ताजा अपडेट »

कोभिड जितेपछि देखिँदै थप स्वास्थ्य समस्या

विहीबार, १७ असार २०७८, १६ : १२
2 Shares

टीकापुर । कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई सङ्क्रमण देखिएको २८ दिनपछि सङ्क्रमण मुक्त भयो । सङ्क्रमणबाट मुक्त भए पनि उहाँको स्वास्थ्यमा समस्या रहिरह्यो । “मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन”, युवतीले भनिन्, “कोरोना सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्य समस्या रहेपछि म टीकापुर अस्पताल गएँ ।” 

स्वास्थ्य परीक्षण गर्दा अझै समस्या रहेको देखिएपछि चिकित्सकले ती युवतीलाई औषधि दिए र खानपिनमा ध्यान दिन भने । सङ्क्रमण निको भइसकेपछि पनि समस्या हुने अनुभव उनको छ । टीकापुरका ४० वर्षीय युवकलाई सङ्क्रमण निको भएको एक महिना भइसकेको छ । बरु सङ्क्रमणको समयमा कुनै स्वास्थ्य समस्या नदेखिएका युवक सङ्क्रमण मुक्त भएपछि अस्वस्थ छन् । सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा बेलाबेला घटिरहने समस्या भएको उनी बताउँछन् । 

सङ्क्रमणबाट मुक्त भइसक्दा पनि सुधार नआएपछि हाल उनी काठमाडौँमा उपचाररत  छन्। “परिवार नै सङ्क्रमित हुँदा धेरै समस्या भयो, उपचारका लागि आर्थिक जोहो गर्न निकै कठिन भयो”, युवकले भने, “काठमाडौँमा बस्न, खान र उपचार निकै खर्चिलो छ । जताततै आफन्तसँग ऋण मागेर चलिरहेको छु । फोक्सोमा सङ्क्रमण भएको देखिएको छ”, उनले भने ।

जानकी गाउँपालिकाकी एक ५० वर्षीय महिलालाई पनि कोरोना पोजेटिभ देखियो । उनको २१ दिनमा नेगेटिभ रिपोर्ट आयो तर स्वास्थ्यमा सुधार भने आएन । स्वास्थ्य जाँचपछि अब चिकित्सकले इनहेलर ९सास  फेर्न सहज हुने औषधि० औषधि सेवन गर्नु भनेको उनले जानकारी दिइन् । 
     
टीकापुर अस्पतालका चिकित्सक रमेश उपाध्याय हाल अस्पतालमा कोभिडपश्चात समस्या भएका एक÷दुई बिरामी नियमित आइरहेको बताउँछन् । “कसैलाई गाह्रो हुँदैन, कसैको फोक्सोमा सङ्क्रमण भएको देखिन्छ”, डा उपाध्यायले भने, “समस्या हेरेर उपचार गरिरहेका छौँ । कसैलाई निको हुन ५० दिनसम्म लागेका बिरामी पनि छन् ।”

उपाध्याय सङ्क्रमण देखिएकाहरुले स्वास्थ्य परीक्षण, छातीको एक्सरेजस्ता कुरा समयमै गर्नुपर्ने सुझाव दिन्छन् । “समयमै ख्याल नगरे पछि समस्या हुन्छ । समस्या धेरै भइसकेपछि उपचारमा आउँदा ज्यान जानसक्छ”, उनी भन्छन्, “कोरोना सङ्क्रमित अधिकांशलाई फोक्सोमा समस्या, निमोनिया हुनेजस्ता समस्या देखिएका छन् । कोरोनाको असर जीवनभर रहन पनि सक्छ । नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।”

सङ्क्रमित र तिनका परिवार अधिकांशलाई मनोसमस्या देखिन थालेको छ । टीकापुर–२ का एक १८ वर्षीय बालकलाई सङ्क्रमण देखियो । ज्वरो निकै बढेपछि उनी बर्बराउन थाले । बालकलाई करिब एक साता निकै गाह्रो भयो । पछि उनमा मनोसमस्या देखियो । “डराउने, लुक्ने, घरबाट भाग्ने गर्न थाल्यो”, बालकका काकाले भने, “उसलाई थुनेर राख्नुपर्ने अवस्था आयो । छोरालाई एक्लै छाड्न नमिल्ने अवस्था आएपछि हामी दुई काका ऊसँगै रातदिन बस्न थाल्यो । हामी पनि सङ्क्रमित भयौँ ।” हाल बालक र बालकका दुई काका सङ्क्रमण मुक्त भइसकेका छन्। “सङ्क्रमण निको भएपछि बच्चालाई उपचारमा लग्यौँ, चिकित्सकले केही दिन परामर्श गर्नुभयो । निदाउने औषधि दिनुभयो”, बालकका काका भन्छन्, “आजभोलि मनोपरामर्शकर्ताले भर्चुअल माध्यमले परामर्श दिइरहनुभएको छ ।”
    
कैलालीको टीकापुर नगरपालिकाले सङ्क्रमित र सङ्क्रमितका परिवारमा मनोसमस्या देखिन थालेपछि मनोसामाजिक क्षेत्रमा काम गरिरहेका संस्थालाई गुहारेको छ । कैलालीमा कार्यरत एक संस्थाले टीकापुरमा सङ्क्रमितका घरमा पुगेर मनोपरामर्श दिने काम थालेको छ । “हामीले गत वर्षदेखि अहिलेसम्म करिब ३०० लाई परामर्श दिएका छौँ”, मनोसमाजिक परामर्शकर्ता धनराज विक भन्छन्, “विद्यालय उमेरका बालबालिकादेखि सबैलाई यो सेवा दिएका छौँ । समयमै परामर्श सेवा र उपचार पाए दुर्घटना हुनबाट जोगाउन सकिन्छ ।”

टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल स्वास्थ्यमा पनि मनोसमस्यालाई समस्याका रूपमा स्थानीय सरकारले नबुझेका कारण समस्या भएको बताउँछन् । “हरेक स्थानीय तहमा मनोचिकित्सक आवश्यक छन् । मानिस अन्य उपचार गर्छन्, तनाव व्यवस्थापनमा ध्यान छैन”, उनी भन्छन्, “सङ्क्रमितका घरदैलोमा हामी पुग्ने काम गरिरहेका छौँ, केहीलाई यस्तो समस्या देखिएको छ । समस्या भएकालाई चिकित्सकसम्म पुर्याउने काम हामीले गरिरहेका छौँ ।”
     
कैलालीको टीकापुर अस्पतालमा वैशाखयता कोरोना सङ्क्रमणका कारण ५० जनाको मृत्यु भएको छ । अस्पतालबाट सङ्क्रमण निको भएर १९३ जना घर फर्किएका छन् । कोरोना महामारीपछि वैशाख १६ गतेदेखि बन्द रहेको बहिरङ्ग सेवासमेत असार ८ गतेबाट शुरु गरेको छ । महामारीपछि कोरोना सङ्क्रमितको उपचार, अत्यावश्यक सेवा दुर्घटना, आमासुरक्षाका कार्यक्रम, प्रसूति सेवामात्र सञ्चालनमा राखेको अस्पतालले हाल सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।