ताजा अपडेट »

‘कोरोना महामारीले मर्कामा कलाकर्मी’

सोमबार, ०७ असार २०७८, २१ : ५६
6 Shares


बुटवल । विश्व संगीत दिवस, कलाकर्मीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण जमघटमा ‘विश्व संगीत दिवस’ मनाउन नपाएपनि संगीतका पारखीहरूले सामाजिक सञ्जाल र भर्चूअल माध्यममार्फत यो दिवस मनाएका छन् । संगीतलाई गायन,वादन र नृत्यको त्रिसंयोग मानिन्छ। अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा संगीत दिवसको अवधारणा ल्याएको भएपनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व संगीत दिवस मनाउन थालिएको हो । नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ ।

अहिले विश्वभर फैलिएको कोरोना महामारीले मानवीय जनजीवन अस्त-व्यस्त बनेको छ भने, कतिपय मानसिक रुपमा कमजोर बन्न पुगेका छन् । यस्तो अवस्थामा उनीहरुलाई संगीतमार्फत पनि केही हदसम्म मद्दत गर्न सकिन्छ । कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण नेपालको सागीतिक क्षेत्रमा ठूलो असर परेको छ । संगीतलाई मुख्य पेसा बनाएर जीविको पार्जन गरेका कलाकारहरुको जीवन अस्तव्यस्त बनेको छ । स्टेज र कलाकारहरुको दुरी बढीरहेका बेला पुराना कलाकारहरुलाई पहिलेकै अवस्थामा रहन र नयाँ कलाकारहरुको प्रवेशमा चूनौती खडा भएको छ । लामो लकडाउनमा प्रतक्ष्य सांगीतिक कार्यक्रमहरु नभएपनि भर्चूअल माध्यमबाट भने केही कार्यक्रमहरु भएका छन् ।

लोक दोहरी प्रतिष्ठान लुम्बिनी प्रदेशले विश्व संगीत दिवसको अवसरमा भर्चूअल माध्यमबाट संस्थागत लोकदोहरी सञ्चालन गरेको प्रतिष्ठानका द्वितीय उपाध्यक्ष नारायण बिपि परियारले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण यस वर्षपनि संगित दिवसलाई सामान्य रुपमा नै मनाउन बाध्य भएको उनी बताउँछन् । गत वर्षपनि कोरोना संक्रमणको जोखिमका कारण विश्व संगीत दिवस सामान्य रुपमा मनाएको स्मंरण गर्दै परियारले भने यस वर्ष पनि कोरोनाको दोस्रो लहरको संक्रमणका कारण सामन्य रुपमा नै दिवस मनाउन बाध्य भएको उल्लेख गरे ।

यस्तै लामो सयमको बन्दका कारण कलाकारहरु अत्यन्तै मारमा परेको उपाध्यक्ष परियार बताउँछन् । संगीतमा जिविकोपार्जन गर्दै आएका कलाकारहरु लामो समयसम्म स्टेज चढ्न नपाउँदा हातमुख जोड्न नै समस्या पर्ने अवस्थामा पुगेको उनले बताए । बन्दले लामो सयमसम्म स्टेजका कार्यक्रम नहुँदा संगीतलाई नै मुख्य पेशा बनाएकाहरुले ठूलो आर्थिक संकटको सामना गर्न परिरहेको उनी बताउँछन् । कोरोना महामारीको पहिलो लहरका बीच गतवर्ष दशैँको गीत बजारमा ल्याउन सफल परियारले यो वर्ष रिलिज गर्ने तयारीमा रहेको गीतको समेत अवस्था के हुने हो भन्ने टुङ्गो नभएको गुनासो गरे ।

बुटवलमा रहेर विगत लामो समयदेखि सांगीतिक अभियान चलाइरहेको बागेश्वरी संगीतालयमा आजभोलि सारेगमका धुन बज्न छाडेको छ । संगीत विद्यालयको छुट्टै पहिचान बनाएको बागेश्वरीले धेरै कलाकारहरुलाई बाटो देखाइसकेको छ ।कैयौं स्थापित कलाकारहरु बागेश्वरीकै उत्पादन हुन् । संगीतालयका संस्थापक प्राचार्य सुरेश सेञ्चुरीले कोरोना महामारीका कारण संगीत दिवस सुनसान भएको उल्लेख गरे । ‘गर्त वर्ष पनि कोरोना महामारीका कारण भर्चूअल माध्यमबाट सामन्य कार्यक्रम गरेका थियौं ।’–ग्लोबल आवाजसँग कुरा गर्दै सेञ्चुरीले भने ‘यस वर्ष दोस्रो लहरको कोरोना संक्रमणका कारण भच्र्युअल माध्यमबाट समेत कार्यक्रम गर्न सकिएन ।’ विगतका वर्षहरुमा बागेश्वरी संगीतालयले संगीत दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम गर्ने गरेको उनले स्मंरण गरे ।

लामो समयको बन्दका कारण व्यवसायिक रुपमा स्थापित भएका कलाकारहरुलाई पुरानै अवस्थामा फर्कन समस्या नभए पनि नयाँ कालाकारहरुलाई समस्या हुने उनी बताउँन्छन् । यस्तै अन्य राष्ट्रमा सरकारले कलाकारिताको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भए पनि नेपालमा कलाकारहरुलाई उचित संरक्षण, चासो नदिइने गरेको उनको गुनासो छ । ‘संगीत भनेको राष्ट्रको पहिचान पनि हो ।’–सेन्चुरीले भने, ‘पहिचानलाई जोगाउने भनेको कलाकारहरुले हो, यसकारणले पनि सरकारले कलाकारितालाई संरक्षण गर्नु पर्छ ।’ राज्यले उचित संरक्षण नगरेका कारणले नै कलाकारहरुलाई समस्या पर्दा चन्दा उठाउनु पर्ने बाध्यता रहेको बताए ।

यसपटकको संगीत दिवस उल्लासमय नभएको बुटवलबाटै संगीत क्षेत्रमा भविय बनाएकी एञ्जिला रेग्मी बताउँछिन् । काठमाण्डौमा बस्दै आएकी रेग्मीले विगतका वर्षहरुमा विभिन्न कार्यक्रमहरुमा सहभागी भएको स्मरण गर्दै यो वर्ष भने घरमै बसेर दिवस मनाएको बताइन् । उनले भनिन्–‘अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रमहरुमा सहभागी भएको भएपनि कोरोनाको कारणले यो वर्ष घरमै बस्नुपरेको छ ।’ रेग्मीले सामाजिक सञ्जाल र आफ्नो साधना गरेर घर बसेको बताइन् । कोरोनाको कारणले कला क्षेत्रमा निकै ठूलो प्रभाव परेको भएपनि व्यक्तिगत रुपमा आफूले त्यति धेरै गुमाउनु नपरेको उनको अनुभव छ । अघिल्लो पटकको महामारीमा पनि तीन महिना मात्रै कामविहीन भएको सम्झँदै अहिले पनि केही समयमानै परिस्थिति सहज हुने आशा व्यक्त गरिन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।