ताजा अपडेट »

राेजगारीकाे खाेजीमा बुटवलका बडी बिल्डर अशोक

मंगलबार, २८ बैशाख २०७८, १९ : ३९
16 Shares

नेपाली शारीरिक सुगठन इतिहासको खोजी गर्दै सामाजिक सञ्जाल फेसबुकमा History of Nepal Body Building मा लेख्ने क्रममा एकदिन एकजना चिर परिचित मित्रले मलाई फोन गरे । सामान्य भलाकुसारी पछि उनले भने "दाइ तपाईंले देशभरिका थुप्रै बडी बिल्डिङ्गमा लागेका खेलाडीहरुका बिषय खाेजिनीति गरेर लेख्नुभयो तर बुटवलका पुराना बडिबिल्डर अशोक प्रधानका बारेमा हालसम्म पनि तपाईंको लेखमा किन आएन ?"

मैले पनि विचार गरे उतिबेला हाम्रो पालाकाे बुटवलकाे पुरानो उजिरसिंह व्यायामशालामा हामीले जिम गर्दाका बखत नाम चलेका खेलाडी थिए, अशोक प्रधान । उति बेला बुटवलमा औलामा गन्न सकिने बडिबिल्डरहरु मध्येका एक थिए उनि । चौडा छाती, ठूला बलिष्ठ पाखुराहरु, मिलेको ज्यान, कठाेर परिश्रमी । एक आदर्श शारीरिक सुगठन खेलाडीमा हुनुपर्ने सर्वगुण सम्पन्न थिए अशोक । निम्न वर्गीय परिवारमा पिता मोती कुमार र माता मिश्री देवी प्रधानको सन्तानका रूपमा विक्रम संवत् २०३० सालमा गुल्मीमा प्रधानको जन्म भएको थियो । उनी तीन वर्षको हुँदा आमाले परिवारसहित बुटवल बसाइँसराइ गरेर आए । बि स २०४८ सालतिर साथीहरूको संगतमा उनि आफू पढ्दै गरेको विद्यालय छेउमा रहेको उजिरसिंह व्यायामशाला छिरे ।

उनलाई त्यतिबेला दिलबहादुर थापा भन्ने साथीले त्यहाँसम्म पुर्याएका थिए । उतिबेला उनका समकक्षीहरुमा संताेष विक, बिरेन्द्र श्रेष्ठ, डम्बर टाइसन, राजकुमार श्रेष्ठ र धनराज बि क लगायतले व्यायामशालामा व्यायाम गर्ने गर्थे । विभिन्न विदेशी शारीरिक सुगठन खेलाडीका पोस्टरहरू र डिभिडिहरुबाट शारीरिक सुगठन सम्बन्धी ज्ञान लिँदै आफूले सिकेका कुरा एकार्कालाई सिकाउँदै जिम गर्ने गरेको उनी सम्झन्छन् । यही क्रममा चलचित्र देउकीको सुटिङका लागि भनेर बुटवल आएको युनिटसंगै महानायक राजेश हमाल बुटवल आएका थिए । नियमित व्यायाम गर्ने गरेका नायक हमाल जिम गर्ने ठाउँको खोजीमा उजिरसिंह व्यायामशालासम्म पुगे । हमालको खाइलाग्दाे मिलेको शरिर देखेर युवा खेलाडीहरु निकै आकर्षित भए । यहीक्रममा अशोकसँग जिम पार्टनरका रुपमा राजेश हमालको सङ्गत हुनपुग्यो ।

मेहनती अशोककाे व्यायाम प्रतिकाे लगाव देखेर नायक हमालले अशोकलाइ साेही चलचित्रमा अभिनय गर्न अनुरोध गरे। उनले पनि सहर्ष स्वीकार गरे । यसरी एउटा शारीरिक सुगठन खेलाडिलाइ चलचित्रको रंगिन पर्दाकाे माेहले तान्याे । हुनपनि अशोकलाई नाटक चलचित्र खेल्ने रहर सानैदेखि थियो । उनले यस अघि नै पागल प्रेमी भन्ने नाटकमा अभिनय समेत गरिसकेका थिए । मनभित्र दबेर रहेको कलाकारिताको भाेकलाई अभिनेता हमालको संगतले थप मलजल गर्याे । यहीक्रममा बि स २०४९ सालमा नेपाल व्यायाम मन्दिर सिद्धार्थनगरकाे आयोजनामा प्रथम मिष्टर लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना भयो । बुटवलबाट एक्लो सहभागी भएका अशोक ६० के जि ताैलसमुहमा रजत पदक हात पारे। यही बेला अशोकका स्थानीय साथी माधव प्रधानले भिडियो चलचित्र विध्वंश निर्माण गर्ने निधाे गरे ।

नायकका रूपमा उनको रोजाइमा अशोक पर्न सफल भए । चलचित्र बनेर तयार भयो । त्यसको लगत्तै उत्साहित त्यही टिमले त्रास नामक अर्को भिडियो चलचित्र समेत निर्माण सम्पन्न गर्याे । दुवै चलचित्रमा अशोकले नायकको शिर्ष भूमिका निर्वाह गर्ने अवसर पाए । अशोककाे चर्चा बुटवल बजार क्रमशःचल्न थाल्यो । उता शारीरिक सुगठनका प्रतियोगिताहरुमा समेत उनले सहभागिता जनाउँदै सफलता हात पार्दै थिए । २०५१ सालमा नेपाल व्यायाम मन्दिर सिद्धार्थनगरकाे आयोजनामा दाेश्राे मिष्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरियो । यसपटक पनि अशोक पदक बिमुख हुनु परेन ।

यहीक्रममा किरण सिंह गुरुङले बदला नामक भिडियो चलचित्र निर्माण गर्दै थिए अशोकले उक्त चलचित्रमा पनि प्रमुख पात्रको रुपमा भुमिका निर्वाह गरे । २०५३ साल तिर बुटवल ३ पुलचाेकमा रहेको नारायण युवा क्लबद्वारा संचालित जिममा जिम गर्न थाले । २०५४ साल बैशाख ६ गते पोखरामा प्रथम मिष्टर पश्चिमाञ्चल तथा मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरिएको थियो । रुपन्देही जिल्लाबाट अशोक लगायत अरु खेलाडीहरु सहभागी थिए। अधिकांश पदक लुम्बिनी अञ्चलले हात पार्ने अवस्था देखिएकोले स्थानीय खेलाडीले प्रतिरोध गरे । लुम्बिनी अञ्चलका खेलाडीहरु साे प्रतियोगिता बहिष्कार गरेको कुरा अशोक बताउँछन् । बि स २०५५ सालमा बुटवलमा स्थानीय युवाहरुले मिष्टर बुटवल नामक माेडल हन्ट प्रतियोगिताकाे आयोजना गरेका थिए । अशोक उक्त प्रतियोगिताकाे उपाधि सहित उत्कृष्ट पुरुष माेडल घाेषित भए ।

यता सानो पर्दा हुँदै क्रमश प्रधानको प्रवेश ठूलो पर्दाका चलचित्रहरुमा पनि हुन थाल्यो । उनले खेलेका ठूलो पर्दाको चलचित्र दुई मुटु एक धड्कन, करामत, द कमाण्डाे, बहादुर, रफ्तार लगायत झंण्डै दुई दर्जन बढी सफल चलचित्रमा उनले अभिनयकला दर्शकहरु माँझ पस्किए । सुखद भविष्यकाे खाेजिमा सन् २००१ मा उनी वैदेशिक राेजगारीका लागि सिङ्गापुर समेत पुगे । तर आशा गरे अनुरुप सफलता हात लागेन । सिङ्गापुर बस्दै आएका उनका पुराना साथी बिरेन्द्र श्रेष्ठ भन्छन् "अशोक असाध्यै परिश्रमी खेलाडी हुन । उनले शारीरिक सुगठन र चलचित्रमा लामो समय संघर्ष गरे । " विगतलाई संझदै अशोक भन्छन् "शारीरिक सुगठन खेलका लागि खेलाडीले आफ्ना मांसपेशीहरूको विकास गर्नुपर्ने हुन्छ तर मांसपेशीहरूको विकास एकै रातमा सम्भव हुँदैन ।

यसको लागि खेलाडीले वर्षाैकाे महेनत गरेको हुन्छ । हरेक शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता त एउटा मात्र खेलाडी हुने गर्छ, अरु त सबै उपविजेतामै सीमित हुने त हो । तर, मेहनत सबैले उत्तिकै गरेका हुन्छन् जति विजेताले गरेको हुन्छ । बजारमा चर्चा विजेता खेलाडीको मात्र हुने गर्दछ । " कुनै बेला बुटवलका सडकमा अशोक हिड्दै गर्दा उसको मिलेको बलिष्ठ शरीर देखेर मानिसहरु अचम्मित हुँदै कानेखुसी गर्ने गर्थें । विगत दुई दशकभन्दा बढी भयो उनले नारायण युवा क्लबका सदस्यहरुलाइ बिहानसाँझ निशुल्क रुपमा व्यायाम प्रशिक्षण गराउँदै आएको । भविष्यमा साथीभाइसँग संयुक्त लगानीमा आधुनिक जिम हल बुटवलमा खाेल्ने सपना रहेको उनी बताउँछन ।

https://www.globalaawaj.com/archives/105617
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार