ताजा अपडेट »

कोरोना महामारीले ‘योग विज्ञान’को महत्व बढ्यो

सोमबार, ०७ असार २०७८, १२ : ४२
8 Shares

बुटवल । आज अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्र संघले सन् २०१४, ११ डिसेम्बरदेखि मान्यता दिएसँगै हरेक वर्षको २१ जुनलाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । बढ्दो आधुनिक जीवनशैली र पश्चिमी सँस्कृतिको प्रभावले ओझेलमा परेको योग विज्ञानको महत्व पछिल्लो समय फेरी बढ्दै गएको विज्ञहरु बताउँछन् । विशेष गरी विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा यसको महत्व नागरिकले बुझ्दै गएको योग विज्ञानबा ज्ञाता बाबा योगिराजले बताए ।

योग विज्ञानलाई पाठ्यक्रम तयार पारी अनिवार्य शिक्षा गराऔं

बाबा योगिराजले योग शिक्षालाई पाठ्यक्रम तयार पारी अनिवार्य शिक्षाको रुपमा लागू गर्नु पर्ने बताउँछन् । ‘योग विज्ञानलाई शैक्षिक बाठ्यक्रममा समावेश गरी विद्यालयहरुमा कक्षा ६ देखि १२ सम्म अनिवार्य शिक्षाको रुपमा रापर्छ ।’–योगिराज भन्छन् ‘आवश्यक परे पाठ्यक्रम तयार पार्नका लागि हामीले सहयोग गर्न सक्छौ, यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’

योग विज्ञानको प्रयोग गर्न सकेको अवस्थामा मानव जीवनका ८० प्रतिशत रोग आफै हराएर जाने र अन्य रोगलाई आर्युवेद विज्ञानको माध्यमबाट निको बनाउन सकिने बताउँदै उनले आवश्यक नीति बनाएर राज्यले यसको महत्व बारे जनतालाई बुझाउन आवश्यक रहेको उल्लेख गरे । योग विज्ञानको क्षेत्रमा राज्यबाट कुनै पनि पहल वा चासो व्यक्त नगरिएको गुनासो गर्दै उनले नागरिकहरुको स्वस्थ जीवनका राज्य गम्भीर बन्नु पर्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरु गरी मनाईँदै छ । बाबा योगिराजका अनुसार मानव जातीको उत्पत्तिसँगै योग विज्ञानको उत्पत्ति पनि नेपालबाट नै भएको हो । अन्तर्राष्ट्रिय स्तरमा योग विज्ञानको उत्पत्ति भारतबाट भएको भन्ने मान्यता बस्दै आए पनि त्यो गलत भएको र, पछिल्लो समय योगको उत्पत्ति नेपालमा नै भएको हो भन्ने कुरालाई अन्तराष्ट्रहरुले समेत स्वीकार्दै गएको अवस्थामा नेपाल सरकारले यसलाई महत्व दिनु पर्ने उनको सुझाब छ ।

उनका अनुसार योग अथार्त ‘जोग’ भनेको मनलाई शरीरसँग जोड्नु हो । मनलाई आत्मासँग जोड्नु नै योग हो । विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । हामी सबै मनुष्यभित्र आत्मा छ, त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो । मानव जीवनमा खानपान तथा रहनसहनमा योगको महत्पूर्ण भूमिका रहने उनी बताउछन् ।

कोरोना महामारीले ‘योग विज्ञान’को महत्वलाई बुझायो

योग गुरु विष्णुहरी आचार्य

विगत २ दशक लामो समयदेखि योग विज्ञान तथा आर्युवेद शिक्षाका बारेमा बोल्दै आएका योग गुरु विष्णुहरी आचार्यका अनुसार कोरोना महामारीले यसको महत्वलाई थप बढाएको छ । विश्व आक्रान्त पार्नेगरी फैलिएको कोरोना महामारीको अवधिमा प्रयोग गरिएका योग विधि तथा आर्युवेदले नागरिकहरुलाई रोगसँग लड्न मानसिक तथा शारीरिक रुपमा सक्षम बनाएको उल्लेख गर्दै उनले यसको महत्व सामान्य नागरिकहरुले पनि बुझ्ने अवस्थामा पुगेको बताए ।

गत वर्षदेखि कोरोना महामारीले सताइरहेका बेला धेरैलाई योगाभ्यास गराएर कोरोना जीताउन भूमिका खेलेका आचार्यले यसको विकासमा जोड दिन्छन् ।

पहिलो चरणको कोरोना महामारीका समयमा रुपन्देहीका विभिन्न स्थानीय निकायहरुले सञ्चालन गरेका आइसोलेशन सेन्टरहरुमा गएर योगाभ्यास र आर्युवेद विज्ञानका बारेमा शिक्षा बुझाउँदै हिँडेका उनले राज्यको तर्फबाट पनि यसतर्फ ध्यान जानु पर्नेमा जोड दिन्छन् । बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमितहरुका लागि बुटवल–११ देविनगरको फिफा टेक्निकल सेन्टरमा स्थापना गरेको आइसोलेशन सेन्टरमा नियमित योगाभ्यास गराएर आचार्यले हजार जना बढी नागरिकहरुलाई कोरोना मुक्त बनाउन सफल भएका थिए ।

शारीरिक तथा मानसिक रुपले स्वस्थ हुनका लागि योगाभ्यासको महत्व रहेको बताउँदै उनले यो विज्ञानलाई आधुनिक विज्ञानले समेत प्रमाणित गर्दै गएको हुँदा नियमित पाठ्यक्रमहरुमा समेत समावेश गर्नु पर्नेमा उनको जोड छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।