए ।

विद्यालयमा प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान मावि गुणस्तरीय शिक्षाको केन्द्र र अभिभावकको रोजाई बन्न सफल हुनुमा शिक्षकहरुको दक्षता र शिक्षणमा नविनतम प्रविधिको प्रयोग मुख्य भएको बताए । जस्तोसुकै कठिन परिस्थितिमा पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले उपलब्ध सबै शिक्षण प्रविधिको प्रयोग गर्ने बताए ।

उनले विद्यालयलाई सूचना प्रविधिमैत्री शिक्षाको हब बनाउनका लागि शिक्षकहरुलाई आइसीटी सम्बन्धि पुनर्ताजगी तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । शिक्षण कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकलाई जोड्न र शिक्षण सिकाई क्रियाकलापलाई अझ प्रभावकारी बनाउन विद्यालयले आफ्नो छुट्टै शिक्षण एप्लिकेशन ल्याउन लागेको जानकारी दिए ।

मोबाईल एप्लिकेशनको माध्यमबाट अनलाईन कक्षा संचालन गर्न, विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा संलग्न गराउन र इन्टरनेटको निरन्तर पहुँचमा नहुने विद्यार्थीलाई समेत पठनपाठनमा जोड्न सहज हुने उनले बताए । विद्यालयमा शुरु भएको तालिममा प्रशिक्षक लोकराज घिमिरेले शिक्षण विधि, ब्रिटिश काउन्सिलका सफ्टस्किल प्रशिशक ईबराज तिवारीले कक्षा शिक्षणमा सुचना प्रविधिको प्रयोग र कम्युटर प्रशिक्षक सुवास सिंहले अनलाइन कक्षा संचालन सम्बन्धि प्रशिक्षण दिने विद्यालयले जनाएको छ । उक्त तालिममा विद्यालयका आधारभूत तहका ५० जना शिक्षकहरु सहभागी भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।