ताजा अपडेट »

रासायनिक मल नपाउँदा किसान आक्रोशित

विहीबार, ०३ असार २०७८, १२ : ५६
4 Shares

डोटी । यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ ।

रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताए । यस वर्ष समयमै वर्षात् शुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ शुरु भएको छ । मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताए ।

जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । रोपाइँ शुरु हुँदासमेत मल नपाएको र जेठ महिनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईले बताए ।

नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जानकारी दिए । कोरोना भाइरसका कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन् मल नपाउनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिका–१ का देवेन्द्र खड्काले बताए ।

रासस
लेखकको बारेमा
रासस