ताजा अपडेट »

वर्ष ०७८ : अर्को चूनौतीको वर्ष, सफल बनोस्

मंगलबार, ३१ चैत्र २०७७, १७ : ५०
4 Shares

चलिरहेको वर्ष अर्थात् वि.सं.२०७७ को समाप्तिसँगै आगामी वर्ष, नव वर्ष-२०७८ को आगमन तथा सुरुवात हुँदैछ । वर्षहरु आउँछन्, चल्छन् र वित्छन् । तर, हरेक वर्षले धेरै सन्देश, उपलब्धीसँगै चूनौतीहरु पनि छोडेर जान्छन् । वर्ष २०७७ नेपाली इतिहासमा कहिल्यै नभुलिने वर्ष बनेको छ । नेपाली मिति अथवा वि.सं. अनुसार २०७७ वर्षहरु बितिसकेका छन् । यससँगै मुलुक २०७८ औं वर्षमा प्रवेश गर्दैछ । नेपाली पात्रो अनुसार मुलुकमा पूरानो वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुवात भएको छ  । वि.सं.२०७७ को समाप्तिसँगै बुधबारबाट वि.सं.२०७८ को शुभारम्भ भएको छ । हरेक वर्षसँगै मुलुक र जनतामा नयाँ सोँच र उत्साहका साथ विभिन्न योजनाहरू तय हुन्छन् । हरेक वर्षको समाप्तिसँगै नयाँ वर्षको आगमन हुनु र उक्त वर्ष पनि पुनः सकिएर अर्को नयाँ वर्ष आउनु वैधानिक नियम नै हो । तर, नयाँ वर्षमा प्रवेश गरिरहँदा वर्तमान अवस्था भने फरक छ ।

इतिहासमा विभिन्न चूनौती, सामना र उपलब्धी हासिल गर्दै आएको नेपालले वितेका २ वर्ष वि.सं.२०७६ को अन्त्य र २०७७ को अवधी संक्रमणकालिन चूनौतीका साथ पार गर्यो । विश्वका विकसित राष्ट्रहरु आक्रन्त र निकै प्रभावित भएको अवस्थामा पनि नेपाल र नेपालीको धैर्यता, सामना, सतर्कता र प्रतिरोधात्मक प्रयास तुलनात्मक रुपमा सन्तुष्टिजनक र सफल भए । गत वर्षको सुरुवातदेखिनै विश्वव्यापी महामारी कोरोना कहर, संक्रमण र यसको असरको सामना गर्दै आएको नेपालले यसवर्षको सुरुवातमा पनि सोही संक्रमणको सामना गर्दैछ । छिमेकी मुलुक चीनबाट सुरु भएको विश्वव्यापी कोरोनाबाट नेपाल पनि प्रभावित भयो । यस दौरान नेपालमा २ लाख ८० हजार बढी संक्रमित भए । जसमध्ये २ लाख ७४ हजार बढी निको भएका छन् भने ३ हजार ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ३ हजार ३ सय ६ जना हाल सक्रिय संक्रमित रहेका छन्।

गत वर्षको चैतबाट प्रभावित भएका हामी गत वर्षको बैशाख, जेठ, असारमा निकै प्रभावित भयौं । त्यस्तै भदौ असोज र कार्तिकमा पनि खुलेर पर्वहरु मनाउन सकेनौं । मंसिर, पुस, माघ, फागुनमा कोरोना संक्रमणको जोखिम घटेजस्तो लागेपनि पूर्ण ढुक्क हुन सकेनौं । यस दौरान सबै क्षेत्र सञ्चालन भएतापनि पहिले जस्तो चहल–पहल भएन । नयाँ वर्षसँगै पहिले जस्तै चलायमान हुने जनवीवन सामान्य हुने आशा थियो । तर, कोरोनाको अर्को लहर नयाँ भेरियण्टको कोरोना देखिएसँगै नेपालमा पनि कोरोना संक्रमण हवात्तै बढेको छ । यससँगै पहिले वा त्यो भन्दा बढी महामारी फैलने आशंका र भय देखिएको छ । करिब एक वर्षसम्म कोरोना महामारीका कारण मुलुकका आर्थिक, व्यवसायीक, शैक्षिक गतिविधिहरु मारमा परे । केही समय सबै क्षेत्र ठप्प भए । गत वर्षको बैशाख र जेठमा संक्रमणको ग्राफ उकालो लागेको थियो । बिदेशबाट स्वदेश तथा देशभित्रबाट पनि आफ्नो गाउँ–घर फर्कनेहरुको लहर र पीडा त्यस्तै थियो ।

सामाजिक दूरी कायम गर्ने सतर्कताका सवालमा भएका अफ्ठ्यारा, दु्रव्यवहार, समस्या लगाएतले सामाजिक सद्भावनै खलबलिएका आर्थिक अभावमा परेका समस्या लगाएतका कारुणिक र भावुक अवस्थाहरुको सामना गर्दै अगाडि बढ्नुका साथै कोरोना माथि विजयी प्राप्त गरेका थियौं । यद्यपि तीन हजार बढीले ज्यान गुमाएका छन् । नयाँ वर्षको आगमन र सुरुवात भइँरहँदा नयाँ उत्साह, जोस, जाँगर, योजनाहरु हुने गर्दछन् । तर, यसपटक पनि कोरोनाको कहर र बाधा छँदैछ । अझै बदलिँदो कोरोनाको प्रकार र यसको फैलिने रफ्तारले थप शसंकित बनाएको छ । त्यसैगरी राणाशासन, पञ्चायत, राजतन्त्र लगाएतका निरंकुशतालाई पराजित गर्दै स्थायी राजनीति तथा दिगो शान्ति र विकासका लागि गरिएका आन्दोलन र प्राप्त गणतन्त्रको उपलब्धी हासिल गर्ने समयमा पनि मुलुकमा राजनीतिक अस्थिरता र जटिलता देखियो ।

वर्ष–७७ कोरोना संक्रमणसँगै नेपालीहरुले स्वास्थ्यमा खेलवाड, भ्रष्टाचार, अनियमितता र राजनीतिक विचलनको सामना गर्नुपर्यो । कतिपय अवस्थामा निरह नागरिक भएर मौन बस्नुपर्ने वा माहमारीमा पनि आन्दोलनमा उभिनुपर्ने अवस्था आयो । संकट र समस्यामा जनताको जीवनरक्षा र संरक्षणमा लाग्नुपर्ने नेतृत्व र राजनीतिक दलहरु सत्ता,भ्रष्टाचार र आफ्ना स्वार्थमा लागेको वर्ष पनि हो गत वर्ष । कोरोना संक्रमणसँगै नेपालमा राजनीतिक संक्रमणले पनि जनता पीडित भएको वर्षका रुपमा वर्ष ७७ रहनेछ । वर्षको त अन्त्य भएको छ । तर, ७७ का संक्रमण झनै बढ्दो छन् । झण्डै दुई तिहाई प्राप्त सरकारले गति नलिनु उल्टै एकआपसमा विभाजित हुनु, आन्दोलन हुनु, निर्वाचित प्रतिनिधि सभा विघटन हुनु त्यसपछिका घटनाक्रम र कोरोनाले सबै क्षेत्र ठप्प हुनु र प्रभावित हुनुले वर्ष ७७ नेपाल र नेपालीको लागि दुःखद वर्ष हो ।

नयाँ वर्ष अर्थात् वर्ष ७८ को आगमन सुरुवातसँगै समस्या र चूनौती कायमै रहेपनि पहिलेका वर्षहरुमा जस्तै नयाँ जोस, जाँगर, योजना र उत्साह भने कायम गर्न आवश्यक छ। ‘हटी होइन,डटी लड्ने नेपालीको बानी हुन्छ ।’ भने जस्तै पहिलाका समस्या र चूनौती मात्रै होइन । आगामी दिनमा आउने समस्या र चूनौतीसँग पनि सामना गर्दै विजयी हुने दृढ आत्मविश्वास र हौसलासहित अघि बढ्न आवश्यक छ । तसर्थ वर्ष ०७८ मा नेपालको राजनीतिक, प्रशासनिक लगाएत सबै क्षेत्रमा देखिएका समस्याहरु घटरदै जाउन्, स्थापित तह र निर्वाचित जनप्रतिनिधि तथा सेवाप्रदायक सम्पूर्णले जनउत्तरदायित्व निर्वाह गरुन् । मुलुक, जनताका समस्या समाधानसँगै वर्ष ०७८ विजयी वर्ष बनोस् । नयाँ वर्ष २०७८ को अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना ।

https://www.globalaawaj.com/archives/96316
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।