ताजा अपडेट »

इतिहास कोर्दै श्रुति

शनिबार, १८ बैशाख २०७८, १८ : ४३
48 Shares

बुटवल । हिजो-आज सुर्खेतमा श्रुति कार्कीलाई नचिन्ने बिरलै होलान् । ब्वाइज कट कपाल, फुर्टिलो, छरितो शरीरमा झ्वाट्ट हेर्दा श्रुतिलाई सेना प्रहरीमा भर्तिका लागि तयारी गरिरहेको युवक जस्तै देखिन्छ ।

सुर्खेत बिरेन्द्रनगरमा पिता चन्द्रबहादुर कार्की र माता सुनीता कार्कीको चार मध्ये तेस्रो सन्तानका रुपमा उनको जन्म भएको थियो । उनको सानैदेखि केटाहरु जस्तो देखिन रुचाउने स्वभाव थियो । बाल्यकालदेखि नै परम्परागत रुपमा बालिकाहरुका लागि भनेर समाजले निर्धारित गरेका पोशकहरु जामा र फ्रकभन्दा पुरुषहरूले लगाउने टिशर्ट, शर्ट र पाइन्ट नै लगाउदा आफूलाई सहज भएको महशुस गर्थिन् । समयको क्रमसँगै २०७३ साल फाल्गुणमा श्रुतिको नाताले भिनाजु पर्ने प्रमोद हमालले मध्ये पश्चिम फिटनेस सेन्टर उनको घर नजिकै शुरुवात गरेका थिए । त्यतिबेलासम्म सुर्खेतमा महिलाहरुमा खासै फिटनेसप्रति मोह पलाई सकेको थिएन । हमालले आफ्नो जिममा आएर श्रुतिलाइ ट्रेनिङकालागि अनुरोध गरे ।

परिवारको सहमतिपछि श्रुति समेत तयार भइन् । गुरुको निगरानीमा मेहनती कार्कीले ट्रेनिङ शुरू गरेको छोटो समयमै शरिरमा राम्रो परिवर्तन देखिन थाल्यो । प्रशिक्षक प्रमोद भन्छन् “श्रुति ट्रेनिङमा असाध्यै लगनशील थिइन् । उनको जेनेटिक्स नै राम्रो थियो । उनी निकै मेहनती र अनुशासित भएका कारणले उनमा शारीरिक सामर्थ क्रमिक रुपमा वृद्धि हुँदै गयो । जिममा वेट ट्रेनिङ गर्दा ठूला वेटहरु समेत सहजै उचाल्ने गर्थिन । छोटो समयमा नै उनिमा हुँदै गएको शारीरिक प्रगति देखेर हमालले कार्कीलाई ‘अब तिमी यस खेलमा लाग्नुपर्छ केही गरेर आफ्नो ठाँउको नाम राख्नु पर्छ’–भनेर सुझाय ।

अब तिमिले नियमित अभ्याससँगै उचित खानपान र यश खेलको अनुशासन समेतको पालना गर्नुपर्छ भनेर बुझाए । यही क्रममा वि.स. २०७६ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा काठमाडौमा सातौ मिष्टर हिमालय शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिताको आयोजना भयो । श्रुति त्यसमा सहभागी भइन् र महिला विधातर्फ नपत्याउँदो गरी श्रुगिले छैठौ स्थान प्राप्त गरिन् । पहिलो प्रतियोगितामा नै छनौट चरण पार गरेर छैठौ स्थान लिन सफल भएकाले उनमा थप हौसाला बढ्यो । त्यहि वर्ष काठमाडौ जिल्ला शारीरिक सुगठन संघको आयोजनामा चौथो मिष्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगिता तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको आयोजना भयो । सो प्रतियोगिताको तयारीमा तिन दिन अगाडीदेखि सुर्खेतबाट काठमाडौ पुगेका गुरुचेली होटलमा राति अवेरसम्म पोजिङ्ग अभ्यास गरेको हमाल सम्झन्छन ।

सो प्रतियोगिता नै श्रुतिको जीवनको टर्निङ पोइन्ट सावित भयो । यसपछि उनी निरन्तर खेलमा लागि परिन् । यही क्रममा उनले पोखरामा सोहि वर्ष आयोजना भएको गोर्खा क्लासिक महिला एथलेटिक्स फिजिक्स प्रतियोगितामा समेत सहभागी हुने अवसर पाइन् । आफ्नो परीक्षाका कारण तयारीमा पर्याप्त समय दिन नपाएको हुँदा यस पटकको उनको नतिजा भने सोचे जस्तो राम्रो हुन सकेन ।

यसरी नै दिनहरु बित्दै गए । सुर्खेत घुम्न आएका शारीरिक सुगठनका अन्तराष्ट्रिय खेलाडी जीवन गिरी घुम्दैफिर्दै प्रमोद हमालको जिममा आइपुगे । गफिने क्रममा गिरीको नजर ट्रेनिङ्ग गरिरहेको श्रृतीमाथी पर्यो । गिरीले भारतमा हुदै गरेको २१ औँ वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा श्रुतिलाइ सहभागी गराउन हमाललाई आग्रह गरे । प्रतियोगिताका लागि तिन महिना मात्र समय बांकी थियो । गुरु चेलीले उक्त प्रतियोगिताका लागि तयारी शुरु गरे । प्रतियोगिता हुने दिन नजिक आइपुग्यो ।

झन्डै २३ घण्टाको सडक यात्राबाट छनोट भएका नेपाली टोली भारतको मुम्बइ अमरावति पुग्यो । एकदिन बिहान हमालको मोवाइलमा घण्टी बज्छ । उताबाट रुदै श्रृतिले आफूले जुनियर विधा स्वर्ण पदक जितेको गुरुलाई सुनाउँछिन् । हर्ष मिश्रित आँशुमा हमालले उनलाई बधाई दिन्छन् ।

पदक जित्दाको क्षण सम्झदै श्रुति भन्छिन् ‘पदक प्राप्त हुँदा देशलाई र परिवारलाई सम्झिएँ । मैले प्राप्त स्वर्ण पदक देशका लागि थियो । त्यस बेला देशको झण्डा भिरेर पदक लिंदाको क्षणको हर्ष बयान गर्ने म सँग कुनै शब्द नै छैन । वल्र््ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशनको आयोजनामा भारतको अमरावतीमा गत डिसेम्बर ४ देखि ७ तारेखसम्म भएको प्रतियोगितामा श्रुति सहित नेपालबाट गएका टोलीलाइ नेपाल फर्कने क्रममा नेपाल भारतको सीमाना सुनौलीमा नेपालीहरुको भिडले भव्य स्वागत गरेको थियो ।

सुर्खेतमा पनि उनको हजारौका भिडले भब्य स्वागत सहित नगर परिक्रमा समेत गराएको थियो । कर्णाली प्रदेश सरकारले उनलाई नगद दुई लाख सहित सम्मान गर्यो । सम्मान गर्नेमा विभिन्न संघसंस्था उद्योग वाणिज्य संघ लगायत उनले पढेको विद्यालयले समेत श्रुतिलाई सम्मान गर्यो । श्रुति भन्छिन् ‘जीवनमा आँटेको गर्न नसक्ने भन्ने केही पनि छैन । गरेर छाड्छु भनेर हिम्मत गरियो भने जहाँसुकै बिधामा सफलता पाइन्छ, सँगसँगै खुसी र सन्तुष्टि पनि । ’

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार