ताजा अपडेट »

रिलका होइनन् रियल लाइफका हिराे सुकदेव

मंगलबार, ०४ जेठ २०७८, २१ : ०९
14 Shares

आजका युवाहरु सडकमा मोटरबाईक रफ्तारमा कुदाएर आनन्द मानिरहेका हुन्छन । युवा जोशमा सधै तीव्र गतिमा सवारीसाधन चलाएर गन्तव्य पुग्ने हतारोमा हुन्छन् उनीहरू । आज हामी यस्तै तीव्रगतिमा मोटरसाइकल कुदाउन रहर गर्ने युवाको जीवनगाथा लिएर आएका छौं‌ । उनी हुन सुकदेव कार्की, जसको नाम नसुनेका नेपाली समाजमा बिरलै मानिसहरु होलान् ।

पिता व्यास र माताका सोस्थानी कार्कीका जेठो सन्तानका रुपमा वि.स. २०४६ कार्तिक २१ गते थुमपाखर सिन्धुपाल्चोकमा सुकदेवको जन्म भएको थियो । निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका उनीले एसएलसिको पढाइ सकिए लगतै स्थानीय विद्यालयमा अध्यापन गराउन प्रारम्भ गरें । पहिलो तलबका रुपमा १८ सय रुपैयाँ बुझेको उनलाइ अझै याद छ । सानैदेखि मोटरसाइकल कुदाउने रहर बोकेका कार्कीले आफ्नो कमाइ हुन थालेपछि मोटरसाइकल किनेर रहर पूरा गरि छाडे । केही वर्ष पछि उनलाई पनि आम नेपाली युवाहरुलाइ जस्तै बिदेशमा गएर अध्ययनसँगै धन कमाउन रहर जाग्यो। सन् २००९ तिर उनी वेलायत तिर हानिए । मुग्लानमा पनि हामीले आशा गरे जस्तो सहज नहुने रहेछ । काम खोज्दै जाँदा बाटो खन्ने, सरसफाई गर्ने जस्ता कामहरू मात्र पाइने गरेको उनले थाहा पाए।

केही समय पछि त्यहाँ उनको चिनजान पोखरेली भारताेलनका खेलाडी देश बहादुर गुरुङसँग भयो ‌। उनकै प्रेरणाले कार्कीले सन् २०१२ मा लंदन स्थित द जिममा व्यायाम गर्ने थाले। त्यसै क्रममा सन् २०१४ अगष्टमा UKNBF द्वारा आयोजना भएको खुला शारीरिक सुगठन प्रतियोगितामा भाग समेत लिने अवसर पाए ‌। ‌पहिलो प्रतियोगितामा उनी तृतीय हुन सफल भए। राम्रो फिजिक्स बनाएका सुकदेवलाइ सन् २०१५ मा मिष्टर नेपाल शारीरिक सुगठन प्रतियोगिता हुँदै गरेको थाहा पाए। उनलाइ स्वदेशमा हुने प्रतियोगिता जित्ने रहर जाग्यो। नजिकै आउदै गरेको विजया दशमीकाे मौकामा पारेर कार्की नेपाल फर्किए। उनलाइ पुनः आफ्नो पुराना सोखले सताउन थाल्यो । झन्डै सात लाख पर्ने KTM DUKE वाइक किने ।

वि.स. २०७२ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुन लागेको राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि छनौट चरणमा उनी सहभागी भए। डिभाइन फिजिकल फिटनेसको हलमा भएको काठमाडौ जिल्लाका खेलाडी छनौट भित्र पर्न उनी सफल भए। फाइनल आउन केही दिन अझै बाँकी थियो। । सन् २०१५, अक्टोबर २ सुकदेवले जीवनमा कहिल्यै नबिर्सिने दिन बन्यो। जसले उनको जीवन नै परिवर्तन गरिदियो । स्पिडमा बाइक कुदाउनु, स्टन्ट गर्नु, ट्राफिक नियम पालना नगर्नु उनका लागि सामान्य थियो। बाइक कुदाएको भिडियो फुटेजहरू जम्मा गर्नु उनको अर्को सोख थियो । उनि भन्छन् ‘मैले त्यो बेला पुरानो बाइक बेच्ने निर्णय गरेँ,’ उनले भने, ‘भोलिपल्ट मान्छे लिन आउने भयो। बाइकसँग एउटा मेमोरी बनाउँछु निधो गरे । हेलमेटमा गोप्रो फिट गरे र भाइलाई क्यामेरा थमाएर पुगे वागमती किनारको त्यो सडकमा तीव्र गतिमा बाइक कुदाए । ड्युक ३९० मोटरसाइकल बाइक स्पिडमा हुइँकिएर अलि पर पुगेको के थियो, नियन्त्रण गुमेर गलत लेनतर्फ मोडियो। विपरीत दिशाबाट आइरहेको टोयोटा हाइलक्ससँग ठोक्किन पुग्यो । कार्की उछिटिएर पर सडकमा लडे ।

बेहोस भएर भुइँमा लडेका कार्कीलाई मर्यो होला भन्दै सडकका यात्रुहरू समेत नजिकै पुगेर हेर्न डराए। पुलिसको भ्यानमा हालेर खाल्डाखुल्डी परेको सडक हुदै हस्पिटल पुर्या्इयाे । चेकजाँच पछि हात खुट्टा र करँङ्गका समेत गरेर शरीरका अठार वटा हड्डी भाँचिएका रहेछन् । झन्डै ६ वटा मेजर अप्रेसनपछि उनलाई सोह्र दिन आइसियुमा राखियो । हातखुट्टा पुरै स्टिलका रड र स्क्रुपले कसेर उनलाई राखिएको थियो। मानौ कुनै भाँचिएको सामानहरुलाई नट र बेल्टकाे सहयोगले जोडजाड् पारे जस्तै । सुकदेव राम्रोसँग श्वास समेत लिन सकिरहेका थिएनन् । घरको जेठो छोराको यस्तो दयनीय अवस्थ देखेर कार्कीका मातापिताका आँसु धाराहरु थामी नसक्नु थियो । खाना पनि अरुले खुवाई दिनुपर्ने उनी बिस्तराबाट चल्न नमिल्ने अबस्थामा थिए । दुर्घटनापछिका केही दिन पहिलाको फोटो हेर्दै रोएर बितेको सुकदेव सम्झिन्छन् । दुर्घटना भएको तीन महिना २० दिनमा बल्ल घिस्रदै, लत्तिदै बिस्तारै उभिन सक्ने भए।

‘आफैँ उभिन सक्दैनथेँ, अरूको सपोर्ट चाहिन्थ्यो,’ उनले भने, ‘एउटा खुट्टामा बाहिर र अर्को खुट्टामा भित्र स्टिल राखिएको थियो। जीवन बोझ सरह लाग्न थालेको थियो उनलाई । तर, उनले सिकेका थिए जति एक्सरसाइज गर्यो मसल्स त्यति बलियो हुन्छ भन्ने । यसैले अभ्यास गर्न छाडेनन् । त्यही अभ्यास गर्ने बानीले उनलाई छिटो रिकभर हुन सहयोग पुर्यायो। झन्डै चार महिना लामो हस्पिटलको पत्यारलाग्दो बसाइँपछि उनि घर फर्के । उनले जीवन देखि हार मान्नु भन्दा केही गर्ने प्रण गरे। बडी बिल्डिङमा प्रतिस्पर्धा गर्ने रहर अझै मरिसकेको थिएन । दुर्घटना भएको सात महिनापछि डाक्टरहरुको जिम नजाने सल्लाह विपरीत जिम जान थाले। शारीरिक व्यायाम र आहारमा विशेष ध्यान दिदैं जिममा फेरि कठिन मेहनत गर्न थाले । उनी भन्छन् , मैले अब आफुलाइ प्रमाणीत गरेर देखाउँछु भन्ने अठोट लिए ।

सुकदेवले सन् २०१८ मा लक्ष्मीसँग प्रेमविवाह गरे। लक्ष्मीको आगमनले ज्यान बनाउन अझै सहज भयो सुकदेवलाई। गाडीको पाटपुर्जा झैं छरिएको उनको ज्यान एक वर्षभित्र टमक्क मिलेको देखेर सबैजना चकित परे। उनले फेरिदेखि स्कुलमा पढाउन थाले । सुकदेवले दुर्घटना भएको डेढ वर्षपछि राष्ट्रिय बडी बिल्डिङ गेम ‘मिस्टर हिमालय’ हुने थाहा पाए। ‘स्टेजमा गएर आफ्नो अधुरो सपना पूरा गर्ने आशा पलायो । मिस्टर हिमालयमा ‘म्यान्स फिजिक’ र ६० केजी बडी बिल्डिङ’ गरी दुई वटा विधामा रजत पदक हात पारे । त्यसपछि उनलाई मानिसले नोटिस गर्न थालेँ। उनी फेरि बाइक लिएर हिँड्न थाले। ‘बाइक राइड अर्गनाइज गर्न मलाई निम्तो आउन थाल्यो,’ उनले भने, ‘त्यसपछि म सुरक्षित भएर कसरी बाइक चलाउने भनेर जनचेतना दिँदै हिँड्न थालेँ।’ यतिमा मात्र उनको यात्रा रोकिएन।

२०१८ को अक्टोबरमा भएको ‘बारबेन्डर्स– नेपाल्स बिगेस्ट पावर लिफ्टिङ मिट’ मा उनी पहिलो भए। ‘खुट्टाको स्टिल निकालेको नौ महिनामा त्यो प्रतियोगितामा भाग लिएको थिएँ,’ उनले भने, ‘त्यो दिनबाट मैले जीवनमा असम्भव केही रहेनछ भन्ने थाहा पाएँ। समय लाग्ला तर, नतिजा अवश्य आउँछ।’ यही क्रममा उनलेे सन् २०१९ माआइफबिबिले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको मिष्टर ओलम्पिया क्वालिफाइङ प्राे प्रतियोगितामा भाग लिए। साे प्रतियोगितामामा मेन्स फिजिक्स तर्फ रजत पदक लिन सफल भए । त्यस्तैगरि नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा सुकदेवले सबै प्रतियोगीहरुलाइ पछाडी पार्दै कुल ५८० केजी भार उचाल्दै ओभरअल उपाधि हात पार्न सफल भए ।

सुकदेव ‘नेपाली युथ फिटनेस क्यालेस्थेनिक्स’का संस्थापक हुन्। बाइक कम्पनी ‘सीएफ मोटो नेपाल’ र मसल्स फार्म डिस्ट्रिब्युटरका ब्रान्ड एम्बेसडर पनि हुन्।‘ हिजोआज उनी फिटेशस एक्सपर्टका रुपमा विभिन्न कार्यक्रम मार्फत फिटनेस सम्बन्धि चेतना फैलाउने कार्यमा लागी परेका छन् । देशका बिभिन्न शहरहरुमा सार्वजनिक स्थानहरुमा क्यालेस्थेनिक्स पार्कहरुको निर्माण गर्दै बालक देखि बृद्धसम्मलाइ निशुल्क रुपमा शारीरिक व्यायाम गर्न प्रेरणा दिइरहेका छन् । रफ्तार मन पराउने युवा पिंडीलाइ उनको सुझाव यस्तो छ । महङ्गो बाइक किन्दै गर्दा ध्यान दिनु पर्ने के छ भने शुन्यबाट १०० स्पिडमा छिटो पुग्ने बाइक होइन कि आवश्यकता पर्दा १०० स्पिडबाट शुन्यमा सहजै झार्न सक्ने बाइक राेज्नु पर्छ । बाइक चलाउदा फूल हेल्मेट हातमा गोल्भस र ज्याकेटहरुको प्रयोग गर्ने बानी बसाल्दा दुर्घटना भइहाल्यो भने पनि केहीहद सम्म शरीर सुरक्षित राख्न मद्दत पुग्छ ।

https://www.globalaawaj.com/archives/105924
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार