ताजा अपडेट »

निषेद्याज्ञाले रोकेन कलाकारलाई, बुटवलमै २ दर्जन बढी तीजगीत छायांकन हुँदै

विहीबार, २४ असार २०७८, १९ : २५
4 Shares

बुटवल । हरितालिका तीज, नेपाली महिलाहरुको महान पर्व मानिन्छ । विशेषगरी नाचगान, खानपिनसँगै पूजा–आजा गरेर मनाइने यस पर्वमा गाइने गीत नै यस पर्वको मुख्य आकर्षण र विशेषता हो । पछिल्ला वर्षहरुमा त तीज आउनु भन्दा २–३ महिना अगाडि देखिनै तीज सम्बन्धी गीत तथा भिडियोहरु सार्वजनिक हुने गरेका छन् ।

गत वर्षको तीज भने विश्वव्यापी कोरोना महामारीका कारण प्रभावित बन्यो । र, यस वर्ष दोस्रो लहरको कोरोना महामारी जारी छ । तीज आउन २ महिना बाँकी छ । प्रायः सबै क्षेत्र ठप्प रहेको अवस्थामा केही क्षेत्रहरु विस्तारै चलायमान हुँदैछन् । यसै क्रममा सांगीतिक क्षेत्रपनि केहि चलायमान हुँदैछ । तीजकै अवसरमा केहि कलाकारहरुले गीत तयारी गरी छायांकनमा लागेका छन् । संधै विभिन्न कार्यक्रम/मेलामा व्यस्त हुने कलाकारहरु, फोटोग्राफर निषेधाज्ञाका कारण र्फुसदिला थिए ।

महिलाहरुको महान पर्व हरितालिकाका अवसरमा भने कलाकारहरु तीजका गीतहरुको भिडियोको सुटिङमा लागेका छन् । निषेधाज्ञाका बीच केही तीज गित सार्वजनिक समेत भएका छन् । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलका कलाकार र भिडियोग्राफरहरु पनि अहिले तीजको गितको छायांकनमा व्यस्त छन् । गत वर्ष पनि लकडाउन/निषेधाज्ञाका कारण सहज परिस्थिति नभएकाले कम गीतको मात्रै छायांकन गर्न सकिएको उनीहरु बताउँछन् । अहिले पनि दोस्रो लहरको कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेकाले गीतको छायांकनमा कठिनाई परेको बताउँछन् ।

लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष एवं लुम्बिनी चलचित्र कलाकर्मी संघ लुम्बिनी प्रदेशका अध्यक्ष मनिष पन्थले कोरोना माहामारी सुरु हुनु भन्दा अघिको वर्षमा ३५ वटा गीतको छायांकन गरेको स्मरण गर्दछन् । ‘कोरोना महामारी सुरु हुनु भन्दा अघि ३५ वटा गीतको छायांकन गरेको थिए, जुन उपत्याका बाहिर सबै भन्दा धेरै पनि हो ।’ उनले भने ।त्यस्तै गत वर्ष कोरोना महामारीका बीच पनि १५ वटा गीतको छायांकन गर्न सफल भएको उनी बताउँछन् । अहिले पनि ३ वटा गीतको छायांकन सकिएको र ५ वटा गीत छायांकनको तयारीमा रहेको पन्थ बताए ।

डिल्लीनारायण पाण्डेको शब्द, संगीत निर्माण, डिल्ली नारायण पाण्डे र चेतना थापाको स्वर, लोकेन्द्र शाहको नृत्य निर्देशन रहेको तीज गीत माया जालैमा गितको छायांकन सकिएको बताउँछन्। यस्तै चिरन बरालको शब्द संगीत , सरिता पन्थीको स्वर, लोकेन्द्र शाहको नृत्य रहेको ‘दीदी बहिनी’ र प्रिया भन्डारीको स्वर, लोकेन्द्र शाहको नृत्य रहेको ‘लकडाउन भाग–२’ गीतको छायांकन सकिएको बताए ।

कोरोना संक्रमणको जोखिम रहेकाले कम मानिसलाई मात्रै सहभागि गराएर गितको छायांकन गरिएको पन्थले बताए । कोभिड–१९ को जोखिमका कारण कम मानिसलाई सहभागी गराएर गीतको छायांकन गर्दा गितको दृश्य भने जस्तो आउन नसकेको बताउँन्छन् । यी तीन वटा गीतको नै छायांकन बुटवलमा भएको बताए ।

यस्तै नेपाल चलचित्र निर्देशक संघका सदस्य विष्णु भट्टराईले कोरोना महामारी भन्दा पहिलाका वर्षमा ३५/४० तीज गितको छायांकन गर्ने गरेको स्मरण गर्दछन् । गर्त वर्ष कोरोना महामारीका बीचमा पनि १८ वटा गीतको छायांकन गरेको उनले बताए । उनले भने ‘समान्य अवस्थामा ३५/४० वटा तीज गितको छायांकन गरेको अनुभव छ । गत वर्ष र अहिले कोरोना माहामारीका कारण कम हुने तीज गीतको छायांकन हुन्छ होला ।’ कोरोना महामारी र निषेधाज्ञाका बीच पनि यो वर्ष पनि ८ वटा गीतको छायांकन सम्पन्न भइसकेको भट्टराईले बताए । ‘आजसम्म ८ वटा तीज गितको छायांकन सकिएको छ । ९ वटा गीत छायांकनको तयारीमा रहेका छन् ।’ उनले भने ।

दोस्रो लहरको कोभिड–१९ का कारण सार्वजनिक क्षेत्रमा मानिसहरुलाई सहभागि नगराई सिमित क्षेत्रमा मात्रै गीतको छायांकन गरिएको उनले बताए । साथै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गीतको छायांकनका गरिएको भट्टराईले बताए । छायांकन भएका गित मध्ये ३ वटा काठमाडौँमा बाँकी बुटवलमा भएका छन् । गीतसंगीत तथा छायांकनसँगै कलाकारितामा सक्रियद्वय पन्थ र भट्टराई जस्तै यतिबेला बुटवल लगाएत लुम्बिनी प्रदेशका अन्य कलाकारहरु पनि तीज गीतको तयारीमा जुटेका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।